फिफाका सदस्य राष्ट्रलाई थप रकम बाँड्ने इन्फान्टिनोको संकेत



काठमाडौँ ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् । बीबीसी स्पोट्र्सले प्राप्त गरेको पत्रमा इन्फान्टिनोले फिफाको अनुमानित ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट जिम्मेवार रूपमा उपलब्ध गराउन सकिने ‘अधिकतम स्तरको अतिरिक्त कोष’ वितरणलाई समर्थन गर्ने बताएका छन् ।
युरोपेली फुटबल महासंघ (यूईएफए) र उत्तर तथा मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको फुटबल महासंघ (कन्काकाफ)ले फिफालाई आफ्नो सञ्चित रकमबाट प्रत्येक २११ सदस्य राष्ट्रलाई १ करोड अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन् । उक्त प्रस्तावमाथि अक्टोबर १५ मा बस्ने फिफा काउन्सिलको बैठकमा छलफल हुनेछ ।

इन्फान्टिनोले पत्रमा रकमबारे आफूले अहिले नै कुनै निश्चित धारणा नबनाएको बताएका छन् । ‘एउटा निश्चित रकमले छलफल सुरु गर्न सक्छ, तर विश्वव्यापी नीति तय गर्न त्यसले मात्र पुग्दैन’ उनले लेखेका छन् । इन्फान्टिनोमाथि पछिल्लो समय फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) योजनाका कारण दबाब बढेको छ । उक्त योजनाअन्तर्गत विश्वकप तथा फिफाका अन्य प्रतियोगिताको व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई हिस्सा बिक्री गर्ने प्रस्ताव गरिएको थियो । चौतर्फी आलोचनापछि उक्त योजना फिफाले फिर्ता लिएको थियो ।

इन्फान्टिनोले पछिल्लो पत्रमार्फत फिर्ता लिइएको योजनाको पुनः बचाउ गर्दै त्यसको उद्देश्य फुटबलमा थप लगानीका लागि रकम जुटाउनु रहेको दाबी गरेका छन् । यसअघि यसै महिनाको सुरुवातमा इङ्ल्यान्ड फुटबल संघकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले एफएफई योजनासँग सम्बन्धित सबै कागजात सार्वजनिक गर्न इन्फान्टिनोसँग माग गरेकी थिइन् । उनले योजनाबारे स्वतन्त्र समीक्षा गर्नसमेत माग गरेकी छन् । इन्फान्टिनो सन् २०२७ को मार्चमा फिफा अध्यक्षका रूपमा चौथोपटक निर्वाचन लड्ने तयारीमा छन् । उनका सम्भावित प्रतिस्पर्धीले वैकल्पिक उम्मेदवार अघि सार्न नोभेम्बर १८ सम्मको समय पाउनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १४ गते बुधबार