शिवु खनाल । दाङ ।
लमही नगरपालिका वडा नम्बर ३ वनगाउँकी सुस्मिता चौधरी अहिले जीवनकै कठिन समयबाट गुज्रिरहेकी छन् । गर्भमा हुर्किरहेको सन्तानको भविष्य सम्झिँदै उनी श्रीमान् सम्भुजित चौधरी घर फर्किने आशामा दिन बिताइरहेकी छन् । गत भदौ १० गते रसुवामा आएको बाढीपछि श्रीमान् सम्भुजित बेपत्ता भएपछि सुस्मिताको जीवनमा खुसीभन्दा पीडा र अनिश्चितता बढी छाएको छ । सम्भुजित चौधरी करिब नौ वर्षदेखि रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा काम गर्दै आएका थिए ।
परिवारको जीविकोपार्जनका लागि लामो समयदेखि घरबाट टाढा रहेर काम गर्दै आएका उनी यसपटक भने घर फर्किने तयारीमा थिए । भदौ १० गते बिहान ८ बजेर २२ मिनेटमा भाइ उमेश चौधरीसँग सम्भुजितको अन्तिम फोन सम्पर्क भएको थियो । फोनमा उनले कम्पनीबाट घर बिदा स्वीकृत भएको जानकारी गराउँदै अब घर आउने तयारीमा रहेको बताएका थिए । ‘घर आउन बिदा मिलिसकेको छ’ भन्ने श्रीमान्को त्यही खबर सुस्मिताका लागि खुसीको खबर थियो ।
गर्भवती अवस्थामा श्रीमान् घर फर्किने दिन कुरिरहेकी सुस्मिताले सँगै बसेर आगामी दिनका योजना बनाउने सपना बुनेकी थिइन् । तर, केही समयमै आएको बाढीको खबरले त्यो खुसीलाई पीडामा बदलिदियो । बाढीपछि सम्भुजित सम्पर्कविहीन भए । परिवारका लागि उनको अवस्था अझै अनिश्चित छ । एकातिर श्रीमान्को अवस्थाबारे कुनै निश्चित खबर नआउनु र अर्कोतर्फ गर्भमा रहेको सन्तानको जिम्मेवारीले सुस्मितामाथि थप पीडा थपिएको छ ।
‘घर आउने खबरले खुसी भएकी थिएँ, तर…’
सम्भुजितका बुवा तुलसीराम चौधरीका लागि पनि छोराको अवस्था निकै पीडादायी बनेको छ । वर्षौँदेखि परिवारको सहारा बनेर काम गर्दै आएको छोरा घर फर्किने आशामा रहेका बेला बाढीले बेपत्ता बनाएपछि परिवार शोक र अन्योलमा परेको उनी बताउँछन् । सुस्मिताको गर्भावस्थाले परिवारको चिन्ता झनै बढाएको छ । श्रीमान्को खोजी र परिवारको भविष्यका विषयमा उनीहरू निरन्तर चिन्तित छन् । यस्तो अवस्थामा वनगाउँका स्थानीय बासिन्दा तथा समाजसेवीहरूले चौधरी परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
स्थानीयबाट संकलित ६५ हजार २ सय ५ रूपैयाँँ सुस्मिता चौधरीलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी स्थानीय समाजसेवी काशीराम डाँगीले ५ हजार ५ सय ५० रूपैयाँँ, बसन्त शर्मा ‘विक्रान्त’ले ३ हजार ३ सय रूपैयाँँ र भीम वलीले २ हजार ५ सय रूपैयाँँ सहयोग गरेका छन् । स्थानीय तथा समाजसेवीहरूले सुस्मिताको गर्भावस्था र परिवारको कठिन अवस्थालाई ध्यानमा राख्दै सहयोग गरेका हुन् । सम्भुजित घर फर्किने तयारीमा थिए । परिवारले पनि उनको स्वागतका लागि प्रतीक्षा गरिरहेको थियो । तर, घर फर्किने खबर दिएको केही घण्टामै आएको बाढीले परिवारको त्यो खुसी खोस्यो ।
सुस्मिताको आँखामा एउटै प्रश्न ‘श्रीमान् कहिले घर फर्किनुहुन्छ ?’
गर्भमा हुर्किरहेको सन्तान जन्मिएपछि बाबुको अनुहार देखाउन पाउने कि नपाउने भन्ने अनिश्चितताले सुस्मिताको पीडा झनै गहिरिएको छ । परिवार भने सम्भुजितको खोजी जारी रहने र कुनै दिन उनी सुरक्षित रूपमा घर फर्किने आशामा छ ।
लमहीका चार जना बेपत्ता
रसुवामा गत भदौ १० गते आएको बाढीका कारण लमही नगरपालिकाका चार जना बेपत्ता भएका छन् । बाढीपछि लमही नगरपालिका वडा नम्बर ३ का सम्भूजीत चौधरी, वडा नम्बर ४ निवासी सरदकुमार चौधरी र सोही वडाका सुकदेव चौधरी र वडा नम्बर ६ का सिवानी चौधरी बेपत्ता भएका हुन् । सम्भूजीत मैलुङ हाइड्रोपावरमा, सरदकुमार र सुकदेव त्रिशूली हाइड्रोपावरमा कार्यरत थिए भने सिवानी रसुवामा ज्याला मजदुरी गर्दै आएकी थिइन् । बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेको परिवारजनले बताएका छन् ।
परिवारलाई आर्थिक सहयोग
रसुवामा बेपत्ता भएका लमहीका तीन जनाका परिवारलाई लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लमहीले आर्थिक सहयोग गरेको छ । रसुवामा कार्यरत रहेका बेला बेपत्ता भएका लमही नगरपालिका वडा नम्बर ४ का शरदकुमार चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरीका सिवानी चौधरी र लमही नगरपालिका वडा नम्बर ३ वनगाउँका सम्भुजित चौधरीका परिवारलाई संस्थाले आर्थिक सहयोग गरेको हो ।
संस्थाका सचिव बसन्त आचार्यका अनुसार तीनवटै परिवारलाई संस्थाको तर्फबाट जनही २५ हजार रूपैयाँँका दरले ७५ हजार रूपैयाँँ तथा संस्थाका कार्यसमिति र सल्लाहकारबाट संकलित १३ हजार ५ सय रूपैयाँँ गरी कूल ८८ हजार ५ सय रूपैयाँँ सहयोग गरिएको हो । बेपत्ता भएका परिवारजन अहिले आफन्तको खोजी, उद्धार तथा आवश्यक प्रक्रियाका कारण मानसिक र आर्थिक दबाबमा रहेकाले दुःखको घडीमा परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष सनमकुमार पौडेलले विपद्का बेला पीडित परिवारको साथमा उभिनु सामाजिक संस्थाको दायित्व भएको बताए । उनले भने, ‘आफ्नो समुदायका उपभोक्ता सदस्य विपद्मा पर्दा हामीले सकेको सहयोग गर्नु मानवीय दायित्व हो । रकम ठूलो–सानोभन्दा पनि पीडाको समयमा परिवारलाई साथ र भरोसा दिन सकियोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ । बेपत्ता भएका सबैको सकुशल खोजी तथा उद्धार होस् भन्ने हाम्रो कामना छ ।’
अध्यक्ष पौडेलले विपद्को समयमा पीडित परिवारलाई आवश्यक सहयोगका लागि स्थानीय तह, संघसंस्था तथा समुदाय एकजुट भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए । रसुवामा आएको विपद्का क्रममा लमहीका केही व्यक्तिहरू बेपत्ता भएपछि उनीहरूका परिवारमा चिन्ता र पीडा बढेको छ । यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा समुदायबाट परिवारलाई सहयोग गर्ने क्रमसमेत अघि बढिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्