आजको आवश्यकताः न्याय कि करुणा?



विष्णु पादुका

आकाशका बादल फूल झैँ छरिन्छन् ।कहिले घुम्टो ओढिदिन्छन् । कहिले हाँसो छरिदिन्छन् स्वच्छन्द खेलको मैदान बनाएर आकाशलाई ।धर्तीको छातीभरि जलधारा झरिरहँदा उसले महसुस गर्छे स्नानपछि आत्मा शुद्ध भएको एक दैवी आनन्द।धानका नाङ्ग्रा टुप्पोबाट उत्सवको हरियाली गुञ्जिन्छ ।धानको रोपाइँमा टिका झैँ बिन्दी बन्न आउँछ स–सानो वर्षाको थोपा। गाउँभरि सिँचाइ बनेर बग्छ झरी पाखाभरि गुञ्जिन्छ बगैंचाको हरियाली यो मौसम ! आमाको गर्भभित्र हुर्किँदै गरेको नयाँ जीवनको प्रतिज्ञा हो। किसानको निधारमा घामजस्तै पसिना टल्किँदा पनि बर्सातको चुम्बनले उसको परिश्रमलाई गीत बनाइदिन्छ। बर्सातको यो स्वच्छता भित्र पनि किन अभाव खोज्छ मन ?

प्रकृतिबाट सिक्न धेरै बाँकी छ जीवनमा । दर्शन भनेको अलि धेरै गहिरो कुरा हो । मान्छेहरूमा दर्शनको अर्थ धर्म या पौराणिक कुरासँग जोड्ने धारणा ब्याप्त छ । तर हामी जानी नजानी दर्शनका सुत्रमा चलेका छौं । समग्र जीवन प्रकृया प्रकृतिमा सूत्रबद्ध छ । हामिले हामी र हाम्रा व्यवहारलाई अलग देख्नु केवल एउटा भ्रम हो । मानव सभ्यताको इतिहासभरि न्याय र करुणा दुईवटा ठूला आदर्शका रूपमा अगाडि आएका छन्। न्यायले तर्क, नियम र अधिकारको आधारमा सत्य खोज्छ । करुणाले भने हृदय, संवेदना र सहअस्तित्वको भावमा जीवनलाई बुझ्छ। तर प्रश्न उठ्छ ।

जीवन वास्तवमै न्यायले टिक्छ कि करुणाले?

जवाफहरू प्रश्न जति सजिला कहाँ हुन्छन् र ? अलिधेरै चिह्याउनु पर्छ चित्तबुझ्दो जवाफ दिन । सामान्य गाउँको पनि बिहानबेलुकी सबैभन्दा सामान्य दृश्य के हो भने गाईबस्तुलाई स्याउला र घाँस खुवाउन रूखका हाँगा काटिन्छ । यो कुरा जोकसैलाई सामान्य लाग्छ । किन कि यो दृश्य वर्षौ देखि चलेको छ । मानिस ढुक्क हुन्छ जनावरहरू अघाए । अब जिम्मेवारी पूरा भयो। तर काटिएको रूखलाई कसले सम्झन्छ? उसको मौन पीडा कसले बुझ्छ? जो कसैले सोच्दैन । आखिर सोध्नु पनि कसलाई ? रूखको चोट उसैले मात्र भोग्छ। तर आश्चर्य के हो भने, यही रूखले न्याय खोज्दैन । आक्रोश देखाउँदैन। बरु समयसँगै घाउमा बल संचित गरेर काटिएको ठाउँमै नयाँ हाँगा पलाउँछ।

रूखको मौन करुणाको एउटा दर्शन हो– दुःखसँग सम्झौता गरेर पुनर्जन्म लिनु । न्याय होइन, करुणा नै उसको अस्तित्वको निरन्तरता हो। हामी रुख भन्दा निरीह कि सबल ? हामी फरक हौं यो प्रकृति भन्दा ? जवाफमा पनि प्रश्न गर्न मन लाग्छ। संसारको सानो प्रजातिको चरा भँगेराले पनि मानवीय स्वभावभन्दा गहिरो धर्म देखाउँछन्। यहाँ पनि धर्मको अर्थ पौराणिक मान्यतासँग नजोडियोस् । मानिसले चरा चराउन अन्न छर्छ ।यो उदारता हो कि पुण्य सङ्कलनको गणना? प्रायः स्वार्थ मिसिएको हुन्छ। तर भँगेराको उत्तरचरण भिन्न छ। जसले खुवाउँछ, उसको मृत्युपछि पनि केही दिन मौन भएर श्रद्धा अर्पण गर्छन्। यो नियालेर बस्न आजको पुस्तालाई फुर्सद हुने कुरा भएन । तर सत्य बदलिएको छैन प्रकृतिको । फेरिएको त मान्छे र उसको व्यवहार मात्र हो ।

मानवभन्दा तिनीहरू बढी संवेदनशील देखिन्छन् । उनीहरूले ऋण चुकाउँछन् । आभार प्रकट गर्छन् । अनि मात्रै जीवनको अर्को यात्रातर्फ पखेटा फिजाउँछन्। यसरी हेर्दा भँगेरोले हामीलाई सिकाउँछन् । निष्ठा र आभार पनि दुःखसँग सम्झौताकै बाटो हुन् । कृतिम बौद्धिकताको युगमा भँगेरोको कुरासँग तपाईंलाई असहमत हुने छुट छ । तर प्रकृतीबाट छुट्टिने हैसियत छैन । मानवलाई बुद्धिमान भनिन्छ। तर बुद्धिमान हुनुको अर्थ के केवल अधिकार जमाउनु मात्र हो?मानवले प्रकृतिलाई लुट्छ ।

न्यायका कुरा गर्छ । तर करुणा लुकाउँछ। अवसरवाद, नृशंसता, स्वार्थ यी मानवको परिचय बनेका छन् आजभोलि । यही कारणले प्रश्न उठ्छ न्यायलाई मात्र केन्द्रमा राख्ने हो भने, मानव अझ निर्दयी बन्न सक्छ। तर करुणा जोड्दा मात्र न्याय मानवीय बन्न सक्ने सम्भावना रहन्छ । प्रकृति शिक्षाको गुरु हो। रूखले सिकाउँछ दुःखलाई जीवनको लयमा परिणत गर्ने साहस ।भँगेराले सिकाउँछ स्मृति, आभार र श्रद्धा। यी दुवैबाट मानवले बुझ्नुपर्ने मूल शिक्षा हो न न्याय मात्र पर्याप्त छ, न करुणा मात्र । जीवनलाई सम्यक् ढङ्गले जिउन न्याय र करुणा दुवैको समिश्रण आवश्यक छ।

न्याय बिना करुणा कठोर हुन्छ। करुणा बिना न्याय अन्धो हुन्छ। जीवनलाई धारण गर्ने आधार भने प्रकृतिले दिने पाठ हो ।अन्याय र दुःखबाट भागेर होइन साहस र करुणासहित उठेर अघि बढ्दा मात्र गन्तव्य भेटिन्छ मानवियता । शब्दको घोडा चढेर होइन जीवनको तहमा ढालेर बुझ्नु छ अब । यसरी रूख र भँगेरो हाम्रो दार्शनिक गुरु हुन्, जसले चुपचाप भन्छन् मानवको सर्वोच्च धर्म भनेको करुणासहितको न्याय हो।
मानव सभ्यता एक दोबाटोमा छ आज । एकातिर विज्ञान, प्रविधि र उपभोगको अतृप्त लालसा अर्कोतिर न्याय, करुणा र सहअस्तित्वको आवश्यक चेतना।

आज प्रश्न के हो भने मानिसले न्यायलाई मात्र अँगालेर टिक्न सक्छ? वा करुणालाई मात्र? न्याय बिना करुणा कठोर हुन्छ, करुणा बिना न्याय अन्धो हुन्छ। त्यसैले दुवैको संगम मानव सभ्यताको आवश्यक मार्ग हो। सभ्यताको वचावट पहिलो कर्तव्य होइन र ? उपनिषद्हरूले भनेका छन् “सर्वं खल्विदं ब्रह्म” (यो सम्पूर्ण जगत् ब्रह्म हो)। यस दृष्टिले हेर्दा रूख, पशु, चरा, नदी सबै ब्रह्मका अंश हुन्।ब्रह्मा अर्थात ब्रह्माण्ड ।तर जब मानिसले गाईलाई तृप्त पार्न रूखका हाँगा काट्छ । त्यतिबेला उसले एउटा अंशलाई तृप्त पार्न अर्को अंशलाई पीडा दिएको हुन्छ। यो कर्मले तत्काल लाभ दिन्छ, तर कर्मफलमा अन्याय हुन्छ।

हिन्दु दर्शनले सिकाउँछ—अहिंसा परमो धर्मः। हिंसा केवल प्राणी हत्या होइन, वृक्षहरण, नदी प्रदूषण, पृथ्वीको क्षय पनि हो। न्याय भनेको केवल कानुनी तौल होइन, प्रकृतिको सन्तुलन जोगाउनु पनि हो। करुणा भनेको हरेक जीवलाई ब्रह्मका अंशको रूपमा सम्मान गर्नु हो। बुद्धले भनेका थिए “सब्बे सत्ताः सुखी भवन्तु” (सबै प्राणी सुखी होउन्)। बौद्ध दर्शनले “करुणा”लाई केवल भावनात्मक दया होइन, जीवनको सक्रिय अभ्यास मानेको छ।भँगेराले आफ्नो अन्नदाता मरेपछि मौन श्रद्धा अर्पण गर्ने उदाहरण यसैको प्रत्यक्ष जीवन–चित्र हो। बुद्धको “प्रतीत्यसमुत्पाद” (परनिर्भर उत्पत्ति) अनुसार कुनै पनि प्राणी स्वतन्त्र छैन—सबै एकअर्कासँग गाँसिएका छन्। त्यसैले न्याय केवल मानवबीच होइन, सम्पूर्ण जीवबीच सन्तुलन खोज्नु हो।

आध्यात्मिक दृष्टिले जीवनलाई एउटा गहिरो सम्बन्धको जालका रूपमा देख्छ। रूख काट्दा पनि, भँगेरोको पखेटा काटिँदा पनि, मानवको मनमा भित्र कतै पीडा प्रतिध्वनित हुन्छ। तर हामीले त्यसलाई बेवास्ता गर्छौं। अध्यात्म भन्छ –आत्मा केवल शरीरमा मात्र छैन, सम्पूर्ण जगत्मा छ।त्यसैले न्याय भनेको आत्माको सम्मान हो । करुणा भनेको आत्माको विस्तार। इतिहासका क्रान्तिहरूले “न्याय”लाई मुख्य नाराका रूपमा बोकेका थिए। माक्र्सवादले उत्पादनको न्याय खोज्यो ।गाँधीले सत्य र अहिंसामा आधारित न्याय खोजे। चे ग्वेवेराले शोषणविरुद्ध विद्रोह उठाए। तर सबै क्रान्तिहरूमा यदि करुणा मिसिएको भए, हिंसा र घृणाबाट ध्वस्त भएका धेरै जीवन बच्न सक्थे। क्रान्तिको आत्मा न्याय हो तर उसको आत्मा टिकाउने शक्ति करुणा हो।

आजको युगमा हरित क्रान्ति को आवश्यकता छ । मानवलाई मात्र होइन, सम्पूर्ण पृथ्वीलाई न्याय दिलाउने र करुणासहित जोगाउने चेतना। तर सबै आफ्नो खेती हुर्काउन मात्र प्रयोग भएको छ । व्यक्ति परिवार अनि गाउँ सहर देश हुँदै खेत र खेतिका सिमा भिन्न भिन्न भएको मात्र देखिन्छ। उब्जने केवल स्वार्थ मात्र छ । आज मानिसले न्यायलाई कानुनी अदालत, करुणालाई व्यक्तिगत दानधर्म सम्झन्छ। तर प्रकृतिले सिकाइ रहेछ आदिमकालदेखी ।न्याय भनेको सन्तुलन हो । करुणा भनेको सहअस्तित्व। यदि हामीले नदी, रूख, चराहरूलाई न्याय र करुणा दिन सकेनौँ भने, मानवीय सभ्यताको भविष्य पनि सुरक्षित हुँदैन।

मानवता भन्नु केवल मानिसको भलाइ होइन।मानवता भन्नु भनेको समग्र प्रकृतिको रेखदेख हो। हिन्दु दर्शनले ब्रह्म देख्छ, बौद्ध दर्शनले करुणा देख्छ, अध्यात्मले आत्माको एकता देख्छ, क्रान्तिकारी विचारले न्यायको संघर्ष देख्छ। यी सबैलाई एकसाथ लिन सके मानवको कर्तव्य प्रस्ट हुन्छ । अन्यायबाट उठेर करुणासहित न्याय खोज्ने । र केवल मानिस होइन, सम्पूर्ण जगत्लाई बचाउने। प्रकृति बाँचे म बाँच्छु र तपाईं बाँच्नुहुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार