चीनबाट कर्णालीका नाका हुँदै भेप तस्करी



वीरेन्द्र जैसी । नेपालगन्ज ।

कर्णाली प्रदेशका हिमाली क्षेत्रका नाकाहरू हुँदै विद्युतीय चुरोट (भेप)तस्करी हुन थालेको पाइएको छ । हुम्लाबाट आएको कन्टेनरमा भेप ढुवानी भइरहेको पाइएसँगै कर्णाली क्षेत्रका नाकाहरूबाट पनि भेपको तस्करी भइरहेको खुलासा भएको हो । यसैगरी केही दिनअघि बर्दियामा पनि सशस्त्र प्रहरीले भारत निकासी हुन लागेको अवस्थामा विद्युतीय चुरोट भेप बरामद गरेको थियो । हुम्लाबाट आएको भेपको तस्करीमा सरकारी कर्मचारीकै संलग्नता र प्रशासनिक व्यवस्थाको चुक मुख्य कारणका रूपमा देखिएका छन् भने यससँग जोडिएका अन्य तस्करीको आशंकालाई पनि बलियो बनाएको छ ।

दैलेखको सशस्त्र प्रहरीले हुम्लाबाट आएको गाडीमा भेप रहेको भन्ने सूचनाका आधारमा कन्टेनर नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय कोहलपुरको जिम्मा लगाएको छ । उक्त भेप कसरी नेपाल भित्रियो र तीन जिल्लाको सुरक्षा चेकजाँच छिचोल्दै दैलेखसम्म पुग्यो भन्ने गम्भीर प्रश्न उठेको छ । तस्करीमा डिभिजन वन कार्यालय हुम्लाका कर्मचारीहरूको प्रत्यक्ष संलग्नता रहेको आधारहरू देखिएका छन् भने प्रशासनले पनि तस्करी हुनसक्ने सम्भावना थाहा हुँदा–हुँदै पनि सुरक्षा व्यवस्था चुस्त नबनाउँदा तस्करहरूले मौका पाएको देखिएको छ ।

हुम्लास्थित डिभिजन वन कार्यालयले जडिबुटीको नाममा छुटपुर्जी दिएको र लाहाछाप लगाएको कन्टेनरमा करिब १० करोड अनुमानित मूल्य पर्ने ३९ हजार नौ सय थान अवैध भेप फेला परेको हो । हुम्लाको यारीमा चीनसँग जोडिएको एकमात्र औपचारिक नाका हो । उक्त नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयसहितको सरकारी संयन्त्रले आयात निर्यातलाई निगरानी गर्ने गर्दछन् । यदि उक्त नाकाबाटै भेप तस्करी भएको हो भने त्यहाँ रहेको सुरक्षा निकायको समेत मिलोमतो पुष्टि हुन आउँछ ।

तर, भन्सार कार्यालय यारी नाका भन्सार कार्यालय हुम्लाका प्रमुख रामराज जैसी यारीबाट त्यति ठूलो मात्रामा भेप भित्रने सम्भावना नै नरहेको बताउँछन् । उनले चीनतर्फको सुरक्षा निकायले एक व्यक्तिका साथमा एक बोरा मात्रै सामान ल्याउन दिने गरेकोको त्यति ठूलो मात्रामा सामान तस्करी हुने सम्भावना नरहेको बताए । ‘कहिलेकाहीँ दुई चारजना मिलेर सामान ल्याए भने वा सिमेन्ट सरियाजस्ता सामान आउने भयो भने मात्रै गाडीमा सामान आउन दिन्छ । त्यो पनि कडा चेकजाँच गरेर हुन्छ,’ जैसीले भने ।

उनले उक्त तस्करी हुम्लाकै अर्काे अनौपचारिक नाका लिमी लाप्चाबाट भएको हुनसक्ने आशंका व्यक्त गरे । उनका अनुसार केही समयअघि सदरमुकाम सिमीकोटबाट चार दिनको पैदल दूरीमा पर्ने लिमी लाप्चामा मेला लागेको थियो । उक्त मेला परम्परागत रूपमा लाग्दै आएकोमा मेलामा नेपालीहरूले तराईबाट लिएर गएको गुँड चिनीलगायतका सामान बेच्ने र चीनबाट उपभोग्य वस्तु ल्याएर उताका व्यापारीहरू पनि आउने गर्दछन् । तर, लिमी लाप्चा बाटोमा सुरक्षाको प्रबन्ध नभएजस्तै अवस्था छ ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार उक्त मेला लाग्ने सम्बन्धमा स्थानीय प्रहरी र सम्बन्धित स्थानीय तहले कुनै जानकारी दिएको थिएन । ‘त्यसरी मेला लागेको ठाउँबाट आयो कि भन्ने हाम्रो पनि आशंका हो । हाम्रो संयन्त्रले यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको छ,’ चन्दले भने । चन्दका अनुसार मेला लाग्ने ठाउँबाट लिमीको इलाका प्रहरी कार्यालय रहेको ठाउँ केही दिनको दूरीमा छ भने त्यहाँबाट हुम्लाको सरिसल्लासम्म आइपुग्ने रुटमा कुनै सुरक्षा चेकजाँचको व्यवस्था छैन ।

‘हामीलाई मेला लाग्ने विषयमा औपचारिक जानकारी आएको भए सुरक्षाकर्मी अवश्य पनि खटाउँथ्यौँ । तर पहिलेदेखि लाग्दै आएको मेला हो भन्ने भएर होला हामीकहाँ कुनै जानकारी आएन । अहिले यहीँबाट गएको गाडीमा भेप भेटिएपछि त्यतातर्फ पनि ध्यान दिनुपर्ने भएको छ,’ उनले भने । भन्सार प्रमुख जैसी गत वर्ष आफूले भन्सार विभागलाई अनुरोध गरेर लिमी लाप्चामा लाग्ने मेलामा सुरक्षाकर्मीसहित गएको तर भन्सार असुली त्यहाँ पुग्न लाग्ने खर्चभन्दा निकै कम भएको बताए । ‘यहाँको भूगोल यस्तो छ कि गत वर्ष जाँदा भन्सार २४ हजार जति मात्रै, खर्च भयो एक लाख रूपैयाँ । त्यो भएर यसपटक त्यहाँ नजाऔँ भन्ने कुरा भयो,’ जैसीले भने ।

हुम्लामा मात्रै नभई कर्णाली प्रदेशका मुगु र डोल्पामा पनि यस्ता मेला लाग्ने गर्छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी माधवप्रसाद श्रेष्ठ मुगु र डोल्पामा त्यस्ता मेलामा सुरक्षा व्यवस्था गरिएको भएपनि हुम्लामा भने नभएको जानकारी पाएको बताए । उनले उक्त घटनापछि जिल्लाको सीमा नाकामा खटाइएको प्रहरी अधिकारीहरूलाई पनि बोलाएर सोधपुछ भइरहेको जानकारी दिए । श्रेष्ठले यस घटनापछि सीमा नाकामा लाग्ने मेलाहरूलाई पनि निगरानीमा राख्नुपर्ने आवश्यकता देखिएको बताए । वन कार्यालयको पुर्जी र टाँचा लगाइएकोले हुम्लाबाट दैलेखसम्म प्रहरीले कन्टेनरमा अवैध सामानको आशंका गर्न चुकेको श्रेष्ठले स्वीकार गरे । उनले भने, ‘अब हामीले सबै गाडीहरूलाई सुक्ष्म चेकजाँच गर्न निर्देशन दिइसकेका छौँ ।’

अर्काेतिर डिभिजन वन कार्यालय हुम्लाका कर्मचारी जसले कन्टेनरमा पाँच हजार केजी सेतक चिनी छ भनेर जाँचपास गरे ती पनि छानबिनको दायरामा आउने भएका छन् । मिसन टुडेले कुराकानी गरेका सम्बद्धहरूले वन कार्यालयका कर्मचारीले नै जडिबुटी भनेर जाँचपास गरेको कन्टेनरमा भेप भेटिनुले उनीहरू पनि छानबिनको दायरामा आउनुपर्ने बताए । उक्त कन्टेनर कैलाश इश्वर जडीबुटी खरिदबिक्री केन्द्रका सञ्चालक कुन्साङ दोर्जी लामाका नाममा जाँचपास गरिएको थियो । जाँचपासमा संलग्न कर्मचारी डिभिजन वन कार्यालय हुम्लाका प्रमुख लोकजंग शाही हुन् ।

उनले लामाका नाममा पाँच हजार सेतक चिनी एक लाख २५ हजार राजस्व लिएर जाँचपास गराएका कागजातबाट खुल्न आउँछ । उक्त कन्टेनगर हुम्लाको सरिसल्लाबाट बाजुरा–कालिकोट–दैलेख–अछाम–कैलाली–बर्दिया–कोहलपुर हुँदै नेपालगन्ज ल्याउनका लागि छुटपुर्जी दिइएको पाइएको छ । यसरी छुटपुर्जीसहितको पास दिँदा वन कार्यालयका कर्मचारीको रोहबरमा सामान लोड गराइने व्यवस्था छ । तर, त्यति ठुलो मात्रामा भेप तस्करी हुँदा खटिएका कर्मचारीले थाहा नपाउने स्थिति नहुने सम्बद्धहरूले बताए ।

यसरी बरामद भएको भेपबारे अहिले अनुसन्धान चलिरहेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका सूचना अधिकारी खड्गप्रसाद उपाध्यायले जानकारी दिए । उनले भेपमा सुुन पनि लुकाएर ल्याइएका विगतका घटनालाई ध्यानमा राख्दै भेपको प्रयोगशाला परीक्षण पनि गरिने उनले जानकारी दिए । भेप र कन्टेनरसँगै पक्राउ परेका तीन जनामाथि पनि अनुसन्धान भइरहेको र बाँकी आशंका गरिएका व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउने उपाध्यायले बताए । प्रकरण अनुसन्धानकै क्रममा रहेकोले अहिले पक्राउ परेकाहरूको नाम खुलाउन नसकिने पनि उनले बताए ।

यसैगरी भदौ ८ गते राति सशस्त्र प्रहरीले बर्दियाबाट पनि ४८ लाख बढी मूल्य पर्ने १९ सय २० पिस भेप बरामद गरेको थियो । उक्त भेप बर्दियाको मधुवन नगरपालिका–५ शक्तिपुर क्षेत्रबाट बरामद गरिएको थियो । भारततर्फ साइकलमार्फत भेप लैजाँदै गरेका तस्करहरू प्रहरीलाई देखेर भागेको रिपोर्टसहित सामान बुझाउन आएका र उक्त भेपबारे अगाडिको अनुसन्धान कसरी गर्ने भन्ने बारेमा भन्सार विभागको आदेश पर्खिरहेको बर्दियाको राजपुर भन्सार कार्यालयका प्रमुख धनबहादुर शाहीले जानकारी दिए । शाहीले संलग्नहरू पक्राउ नपरेका कारण भेप कहाँबाट आएको हो भन्ने विषय जानकारीमा आउन नसकेको बताए ।

२०७९ पुसमा एकजना चिनियाँ नागरिकले भेपभित्र करिब नौ किलोजति सुन लुकाएर ल्याएको पाइएको थियो । पछिल्लो समयमा पनि ठाउँ–ठाउँबाट अवैधरूपमा ल्याइएको भेप बरामद भइरहँदा भेपसँगै सुनको तस्करी पनि भइरहेको आशंका गरिएको छ । मध्यनेपालका नाकाहरूबाट भेप तस्करी भइरहेको फेला परिरहने गरेकोमा पश्चिमको नाका हुँदै चीनबाट भेप तस्करी भएको र त्यसमा पनि सरकारी कर्मचारीकै संलग्नताको आशंकाले तस्करी रोक्नका लागि सुरक्षा निकायलाई चुनौती थपेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार