बाँके ।
सत्ता गठबन्धनबाट बाँके– १ (क) बाट लुम्बिनी प्रदेश सांसदको लागि उम्मेदवार रहेकी कृष्णा केसी (नमुना)ले नरैनापुरका स्थानीयसँग छलफल गरेकी छिन् । शुक्रबार नरैनापुरका वडा नम्बर १, ३ र ६ का विभिन्न गाउँहरुमा पुगेर स्थानीयलाई अहिलेसम्म आफुले गरेका कामहरुको बारेमा जानकारी गराएकी थिइन् । स्थानीयले भने पाँच वर्षमा अहिलेसम्म कहिल्यै हुन नसकेका कामहरु गरेको भन्दै धन्यवाद दिएका थिए ।
‘२६/२७ वर्षदेखि यहाँ पोल गाडिएपनि बिजुली बाल्न तपाई (नमुना) लाई कुर्नुप¥यो’ एक स्थानीयले भने, ‘तपाईले बिजुली, सडक, अस्पताल, बैंक ल्याउनुभयो । यो पटक पनि तपाई नरैनापुरबासी जिताएर पठाउँछौं ।’ रतैया, बालापुर, जनतापुर, गेग्ली, सुईयाँगाउँ र गंगापुरका स्थानीयसँग नमुनाले भेटघाट गरेकी थिइन् । स्थानीयले बिजुली, सडक, अस्पतालको काम पूरा भएपनि सिक्टा सिँचाईको काम चाँडो पूरा गर्न, उद्योग कलकारखाना स्थापना गर्न भूमिका खेल्न नमुनालाई आग्रह गरेका थिए ।
‘तपाईले बिजुली, सडक, अस्पताल ल्याइदिनुभएको छ । तपाई हाम्रो छोरी हो । हाम्रो विश्वास धेरै छ’ स्थानीयले भने, ‘पहिला जसरी काम गर्नुभयो । अहिले पनि हामी जिताएर पठाउँछौं । त्यसैगरी नरैनापुरबासीका काम गर्नुहोला ।’
नरैनापुरको विकासको लागि काम गरेको र अहिले पनि गरिरहेकोले बताउँदै उम्मेदवार नमुनाले बिजुली, सडक, अस्पताल ल्याइसकेको रोजगारी सिर्जनका लागि उद्योग कलकारखाना, सिँचाईको लागि सिक्टाको नहर ल्याउँने लगायतका कामहरु हुने चरणमा रहेको बताइन् ।
भेटघाट कार्यक्रममा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनमोर्चाका स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्