बजेट कार्यान्वयनका लागि कर्णाली सरकारको १०बुँदे प्रतिबद्धता



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयनका लागि १०बुँदे प्रतिबद्धता जनाएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा आयोजना भएको वार्षिक समीक्षा गोष्ठीबाट प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न १० बुँदे प्रतिबद्धता जनाएको हो ।
जसमा चालू आर्थिक वर्षको बजेट कार्यान्वयन गर्दा संघीय समपूरक, विशेष र सशर्त अनुदान स्रोतबाट सञ्चालन हुने आयोजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।

मन्त्री, प्रदेश सचिव तथा आयोजना÷कार्यालय प्रमुखसँग भएको कार्यसम्पादन सम्झौता अनुसार वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको मासिक कार्ययोजना बनाई पूर्णरूपमा कार्यान्वयन गर्दै समग्र मन्त्रालयको लक्ष्य हासिल गर्ने तयारी छ । कर्णाली प्रदेश आर्थिक ऐन, २०८२ को कार्यान्वयन गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट तोकिएको लक्ष्य बमोजिम राजस्व संकलन गरिने मुख्यमन्त्री यामलाल कंडेलले बताए ।

उनका अनुसार स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक नयाँ कार्यविधि, निर्देशिका तथा मापदण्डहरू तर्जुमा तथा विद्यमान कानुनमा संशोधन गर्नुपर्ने भए भाद्र मसान्तभित्र मस्यौदा तर्जुमा गरी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुपर्नेछ । चालू आर्थिक वर्षको बजेटमा अबण्डाका रूपमा रहेको रकम भाद्र मसान्तभित्र बाँडफाँट गरिने मुुख्यमन्त्री कंडेलले बताए । उनले भने, ‘स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका सालबसाली आयोजनाहरू सम्वत् २०८२ असोज मसान्तभित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै बहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता छ ।’

यस्तै प्रदेश सरकारले महालेखा परीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फस्र्यौटको सम्वत् २०८२ भदौ मसान्तभित्र कार्ययोजना बनाइ तदारुकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धतामा भनिएको छ, ‘पदाधिकारी तथा कर्मचारीको नाममा कायम भएको असुल उपर गर्नुपर्ने बेरूजु शत प्रतिशत असुल उपर गरिनेर्नेछौँ । बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाई प्रभावकारी र नतिजामूलक अनुगमन गर्नेछौँ ।’

उपलब्ध स्रोत र साधनको मितव्ययी, दक्षतापूर्ण र प्रभावकारी प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय, नतिजामूलक र नागरिकमैत्री बनाउने प्रतिबद्धता छ । आयोजना बैंक र आयोजना छनोट तथा प्रस्ताव सम्बन्धी कार्यविधिको कार्यान्वयन गरी समयबद्ध रूपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने प्रदेश सरकारले प्रतिबद्धता जनाएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार