टीकापुर घटनाको राजनीतिक तवरले समाधान खोज्नुपर्ने माग



कैलाली ।

थारू कल्याणकारिणी सभा कैलालीले १०औँ टीकापुर विद्रोह दिवस २०८२ को घोषणापत्र सार्वजनिक गरेको छ । टीकापुरस्थित कार्यालयमा भएको पत्रकार सम्मेलनमा विद्रोह दिवसको दिन आयोजित अन्तरक्रिया कार्यक्रमको निष्कर्षसहितको १० बुँदे माग सार्वजनिक गरिएको छ ।
सार्वजनिक मागहरूमा संविधान सभाबाट गठित राज्य पुर्नसंरचना समिति र राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन तुरुन्त लागु गर्नुपर्ने उल्लेख छ ।

टीकापुर विद्रोह २०७२ राजनीतिक घटना भएको बताउँदै त्यसको राजनीतिक तवरले नै समाधान खोज्नुका साथै सो घटनाका सम्बन्धमा राष्ट्रिय अनुसन्धान आयोगका पूर्वप्रमुख देविराम शर्मा नेतृत्वको छानबिन समिति र सर्वोच्च अदालतका पूर्वन्यायाधीश गृषचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरिएको छ ।

अन्तरक्रिया कार्यक्रमको निष्कर्षले संवैधानिक अंग, निजामती सेवा, शिक्षा सेवा, राजनीतिक नियुक्ति, न्यायपालिका, प्रहरी, सैनिकलगायत सबै क्षेत्रमा जातीय जनसङ्ख्याको आधारमा पूर्णसमानुपातिक सहभागिताका साथै सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशमा थारू भाषालाई सरकारी कामकाजमको भाषाका रूपमा तुरुन्त लागु गर्नुपर्ने मागसमेत अघि सारेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बडघर, भल्मन्सा, महतौंवा प्रथासम्बन्धी कानुन बनाई कार्यान्वयनमा ल्याउनुपर्ने र मुक्तकमैया, मुक्त कमलरी तथा सुकुम्वासीको समस्या समाधान र व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले वर्तमान सरकारले संविधान संशोधनमार्फत हरेक जातजातिका माग सम्बोधन गर्ने सहमति गरेकाले थारू समुदायका माग सम्बोधन हुनेमा आशावादी रहेको बताए ।

‘संविधान संशोधनमार्फत सबैका माग सम्बोधन गर्ने लिखित सम्झौता गरेर नै वर्तमान सरकार गठन भएको हो,’ उनले भने, ‘हाम्रा मागप्रति वर्तमान सरकार गम्भीर बन्नेछ र ती माग पूरा गर्ने विश्वास छ ।’ उनले थारू समुदायको माग पूरा गर्नमा पहाडीया समुदायको समेत सहयोग आवश्यक रहेको बताउँदै टीकापुरलाई सबैको साझा थलो बनाउनुपर्ने बताए ।

थारू कल्याणकारी सभा कैलालीका अध्यक्ष बीरबहादुर थारूको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नागरिक उन्मुक्ति पार्टी कैलालीका अध्यक्ष प्रदिप चौधरी, नेकपा समाजवादीकी नेतृ सीता चौधरीलगायतको उपस्थिति रहेको थियो । टीकापुर विद्रोह दिवसको अवसर पारेर यही भदौ ७ गते भएको अन्तरक्रिया कार्यक्रममा दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका अगुवा थारूहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार