काठमाडौँ ।
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप २०२६ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनेबारे आफूले सोचिसकेको खुलासा गरेका छन् । तर, पोर्चुगललाई थप सफलता दिलाउन सक्ने विश्वास रहेकाले उनले आफ्नो खेल जीवनलाई निरन्तरता दिने निर्णय गरेको बताएका छन् । ४१ वर्षीय रोनाल्डोले यसै सिजनमा सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने पुष्टि गरेका थिए । त्यसपछि उनको अन्तर्राष्ट्रिय भविष्यबारे अन्योल थियो । तर, प्रशिक्षक जोर्जे जेसुसले नेसन्स लिगका लागि घोषणा गरेको पोर्चुगलको २५ सदस्यीय टोलीमा रोनाल्डो पनि समेटिएका छन् । बिहीबार राति लिस्बनमा वेल्सविरुद्ध हुने खेलसँगै पोर्चुगलको नेसन्स लिग अभियान सुरु हुँदैछ । त्यसअघि रोनाल्डोले आफ्नो करियरमा १ हजार गोल पूरा गर्ने लक्ष्यसमेत दोहो¥याएका छन् । उक्त उपलब्धि हासिल गर्न उनलाई अब २१ गोल आवश्यक छ ।
विश्वकपपछि सन्यासबारे सोचेको थियो भन्ने प्रश्नमा रोनाल्डोले भने, ‘हो, मैले सोचेको थिएँ । म सधैँ आफ्ना निर्णय र भविष्यबारे सोच्ने गर्छु ।’ तर, पोर्चुगलका राष्ट्रपति र प्रशिक्षकसँग छलफल गरेपछि आफूले राष्ट्रिय टोलीलाई अझै योगदान दिन सक्ने महसुस गरेको उनले बताए । ‘म अझै पनि राष्ट्रिय टोलीलाई उसले चाहेको सफलता हासिल गर्न सहयोग गर्न सक्छु भन्ने विश्वास गर्छु । गोल मात्र होइन, मैदानबाहिर पनि म टोलीलाई सहयोग गर्न सक्छु,’ रोनाल्डोले भने । रोनाल्डो पोर्चुगलबाट दुई पटक नेसन्स लिगको उपाधि जितिसकेका छन् । अब तेस्रो पटक उपाधि जित्नु आफ्नो व्यक्तिगत लक्ष्यसँगै टोलीको पनि महत्वपूर्ण लक्ष्य भएको उनले बताए ।
‘दुवै लक्ष्य महत्वपूर्ण छन् । १ हजार गोल र राष्ट्रिय टोली दुवै । नेसन्स लिग जित्नु पनि हाम्रो लक्ष्य हो । प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ र यो नयाँ युग हो,’ उनले भने ।
पोर्चुगलको टोलीमा फाबियो सिल्भा, रेनाटो भेइगा, नुनो मेन्डेस, जोआओ नेभेस र फ्रान्सिस्को कोन्सेइकाओजस्ता युवा खेलाडी पनि छन् । रोनाल्डोले नयाँ पुस्ताका खेलाडीलाई सहयोग गर्न पाउनु आफ्नो राष्ट्रिय टोलीमा निरन्तर रहने निर्णयको एउटा कारण भएको बताए । ‘यो नयाँ युवा पुस्ता हो । तर, मेरो लागि मुख्य कुरा मैदानमा हुनु, गोल गर्नु र टोलीलाई खेल जिताउन सहयोग गर्नु हो,’ उनले भने । युवा खेलाडीले आफूलाई उदाहरणका रूपमा हेर्ने गरेको उल्लेख गर्दै रोनाल्डोले आफूले त्यो जिम्मेवारी निरन्तर पूरा गर्ने बताए । ‘युवा खेलाडीहरूले क्रिस्टियानोलाई किन मन पराउँछन् भन्ने मलाई थाहा छ । उनीहरूले मलाई उदाहरणका रूपमा हेर्छन् र म त्यो भूमिका निरन्तर निभाउनेछु । म सन्यास लिएपछि पनि… अर्को १० वर्षसम्म !’ उनले ठट्टा गर्दै भने ।
रोनाल्डोले आफ्नो शारीरिक अवस्थालाई पनि प्राथमिकता दिने बताएका छन् । हरेक खेल खेल्नुभन्दा आफूले राम्रो महसुस गर्नु महत्वपूर्ण रहेको उनको भनाइ छ । लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा पोर्चुगलका प्रशिक्षक जोर्जे जेसुसले रोनाल्डोलाई ‘पोर्चुगल र राष्ट्रिय टोलीको प्रतीक’ भनेका थिए । त्यस क्रममा रोनाल्डोले आफ्नो लामो करियरमा भोग्दै आएको आलोचनाबारे पनि बोले । इंग्ल्यान्ड, स्पेन र इटालीका ठूला क्लबमा खेल्दा समेत आफू निरन्तर आलोचनाको सामना गर्दै आएको उनले बताए । ‘पोर्चुगलमा मैले आफूलाई सबैभन्दा धेरै माया गरिएको महसुस गरेको छु । समर्थकहरूबाट पनि पोर्चुगिजहरूले मलाई माया गरेको महसुस गर्छु,’ उनले भने । केही टेलिभिजन च्यानलले आफूलाई निरन्तर आलोचना गर्ने गरेको भन्दै उनले भने, ‘उनीहरूले मलाई बन्दुकले गोली हानेर समाप्त पार्न खोजे, तर म त्यसबाट उम्किन सक्छु ।’ ‘म यसका लागि अभ्यस्त भइसकेको छु । २० वर्षभन्दा बढी समयदेखि म यो गरिरहेको छु । तर, मेरा सम्झनाहरू मलाई माया गर्ने मानिसहरूसँग छन्,’ रोनाल्डोले भने ।









प्रतिक्रिया दिनुहोस्