नेपालगन्ज (बाँके) ।
नेपालगन्ज उपमहानगरपालिकाअन्र्तगत वडा कार्यालयका सूचना अधिकारीलाई बुधबार सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औँ राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सूचना अधिकारीलाई सूचनाको हकका बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारी र कार्यकारी निर्देशक राकेशकुमार मिश्रले सूचनाको हक, यसको प्रयोग, फाइदा, सूचना उपलब्ध गराउने प्रक्रिया, सूचना व्यवस्थापन, माग गर्ने प्रक्रिया, स्वतः प्रकाशन, कारबाही तथा क्षतिपूर्तिको व्यवस्था लगायतका बारेमा सहजीकरण गरेका थिए । कार्यक्रमको समापनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सूचनाको हकलाई पूर्णरूपमा कार्यान्वयन गर्न वडा कार्यालयमा समेत सूचनाको व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउने बताए ।
उनले नेपालगन्ज उपमहानगरपालिकाले ऐनअनुसार प्रत्येक ३ महिनामा स्वतः प्रकाशन गर्नुपर्ने सूचना नियमितरूपमा गर्दै आएको जानकारी गराउँदै वडा कार्यालयले समेत सोको कार्यान्वयन गर्न सूचना अधिकारीलाई निर्देशन दिए । सूचनाको हकले सुशासन तथा पारदर्शीता बढाउने भएकाले कार्यालयका सम्पूर्ण कार्यक्रम तथा बजेट सेवाग्राहीलाई पारदर्शीरूपमा सूचना प्रवाह गर्ने उनले बताए ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक हेमन्त कर्माचार्यले सूचनाको हक नागरिकका लागि महत्वपूर्ण हतियार भएकाले सुशासन र पारदर्शिताका लागि यसको प्रयोग तथा कार्यान्वयनमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी र कार्यपालिका सदस्य बसन्तकुमार कनोजियाले सूचनाको हकले सुशासन र लोकतन्त्रलाई बलियो बनाउने महत्वपूर्ण हतियार भएकाले यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडा कार्यालयका सूचना अधिकारी, सूचना अभियन्ता तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्