कोहलपुर (बाँके) ।
बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्नुपर्ने बहस फेरि सतहमा आएको छ । संघीय संरचनामा लुम्बिनी प्रदेश अन्तर्गत रहेका बाँके र बर्दियामा गाभ्नुपर्ने विषय फेरि सतहमा आएको हो । बिहीबारको प्रतिनिधि सभाको विशेष समयमा सत्ताधारी दलकै सांसदले यो विषयलाई संसदमै उठाएका हुन् । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले बाँके र बर्दियालाई गाभ्नुपर्ने बताएका हुन् ।
उनका अनुसार वर्तमान सरकारको गठनको सात बुँदे सहमतिमै संविधान संशोधनको विषय समेटिएको छ । त्यसैले संविधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने सांसद ढकालको भनाइ छ । ‘संविधान संशोधनको विषय उठिरहेको छ । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्छ । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने । यस्तै उनले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा बाँके जिल्ला र अन्तर देशका अत्यन्त महत्वपूर्ण विषय भ्रमणका एजेण्डा बनाउनुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली उडान अनुमतिका लागि पहलकदमी लिन सरकारलाई आग्रह गरे । यसैगरी, नेपालगन्ज भन्सार नाकालाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्ने र राप्ती सोनारीको कुसुमुदेखि गंगापुरसम्म राप्ती नदी तटबन्धनको विषयलाई भ्रमणको एजेण्डा बनाउन उनको माग छ । यसअघि सांसद ढकालले यही विषयमा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई समेत माग पत्र बुुझाएका थिए ।
उक्त अवसरमा बोल्दै उनले बाँके जिल्ला पश्चिम नेपालका २४ जिल्लाको मुख्य केन्द्रविन्दु भएकोले विकासमा ध्यान दिन सरकारलाई ध्यानाकर्षणसमेत गराए । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘बाँके जिल्ला काठमाडौँपछिको ऐतिहासिक सहर हो । पश्चिम नेपालका २४ जिल्लाको केन्द्रविन्दु हो । बाँकेको विकासले ती जिल्लाको अर्थ राजनीतिलाई प्रभाव पार्छ ।’ ती जिल्लाका नागरिकहरू शिक्षा, स्वास्थ्य, रोजगार र व्यापारका लागि पहिलो छनौटको जिल्लासमेत बाँके रहेको उनले बताए ।
बाँके जिल्लाले प्रत्येक वर्ष नेपालगन्ज भन्सारबाट १७ देखि २१ अर्ब राजस्व केन्द्रलाई बुुझाउने गरेको भन्दै विकासमा प्राथमिकता दिनुको विकल्प नरहेकोमा जोड दिए । राष्ट्रिय गौरवको आयोजना सिक्टा, नौवस्ता औद्योगिक क्षेत्र, खजुरा क्यान्सर अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय, भेरी अस्पताल, नेपालगन्ज विमानस्थल, कोहलपुर क्रिकेट मैदान, कोहलपुर चप्परगौडी खड्कवार हुँदै सल्यानको घुइयाँबारी जोड्ने अन्तरप्रदेश सडक र बैजापुर औद्योगिक ग्राम, महेन्द्र बहुमुखी क्याम्पस बाँकेका महत्वपूर्ण आयोजनाहरू भएको उनको भनाइ थियो ।
राप्ती नदीको तटबन्ध, हुलाकी राजमार्ग, सबै वडामा शुद्ध खानेपानीको पहुँच, टोलहरूमा विद्युत विस्तार, कुसुमदेखि कौशिलानगरसम्म मध्यवर्ती क्षेत्रको तारबार, कोहलपुरमा सुविधासम्पन्न बाल अस्पताल, सिटी हल, खेलकुद विश्वविद्यालय स्थापना, रोहिणी, डुडुवा खोला, सुकेनालाको तटबन्धन बाँकेमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूलाई लालपूर्जा वितरण भइरहेको जानकारी दिए ।
‘बाँके जिल्ला र बाँकेबासीहरू असाध्यै इमान्दार छन् । मेहेनती छन् । हामीले संकल्प गरेका छौँ । बाँके बन्छ र हामी बनाउँछौँ । बाँके जिल्लालाई विकासको नमुना जिल्ला कसरी बनाउने भनेर हामी लागिपरेका छौँ ।’ बाँकेको नेपालगन्जबाट सिधा दिल्ली उडान भर्न सकियो भने बाँकेको विकास र समृद्धिका निम्ति एउटा इट्टा थपिने उनको विश्वास छ ।









प्रतिक्रिया दिनुहोस्