शुक्रबार खजुरा गाउँपालिकामा आयोजना गरिएको स्थानीय तह समन्वय बैठकले बाँकेको विपद् व्यवस्थापनबारे पाँचवटा महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । सबै पालिकाका प्रमुख तथा विपद् व्यवस्थापनको काममा खटिने निकायहरू सहभागी बैठकले विपद्को वित्तीय जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रमलाई सबै स्थानीय तहले कार्यान्वयनमा लैजाने लगायतका पाँच निर्णय गरेको हो।
नेपालगन्ज ।
बाँकेमा विपद् व्यवस्थापनमा सामूहिक रूपमा स्रोत परिचालन गर्न समन्वय गर्ने उद्देश्यले आयोजना हुँदै आएको स्थानीय तह समन्वय बैठकको तेस्रो अंक खजुरा गाउँपालिकामा आयोजना गरिएको छ । शुक्रबार सम्पन्न बैठकले पाँचवटा महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बाँकेका सबै पालिकाका प्रमुख तथा विपद् व्यवस्थापनको काममा खटिने निकायहरू सहभागी बैठकले विपद्को वित्तीय जोखिम हस्तान्तरणका लागि बीमा कार्यक्रमलाई सबै स्थानीय तहले कार्यान्वयनमा लैजाने सम्बन्धमा तयारी गर्ने निर्णय गरेको छ ।
यसका लागि कार्यविधि तयारी सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिकाले अन्य स्थानीय तहलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने निर्णय गरिएको छ । यसैगरी सबै स्थानीय तहमा रहेका गोदामघरमा मौजुदा स्रोत साधन र राहत सामग्रीको व्यवस्थित अभिलेखीकरण तथा सूचना आदानप्रदान गर्ने निर्णय पनि गरिएको छ भने बहुतल्ले घरमा आगलागी हुँदा मानिसहरूलाई जोगाउन काम लाग्ने सेफ्टी एयर जम्पर खरिद गर्ने पनि निर्णय गरिएको छ ।
सेफ्टी एयर जम्परका लागि नेपालगन्ज उपमहानगरपालिकाले अग्रसरता लिने र सबै स्थानीय तहले स्रोत साझेदारी गर्ने निर्णय गरिएको छ । समन्वय बैठकले सबै स्थानीय तहका वडास्तरमा विपद् जोखिम न्यूनिकरणका लागि स्वयंसेवक गठन गर्ने निर्णय पनि गरिएको छ । बैठकले बाँकेमा भौतिक निर्माण सामग्रीको चेकजाँचका लागि सबै स्थानीय तहको संयुक्त लगानीमा सिभिल निर्माणको लागि पहल गर्ने निर्णय गरिएको छ । त्यसको लागि विद्यमान कानुन र मापदण्डबारे नेपालगन्ज उपमहानगरपालिकाले प्रतिवेदन तयार गरी आगामी कार्यक्रममा पेश गर्ने निर्णय गरिएको छ ।
खजुरा गाउँपालिका अध्यक्ष डम्मर विकको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख, लुम्बिनी प्रदेश आन्तरिक मामिला मन्त्रालयका सचिव, युनिसेफ, राष्ट्रिय बीमा कम्पनी लिमिटेड र स्थानीय विपद् व्यवस्थापन समितिका फोकल पर्सनहरू सहभागी थिए । बैठकमा विपद् व्यवस्थापनमा स्थानीय तहहरूले गरेका अभ्यासहरू साझा गरेका थिए भने भोगेका चुनौतीहरूबारे छलफल समेत भएको थियो ।
‘विपद् समन्वयमा स्थानीय तहको असल अभ्यास’
विपद्को पूर्वतयारी व्यवस्थापनका सम्बन्धमा बाँकेका स्थानीय तहले असल अभ्यास गरिरहेका छन् । जिल्लाका सबै स्थानीय तहहरू एक ठाउँमा आएर विपद् व्यवस्थापनमा सामूहिकरूपमा छलफल गर्ने र स्रोत परिचालनमा साझेदारी गर्ने उद्देश्यले २०८१ साल फागुन २५ गतेबाट बैठक बस्न सुरु गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाको अग्रसरमा सुरु भएको समन्वय बैठकको श्रृंखलामा दोस्रो बैठक २०८२ जेठमा बसेको थियो भने तेस्रो बैठक शुक्रबार खजुरामा सम्पन्न भएको हो ।
बैठकको आयोजना वर्णानुक्रमअनुसारका स्थानीय तहले आयोजना गर्दै जाने व्यवस्था गरिएको छ । बैठकलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापन साझा विषय भएको र यसको व्यवस्थापनका लागि चाहिने सामग्रीहरू महंगो मूल्य पर्ने र कम प्रयोग हुने सम्भावना भएकोले सबै स्थानीय तहको साझेदारी खोज्ने उद्देश्यले समन्वय बैठकको परिकल्पना गरिएको बताए । उनले निरन्तर रूपमा हुने यस्तो छलफलले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरे ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले विपद्का लागि सबै स्थानीय तहहरू एकै ठाउँमा बसेर छलफल गर्ने असल अभ्यास महत्वपूर्ण रहेको बताए । उनले यसको महत्वलाई बुझेर खजुरा गाउँपालिकाले तेस्रो बैठकको आयोजना गरेको जानकारी दिए । उनले प्रकृतिले निम्त्याउने विपद्लाई समाधानको खोजीको असल उपायको रूपमा समन्वय बैठक रहेको पनि दाबी गरे । उनले बैठकमा भएको छलफलले स्थानीय तहले विपद् व्यवस्थापनका विषयमा गर्नुपर्ने कामबारे जानकारी र सिकाई भएको पनि बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले समन्वय बैैठक स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार क्षेत्रमा रहेर समन्वय बैठक आयोजना गरिएको बताए । उनले बैठकमार्फत स्थानीय तहका प्रमुखहरूले समन्वय गर्ने र बैठकबाट आएका सुझावहरू सम्बन्धित स्थानीय तहको प्रक्रियाबाट निर्णय गरी कार्यान्वयन गर्ने अवधारणमा आधारित रहेको बताए । स्थानीय सरकार सञ्चालन ऐनको दफा २६ मा स्थानीय तहले अन्य स्थानीय तहसँग साझेदारी गर्नसक्ने विषयमा विपद् व्यवस्थापन पनि उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्