…जहाँ प्रत्येक शनिबार गुञ्जिन्छ कर्णालीको देउडा



दुई दशकदेखि कोहलपुर र बैजनाथको सिमानामा रहेको बानियाभार पशु कृषि हाटबजारमा प्रत्येक हप्ताको शनिबार कर्णालीबासीहरू देउडा खेल्दै आएका हुन् । त्यहाँ देउडा खेल्न र हेर्न पुगेका अधिकांश व्यक्तिहरूको शरीरमा कर्णालीको पहिरन देख्न सकिन्छ । नाक, कान र गलामा कर्णालीका पुराना गरगहना । जहाँ भेटिने अधिकांश मानिसहरू पनि कर्णाली प्रदेशबाट बसाइँसराइ गरेर आएका नै भेटिने गर्छन् । अझ भनौँ बोलिने भाषा पनि कर्णाली प्रदेशकै हुन्छ ।

गणेश रावत । कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका–४ स्थित बानियाभार । जहाँ प्रत्येक हप्ताको शनिबार देउडा गुञ्जिने गर्छ । पछिल्लो समय आधुनिकताले देउडा खेल्ने अर्थात् गाउने प्रचलन लोपहुँदै गएको छ । तर, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट बाँके बसाइँसराइ गरेर आएका स्थानीयहरूले आफ्नो संस्कृति र कला जगेर्ना गर्न देउडा खेल्दै आइरहेका छन् ।

दुई दशकदेखि कोहलपुर र बैजनाथको सिमानामा रहेको बानियाभार पशु कृषि हाटबजारमा प्रत्येक हप्ताको शनिबार कर्णालीबासीहरू देउडा खेल्दै आएका हुन् । त्यहाँ देउडा खेल्न र हेर्न पुगेका अधिकांश व्यक्तिहरूको शरीरमा कर्णालीको पहिरन देख्न सकिन्छ । नाक, कान र गलामा कर्णालीका पुराना गरगहना । जहाँ भेटिने अधिकांश मानिसहरू पनि कर्णाली प्रदेशबाट बसाइँसराइ गरेर आएका नै भेटिने गर्छन् ।

अझ भनौँ बोलिने भाषा पनि कर्णाली प्रदेशकै हुन्छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर बाँके आएका स्थानीयहरू शनिबार हाटबजार पुग्ने गर्छन् । नेपालगन्जदेखि चिसापानीसम्मका नागरिकहरू देउडा खेल्न र हेर्न पुग्ने गरेको देउडा खेलाडी तथा देउडा सांस्कृतिक संरक्षण प्रतिष्ठानका अध्यक्ष विष्णुकान्त आचार्यले बताए । २०६० सालदेखि देउडालाई जगेर्ना गर्न देउडा खेल्दै आएको उनको भनाइ छ ।

द्वन्द्वकाल र कोभिडको समयमा बाहेक निरन्तररूपमा देउडा जगेर्ना गर्नका लागि खेल्दै आएकोे उनले बताए । हाटबजारबाट खेल्न सुरु भएको देउडा अहिले साँस्कृतिक संरक्षण प्रतिष्ठान दर्ता गरेर देउडा जगेर्ना गर्न लागिपरेको उनले मिसन टुडेलाई जानकारी दिए । ‘२०६० सालदेखि देउडा संरक्षणमा हामी लागिपरेका छौँ,’ उनले भने, ‘अहिले कर्णाली प्रदेशका मात्र नभइ सुदूरपश्चिम प्रदेशबाट बसाइँसराइ गरेर आएका नागरिक पनि देउडा खेल्न आउने गर्छन् ।’

पछिल्लो पुस्ताहरूमा पनि देउडा हस्तान्तरण गर्नुका साथै लोप हुन नदिन देउडा खेल्दै आएको उनी बताउँछन् । जुम्लाको सिंजाबाट बसाइँसराइ गरेर २०५७ सालमा बानियाभारमा आएको बताउँदै उनले देउडा गीत मात्र नभई कर्णालीको पहिचान रहेको बताए । हाटबजारमा अहिले देउडा खेलहुँदा मानिसहरूको भिडभाड हुनाले व्यापार पनि बढेको उनी बताउँछन् । कृषिजन्य बस्तुको बिक्री वितरणका लागि हाटबजारको स्थापना गरिएको भए पनि अहिले हाटबजार कला संस्कृति संरक्षणको केन्द्र बन्न पुगेको उनले बताए ।

पछिल्लो समय हाटबजारमा तरकारी किनमेल गर्न आउनेहरूको कमी भएपछि उनीहरूलाई आकर्षित गर्न कला संस्कृति सँगसँगै कृषिजन्य बस्तु बिक्री वितरणका लागि मानिसहरू बटुल्न देउडा खेल्ने गरिएको आचार्यले जानकारी दिए । कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बसाइँसराइ गरेर लुम्बिनी प्रदेश आएका ज्येष्ठ नागरिकहरू आफ्नो पुरानो कला संस्कृति जगेर्ना गर्न देउडा खेल्न शनिबार हाटबजार पुग्ने गरेको अध्यक्ष आचार्यले बताए । यसले गर्दा एकातिर कला संस्कृतिको संरक्षण र अर्काेतिर हाटबजारमा कृषिजन्य बस्तुको बिक्री वितरण हुने गरेको उनको भनाइ छ ।

अहिले हाटबजारमा तरकारी सँगसँगै कर्णाली प्रदेशको संस्कृति जगेर्ना गर्न उनी लागिपरेका छन् । कृषि हाटबजारमा देउडा खेल्न र हेर्न आएका मानिसहरूले घर फर्किँदा तरकारी किनेर लैजाने गरेका छन् । जसले गर्दा हाटबजारमा किसानले बेच्न राखेका तरकारी कुहिएर जानबाट जोगिने बानियाभारका स्थानीय हरिकृष्ण धितालले बताए । धिताल पनि शनिबार हाटबजारमा देउडा खेल्न पुगेका थिए ।

कर्णालीको पुरानो कला सस्ंकृतिको जगेर्ना गर्न आफूहरू लागिपरेको उनले बताए । पछिल्लो पुस्ताले पुरानो कला संस्कृतिमा ध्यान नदिँदा हराउँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । हाटबजार एउटा तरकारी बिक्री वितरण गर्ने ठाउँ मात्रै नभई कला संस्कृतिको जगेर्ना गर्ने थलो बनेको उनले बताए । त्यही हुलमा नाकमा फुली–बुलाकी, घाँटीमा पुरानो पोते र गुन्युचोलीमा सजिएर देउडा खेल्न पुगेकी थिइन्, केसरकला मल्ल । उमेरले ५९ वर्षीया मल्ल मदनचोकदेखि बानियाभार पुगेकी थिइन् ।

मुगुबाट बसाइँ सरेर आएकी केसरकला प्रत्येक शनिबार कृषि हाटबजार पुग्ने गरेको बताउँछिन् । उनले गएको शनिबार देउडा प्रतियोगितामा प्रथमसमेत भएको बताइन् । उनी सानैदेखि देउडा खेल्ने गाउने गर्थिन् । उनी कोहलपुर मदनचोक झरेपछि देउडा गाउन पाएकी थिइनन् । ‘घरमा कहिलेकाहीँ एक्लै गुनगुनाउने गर्थेँ,’ उनले भनिन्, ‘जब मैले बैजनाथ बानियाभारमा कृषि हाटबजारमा देउडा खेल्छन् भन्ने थाहा पाएँ । त्यो दिनबाट आफ्नो मनको तिर्सना मेट्न यहाँ आउने गरेकी छु ।’

उनी जस्तै जोनु सिंह पनि कृषि हाटबजारमै भेटिएकी थिइन् । ज्येष्ठ नागरिकको सुख दुःख भुलाउने र युवाहरूले सिक्नका लागि यो एउटा प्लेटफर्म बन्ने सिंहले बताइन् । अहिले देउडा र गुन्युचोली हराउन थालेकोमा उनले चिन्ता प्रकट गरिन् । कृषि हाटबजारले कृषिजन्य बस्तुहरूको बिक्री वितरण मात्र नगरेर कला संस्कृतिको संरक्षणसमेत गरिरहेकोमा खुसी व्यक्त गरिन् । उनीहरू जस्तै सयौँ व्यक्तिहरू त्यहाँ देउडा हेर्न पुग्ने गरेका छन् । यसले एकातिर देउडालाई जगेर्ना गर्ने र अर्काेतिर भेटघाटको मौका जुराउने गरेको छ । प्रत्येक शनिबार त्यहाँ चलायमान र भिडभाडले व्यापार व्यवसायमा केही राहत भएको बताउँछन् व्यापारी ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार