विभाजनको दिशातर्फ काँग्रेसः एक पार्टी, दुई महाधिवेशन



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद निर्णायक मोडमा आइपुगेको छ । विगत एक वर्षदेखि सुरु भएको पार्टीभित्रको विवाद अब पार्टी विभाजनको दिशातर्फ अग्रसर भएको छ । अहिले नेपाली काँग्रेसका नाममा दुई वटा महाधिवेशनको तयारीसमेत तीव्र गतिमा भइरहेको छ । काँग्रेसभित्रको विद्यमान विवाद समाधानका लागि कुनै ‘आइसब्रेक’ भएन भने असोजदेखि मंसिर महिनासम्म दुई महिनाको अवधिमा दुई वटा महाधिवेशन हुनेछन् ।

नेपाली काँग्रेसको संस्थापनले असोज र इतर समूहले मंसिरमा महाधिवेशनको मिति तोकेका छन् । काँग्रेसका दुई वटा पक्ष संस्थापन र इतर पक्षले समानान्तर रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएका छन् । संस्थापन (गगन थापा) र इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा)ले समानान्तर रूपमा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन् । नेपाली काँग्रेसमा अहिले पनि आधिकारिता विवाद कायमै छ । सर्वोच्च अदालतमा आधिकारिकता विवाद विचाराधीन अवस्थामा रहँदा दुवै पक्षले आफूहरू नै आधिकारिक भएको दाबी गरेका छन् ।

अदालतबाट आफूहरूले आधिकारिकता पाउने दाबीसहित दुवै पक्ष १५औँ महाधिवेशनमा होमिएका हुन् । त्यसमध्येको एक इतर समूहले १५ असोजदेखि १५औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्दैछ । सो दिन इतर समूहले देशभर वडा अधिवेशन सञ्चालनको अन्तिम तयारी गरिरहेको छ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर महाधिवेशन प्रक्रिया अघि बढाएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिसमेत बनाएर समूहले निर्वाचनका कामहरू अघि बढाएको हो ।

इतर समूहको केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेलले सम्हालेका छन् । उक्त समूहले महाधिवेशन केन्द्रित छुट्टै वेबसाइटसमेत सञ्चालनमा ल्याएको छ । उक्त समूहले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ । महाधिवेशनलाई लक्षित गरेर इतर समूहले क्रियाशील सदस्यतासमेत सार्वजनिक गरेको छ । इतर समूहले सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्य रहेको दाबी गरेको छ । महाधिवेशनका लागि आगामी १५ असोजसम्म क्रियाशील सदस्यता लिन सकिने बताएको छ । इतर पक्षले गत पुससम्म नवीकरण गरेका र नयाँ क्रियाशील सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने बताएको छ । १५ असोजमा वडा अधिवेशन सुरु गरी तहगत सबै अधिवेशन गरेर मंसिर २१ देखि २३ सम्म १५औँ महाधिवेशन सम्पन्न हुनेछ ।

वडादेखि केन्द्रसम्म जेनजी प्रतिनिधित्व अनिवार्य

इतर समूहले वडादेखि केन्द्रसम्मै जेनजी प्रतिनिधित्व सुनिश्चित गराउने रणनीति अवलम्बन गरेको छ । इतर समूहले ‘निर्वाचन निर्देशिका २०८३’ जारी गर्दै सांगठनिक संरचनामा १८ देखि २८ वर्ष उमेर समूहका युवाको सहभागिता अनिवार्य गर्ने उल्लेख गरेको छ । ‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्ष उमेर समूहका एक जना महिला र एक जना पुरुष अनिवार्य रूपमा समावेश उल्लेख छ । कुनै स्थानमा १८ देखि २८ वर्ष उमेर समूहको युवा नभएको खण्डमा सो पद खाली राख्नुपर्नेछ र अन्य उमेर समूहका व्यक्तिले सो स्थान ओगट्न पाउनेछैनन्,’ निर्देशिकामा छ ।

यस्तै, निर्देशिकामा केन्द्रीय सभापतिको लागि प्रस्तावक र सर्मथकको सङ्ख्यासमेत तोकिएको छ । निर्देशिकाअनुसार केन्द्रीय सभापतिको उम्मेदवार बन्न सात–सात प्रस्तावक र समर्थक आवश्यक पर्नेछ । निर्वाचन निर्देशिकाअनुसार सभापतिको उम्मेदवार बन्न कम्तीमा १४ महाधिवेशन प्रतिनिधि आवश्यक पर्नेछ । पार्टीका सबै तहमा समावेशीतर्फ महिला, पेशाकर्मी, श्रमिक, बुद्धिजीवी, उद्योगी– व्यवसायी, लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, दलित महिलालाई समावेश गरिने समेत निर्देशिकामा उल्लेख छ ।

यसैगरी, सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार रूपैयाँँ लाग्नेछ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि पाँच–पाँच प्रस्तावक र समर्थक चाहिनेछ । उपसभापति र महामन्त्रीको उम्मेदवारी दर्ता गर्न २५ हजार र सहमहामन्त्रीको उम्मेदवारी दर्ता गर्न २० हजार रूपैयाँँ लाग्नेछ । केन्द्रीय सदस्यको उम्मेदवार बन्न चार–चारजना प्रस्तावक र समर्थक चाहिने भएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गर्न १० हजार रूपैयाँँ शुल्क तोकिएको छ ।

असोज १६ देखि संस्थापनको महाधिवेशन

गगन थापा सभापति रहेको नेपाली काँग्रेस १५औँ महाधिवेनको अन्तिम चरणमा पुगेको छ । संस्थापन पक्षको महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ । संस्थापन पक्षले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्तोसमेत पठाइसकेको छ । काँग्रेसको संस्थापन पक्षले देशभर असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरेको छ ।संस्थापन पक्षको अहिले देशभर क्षेत्रीय अधिवेशनको प्रक्रिया सञ्चालन भइरहेको छ । क्षेत्रीय अधिवेशन असोज १३ गते (आज) सम्पन्न हुने नेपाली काँग्रेस प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

उनका अनुसार निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न हुनेछ । महाधिवेशन नजिकिएसँगै नेपाली काँग्रेसमा मुख्यगरी सभापतिसहित केन्द्रीय पदाधिकारीमा नेताहरूले चासो देखाउन सुरु गरिसकेका छन् । सभापतिमा गगन थापा निर्विरोध हुने सम्भावना प्रबल देखिन्छ । तर, पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले आफू सभापति पदको लागि भिड्ने सार्वजनिक रूपमा बताएका छन् । यद्यपि उनले अन्तिममा उम्मेदवारी दिन्छन् कि दिँदैनन् भन्ने चासोको विषय बनेको छ । नेपाली काँग्रेसले गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई दोहो¥याउन सक्ने नेताहरू बताउँछन् ।

सभापतिबाहेक उपसभापतितमा २ पद छन् । विशेषबाट विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति बनेका थिए । उनीहरू नै दोहोरिने सम्भावना पनि छ । तर पछिल्लो समय देउवा पक्षका नेतासमेत संस्थापनमा समाहित भएका कारण उपसभापति पदमा निर्वाचन हुने सम्भवना पनि उत्तिकै छ । विशेष महाधिवेशनबाट गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका थिए । १४औँ महाधिवेशनमा दुवै उपसभापति नेतृत्वबाटै चयन भएका थिए । तत्काल शेरबहादुर देउवा पक्षबाट पूर्णबहादुर खड्का र डा. शेखर कोइराला समूहबाट धनराज गुरूङ उपसभापति निर्वाचित भएका थिए । यसपटक खड्का निकटका नेता गगनतिरै महाधिवेशनमा सहभागी छन् ।

खड्का आफैँले पार्टी आधिकारिकताको मुद्दा हालेकोले निष्क्रिय छन् । धनराज विशेषतिरै खुलेका छन् । उनले यसपटक उपसभापतिमा दाबेदार गर्ने र नेतृत्वले दिने स्थिति छैन् । उनी प्रतिस्पर्धामा उत्रिए फरक स्थिति बन्ने देखिन्छ । महाधिवेशनको मुखैमा देउवा पक्षका सयौँ केन्द्रीय नेता विशेषको नेतृत्व स्वीकार्दै महाधिवेशनमा होमिएका थिए । यसैले उनीहरूलाई पनि विश्वासमा लिएर नेतृत्व चयन गर्नुपर्ने दबाब गगनलाई छ । यस्तोमा आफू निकटका नेतालाई समेत नेतृत्वको आकांक्षाबाट पछाडि हट्नुपर्ने दबाब बढाउनुपर्ने स्थितिमा सभापति गगन छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलबार