काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल आवश्यक भएको बताएका छन् । नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा आइतबार काठमाडौँमा आयोजित सर्वपक्षीय छलफलमा उनले यस्तो बताएका हुन् । नेपालगन्ज–दिल्ली सिधा हवाई उडान गर्न सके उक्त क्षेत्रको समग्र विकासमा टेवा पुग्ने उनको भनाइ छ ।
‘नेपालगन्ज पर्यटन, कृषि लगायतका क्षेत्रको लागि पर्याप्त सम्भावना भएको क्षेत्र हो । सिधा उडान हुन सके यसले पश्चिम नेपालको क्षेत्रीय सम्पर्क र आर्थिक विकासका लागि महत्वपूर्ण योगदान दिन सक्छ । यहाँहरूको यो पहल र प्रयासप्रति महासंघ ऐक्यबद्धता जाहेर गर्दछ,’ उनले भने ।
नेपालगन्ज दिल्ली सिधा उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समग्र विकाससँग जोडिएको विषय भएको बताए ।
यस्तै, अध्यक्ष ढकालले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणमा यो एजेण्डालाई प्राथमिकताका साथ उठाउन महासंघको तर्फबाट प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने बताए । सबैको साझा प्रयासले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको सपना चाँडै साकार हुने विश्वास व्यक्त गर्दै सबैले आ–आफ्तो तहबाट पहल गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले पर्यटन पूर्वाधारमा राज्यको ठूलोे लगानी भइसकेको अवस्थामा निर्माण भएका विमानस्थलहरूको प्रभावकारी सञ्चालन आवश्यक रहेको समेत बताए ।
‘नेपालगन्ज, जसलाई पश्चिम नेपालको प्रवेशद्वारको रूपमा चिनिन्छ । पूर्वाधार बनेको छ । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जसहित लुम्बिनी जस्ता गन्तव्यहरूमा भारतीय पर्यटकको लागि महत्वपूर्ण प्रवेश हुन सक्छ । सीमा क्षेत्र भएकाले कार्यक्रम र विवाह (इभेन्ट र वेडिङ)का लागि पनि यो क्षेत्रको व्यापक सम्भावना छ,’ उनले भने ।
उनले देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलोे लगानी गरिसकेको उल्लेख गर्दै देशमा नै केही गर्न सकिन्छ भन्ने मनोविज्ञानका साथ काम गर्न सके यसबाट प्रतिफल प्राप्त गर्न सकिने बताए । यस्तै उनले देशमा लगानीमैत्री वातावरण निर्माण गर्न महासंघले नीतिगत सुधारको पहल गरेको र महासंघको पहलमा सरकारले ३० भन्दा बढी कानुनहरू संसोधन गरेको उल्लेख गरे ।
देश विकासका लागि आन्तरिक र वाह्य पुँजी आवश्यक रहे पनि आन्तरिक पुँजीबाट पनि देशमा पूर्वाधार विकास गर्न सकिन्छ भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी खोलेर काम सुरु गरिसकिएको जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरूको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्