कोहलपुर ।
कोहलपुरमा रहेको वेस्र्टन इमी सेकेन्डरी स्कुलले कक्षा–११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण गरिएको हो । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले शिक्षा मानव जीवनको ज्योति भएको बताएका थिए ।
भविष्यमा असल नागरिक बन्नको लागि अहिले लगनशिल हुन र कडा परिश्रम गर्न आवश्यक रहेकोमा उनले जोड दिए । वडाध्यक्ष श्रेष्ठले वडा र नगरपालिका गुणस्तरीय शिक्षामा कटिबद्ध रहेको दाबी गरे । नवआगन्तुक विद्यार्थीहरूलाई आगामी दिनको सफलताको शुभकामना दिँदै उनले गुणस्तरीय शिक्षाको लागि अन्य ठाउँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए ।
विद्यालयको शैक्षिक वातावरण र विद्यालयका दक्ष शिक्षकहरूबाट धेरै कुरा सिक्न पाउने उनको भनाइ रहेको थियो ।यस्तै, स्कुलका प्रधानाध्यापक उमेश श्रेष्ठले विद्यालयको शैक्षिक अवस्थाका विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई जानकारी समेत गराएका थिए ।
उनले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै आगामी दिनहरू सँगसँगै शैक्षिक यात्रा गर्ने समेत बताए । सो अवसरमा विद्यार्थीहरूले विभिन्न साँस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए । विद्यालयले नवआगन्तुक विद्यार्थीहरूलाई अबिर र खादाले लगाएर समेत स्वागत गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्