काँग्रेसलाई बलियो बनाउन कार्यकर्ताबीच हार्दिकता आवश्यक



नेपालगन्ज ।

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन काँग्रेसभित्र हार्दिकता आवश्यक रहेको बताएका छन् ।नेपाली काँग्रेस, प्रशिक्षण शाखा बाँकेद्वारा आइतबार नेपालगन्जमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपसभापति गुरुङले पार्टीलाई बलियो तथा एकताबद्ध बनाउन कार्यकर्ताबीच आपसी सहकार्यको खाँचो रहेको बताएका हुन् ।

आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई स्पष्ट बहुमतका साथ विजयी गराउन सबैभन्दा पहिला कार्यकर्ताहरूको मन माझिनुपर्नेमा जोड दिँदै उपसभापति गुरुङले पार्टीतहको प्रशिक्षणले कार्यकर्तालाई आपसमा जोडने काम गर्ने बताए । नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बाँके काँग्रेसले कार्यकर्ताहरूलाई निरन्तर प्रशिक्षित बनाउँदै लगेको बताए ।

उनले पालिका र वडा तहमा नेतृत्व गर्ने सबैलाई प्रशिक्षित गराउने काम सम्पन्न भइसकेको बताउँदै प्रशिक्षण कार्यक्रमका माध्यमबाट गाउँटोल हुँदै पार्टीलाई बलियो बनाउने अभियानमा आफूहरू लागिपरेको समेत उल्लेख गरे । प्रशिक्षण शाखा प्रमुख गोपाल अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा बाँके जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, क्षेत्र, प्रदेश सभा क्षेत्र तथा पालिका कार्यसमितिका पदाधिकारीहरू, निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू र भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारी तथा सदस्य र जिल्ला अध्यक्षहरू गरी करिब २७५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखा सचिव उमा थापामगरले बताइन् ।

आजसम्म सञ्चालन हुने प्रशिक्षणको हिजो पहिलो दिन नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालको संविधानः संविधान कार्यान्वयनमा काँग्रेसको भूमिका र दायित्व’, प्रतिष्ठानका निर्देशक डा. कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेसको तहगत संरचना र नेतृत्व विकास’, ‘सांगठानिक अवस्था र संगठन विस्तारको रणनीति’, नवीन श्रेष्ठले नेतृत्व क्षमताको विकास, विश्वदिप लामिछानेले ‘संगठन विस्तारमा सूचना प्रविधिको प्रयोग र प्रभाव’ र तिर्थ पौडेलले प्रशिक्षणको विधि, प्रशिक्षकका सीप र प्रभावकारीता विषयमा प्रशिक्षण दिएका थिए ।

आज राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवादः नेपाली काँग्रेसको आर्थिक नीति, उपलब्धि र भावी कार्यदिशा र डा.सञ्जय महतोले युवा, रोजगारी र उद्यमशिलताका विषयमा प्रशिक्षण दिनुहुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार