परियार मित्रता समाज बाँकेद्धारा एसईई उत्तीर्ण गरेका ६३ विद्यार्थीलाई सम्मान



कोहलपुर (बाँके) : परियार मित्रता समाज बाँकेले शैक्षिकसत्र २०८१ को एसईई परिक्षामा उत्तीर्ण भएका परियार समुदायका विद्यार्थीहरूलाई सम्मान गरेको छ । ‘हातमा हात काँधमा मिलाई अघि बढौ र बढाऔ’ भन्ने मूल नारासहित सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर बाँके जिल्लाका ६३ जना विद्यार्थीलाई सम्मान गरिएको हो । कोहलपुरमा आयोजित सम्मान कार्यक्रममा एसईई परिक्षा उत्तीर्ण गरेका परियार समुदायका विद्यार्थीहरुलाई कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख तिलक परियारले सम्मान पत्र, दोसल्ला र अविर लगाएर सम्मान गरेका थिए । सम्मान कार्यक्रमपछि बोल्दै परियार मित्रता समाजले बाँके जिल्लामै पहिलोपटक ऐतिहासिक कार्यक्रम आयोजना गरेको बताए ।
उनका अनुसार समाजले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको छ । समाजले गरेको सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि हौसला मिल्ने पूर्व प्रदेश प्रमुख परियारले बताए । ‘आज अत्यन्तै महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ । सम्मान हुने विद्यार्थी भाई बहिनीहरुलाई बधाई दिन चाहन्छु । तपाईहरुको उज्जवल भविष्यको कामना छ । राम्रोसँग अध्ययन गर्नुहोला । समाजको आदर्शक नागरिक बन्नुहोला,’ उनले भने । उक्त अवसरमा बोल्दै बर्दियाको बाँसगढी नगरपालिकाका कार्यपालिका सदस्य भद्र बहादुर परियारले शिक्षा क्षेत्रको विकासका लागि सम्मान कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए । आफूहरुले स्थानीय तहमा आफ्नो समुदायको हकहितमा काम गरिरहेको र समाजलेसमेत सिर्जनात्मक काम गर्नुपर्नेमा उनले जोड दिए ।
यस्तै,कोहलपुर नगरपालिका वडा नम्बर १ की वडा सदस्य सितला परियारले परियार समुदायका सम्पूर्ण नागरिकहरु एकजुट हुनुको विकल्प नभएकोमा जोड दिएकी थिइन् । उक्त अवसरमा बोल्दै दलित सेवा संघका केन्द्रीय महासचिव कृष्ण विकेले विद्यार्थी सम्मानले अभिभावकलाई समेत प्रेरणा मिलेको बताए । उनका अनुसार अहिलेको समय तीव्र प्रतिष्पर्धाको समय हो । त्यसैले विद्यार्थीहरुले अध्ययनमा ध्यान दिनुपर्ने उनले बताए । उक्त अवसरमा राष्ट्रिय दलित पत्रकार संघ बाँकेकी कार्यबाहक अध्यक्ष आशा परियार,भेरी प्राविधिक शिक्षालयका घनश्याम पौडेल, डिभिजन वन कार्यालय बर्दियाका टेक बहादुर नेपाली लाली गुराँस पन्चेबाजाका अध्यक्ष गगने परियार, ओसिडिसीका प्रतिनिधि दिल बहादुर परियारले शुभकमना मन्तव्य राखेको थिए ।
उक्त अवसरमा समाजका सल्लाहकार तथा पूर्व पत्रकार कविन्द्र परियारलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रम समापनमा बोल्दै परियार मित्रता समाज बाँकेका अध्यक्ष जीवनसिंह परियारले समाजले एसईई परिक्षामा सहभागी भएका विद्यार्थीहरुको हौसलाका लागि सम्मान कार्यक्रम गरिएको बताए । अध्यक्ष परियारका अनुसार शिक्षा नै समाज विकासको प्रमुख आधार हो । समापन सत्रमा बोल्दै उनले भने,‘हाम्रो समाज २०८१ सालमा स्थापना भएको हो । विद्यार्थीहरुको हौसलाका लागि यो कार्यक्रम आयोजना गरिएको हो । जिल्लाभरका ८ वटा स्थानीय तहका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु ।’ सम्मान कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यहरु,जनप्रतिनिधि तथा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार