नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भारत भ्रमणमा हुँदा सेवाग्राहीको काम प्रभावित भएको छ । उनीहरुले कार्यवाहक र निमित्तको जिम्मेवारी दिए पनि कतिपय कामहरु रोकिएका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
वर्षाले घर भत्काइ दिएपछि कोहलपुर–७ की शान्ति थापाको परिवार विचल्लीमा छ । अहिले उनको परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन् । आर्थिक अवस्था कमजोर हुँदा थापासँग छानो छाउनेसमेत पैसा छैन । दैनिकी ज्याला मजदुरी गरेर साँझबिहानको छाक टार्ने उनी अहिले सहयोग खोज्दै भौतारिरहेकी छिन् । सहयोगकै लागि अपील गर्न उनी कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यलाई भेट्न बुधबार पालिका पुगिन् ।
साना छोराछोरीलाई छाडेर उनी नगरपालिका पुगेकी थिइन् । हातमा वडा कार्यालयले दिएको सिफारिस र मनभरि पीडा बोकेर नगर प्रमुखलाई भेट्ने उनको ठूलो इच्छा थियो । तर, इच्छा पूरा हुन सकेन । नगर प्रमुख आचार्यलाई भेट्नुको प्रमुख कारण थियो, ‘घरको छानो हाल्न आवश्यक सहयोग माग्ने ।’
नगर प्रमुख आचार्य कार्यालयमा नभएपछि वडाबाट ल्याएको सिफारिस कम्मरमा च्यापिन् र पीडालाई सम्हाल्दै उनी घर फर्किइन् । उनको सहयोगको प्रक्रिया अगाडि बढ्न नगर प्रमुखको एउटा हस्ताक्षर मात्र आवश्यक थियो । ‘काम हुन्छ की भनेर आएकी हुँ । मेयर‘साबलाई भेटाइन्ँ । दसैँ आइसक्यो, छिटो बनाउन पाएको भए आफ्नै घरमा दसैँ मान्न हुन्थ्यो,’ निराशा हुँदै उनले भनिन् ।
बुधबार नगर प्रमुखको सचिवालयमा ताल्चा लगाइएको थियो । सेवाग्राही आउँदै जाँदै गरिरहेका थिए । अरुबेला सधै हुने कार्यालय सहयोगी र सचिवालयका कर्मचारीसमेत यहाँ थिएनन् । नगर प्रमुखको कार्यकक्ष नजिकै रहेको उपप्रमुख संगीता सुवेदीको कार्यकक्षसमेत सुनसान थियो । अरुबेला सेवाग्राही र सचिवालय कर्मचारीले खचाखच हुने उपप्रमुखको कार्यकक्षमा सेवा ओहोरदोहोर गरिरहेका थिए ।
घरेलु हिंसाका विषयमा उपप्रमुखसँग राय बुझ्न आएकी एक महिलाले आफू एकसातादेखि आइरहेको बताइन् । आफू कामका लागि दैनिक आउँदासमेत उहाँसँग भेट हुन नसकेको उनी बताउँछिन् । नाम नबताउने सर्तमा उनी भन्छिन्, ‘उपप्रमुखज्यूसँग धेरै काम थियो । तर, भेटाउनै सकिनँ । आज त सचिवालय बन्दै रैछ । खै कहाँ जानु‘भा रैछ ।’
कोहलपुर–१ का प्रेमबहादुर थापा पनि प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालसँग सम्बन्धित काम लिएर आएका थिए । नगरका कर्मचारीले हाकिम‘साब बिदामा हुनुहुन्छ भन्दै फर्काएको थापा बताउँछिन् । शान्ति र प्रेम प्रतिनिधि पात्र मात्रै हुन् । दैनिक भेटघाट, व्यक्तिगत तथा संस्थागत कामका लागि सेवाग्राहीको घुइँचो लाग्ने नगरपालिकाका महŒवपूर्ण व्यक्ति नहुँदा सेवाग्राहीहरुलाई सास्ती भएको छ । संयोग, यतिबेला कोहलपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत ढकाल बिदामा छन् ।
ढकाल १० दिनको बिदामा र नगर प्रमुख र उपप्रमुख चार दिनको व्यक्तिगत बिदामा छन् । तर, उनीहरु तीनैजना व्यक्तिगतरुपमा धार्मिक कार्यक्रममा भाग लिन भारतको राजस्थान गएको नगरपालिका स्रोतले बतायो । उक्त भ्रमण टोलीका काहेलपुर १४ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता ढकालको अनुपस्थितिमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख कर्णबहादुर थापालाई दिइएको छ । उनी अधिकृत सातौ तहका कर्मचारी हुन् ।
कार्यबाहक नगर प्रमुखको जिम्मा भने कोहलपुर १२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले पाएका छन् । नगर प्रमुखसहित जनप्रतिनिधिको टोलीको भ्रमणबारे जिज्ञासा राख्दा शाहले यो नितान्त व्यक्तिगत धार्मिक भ्रमण भएको बताए । उनका अनुसार उनीहरुको उक्त भ्रमण चार दिनको हुनेछ । कार्यकारी व्यक्तिहरु एकैपटक बिदामा बस्दा पालिकाको कामकाज प्रभावित भएको छ ।
घर विदा भनेर धार्मिक यात्रामा हाकिम
असोज ३ गते प्रमुख प्रशासकीय अधिकृत कोहलपुर नामको फेसबुकबाट टिकाराम ढकालले आफू १० दिनको घर बिदामा रहेको जानकारी गराएका थिए । उनको बिदा ४ गतेबाट सुरु भएको हो । तत्पश्चात् दसैँ बिदा सुरु हुने भएकाले नगरपालिकामा दसैँअगाबै आफूहरुबाट सम्पादन गर्नुपर्ने सम्पूर्ण कार्य एक हप्ता अगाडि नै आन्तरिकरूपमा सञ्चार गरी सम्पादन गरिसकेको उनको भनाइ थियो ।
उक्त अवधिमा उक्त फेसबुक तथा अफिसियल मोबाइल नम्बर र अन्य काम कर्णबहादुर थापाले गर्ने जिम्मेवारी दिइएको उनले बताए । यसको पुष्टि स्वयम् थापाले पनि गरिसकेका छन् । तर, घर बिदामा जाने भनेका ढकाल एकाएक धार्मिक यात्रामा नगर प्रमुखको टोलीसँग भारत हानिएका छन् ।
‘उहाँको व्यक्तिगत भ्रमण हो’
कर्णबहादुर थापा
निमित्त प्रमुख प्रशासकीय अधिकृत
हाकिम‘साब भारतको राजस्तान जानुभएको छ । उहाँहरु ओम शान्तिको कार्यक्रममा जानु भएको हो । उहाँ व्यक्तिगत भ्रमणमा जानु भएको छ । उहाँ वर्षमा धेरै व्यस्त हुनुहुन्छ । अहिले बिदामा पनि लिनु भएको छ । आफ्नो योजनाअनुसार नै जानु भएको होला । उहाँहरुसँग ११ जनाको टोलीसमेत छ ।
यो सरकारी भ्रमण होइन । नितान्त व्यक्तिगत तवरले जानु भएको हो । तपाईँले भने जस्तै सेवाप्रवाहमा आंशिक प्रभाव त पर्ला । त्यस्तो रोकावट भएको त छैन । मलाई दैनिक प्रशासनिक काम गर्ने जिम्मेवारी दिइएको छ । अन्य महŒवपूर्ण काम भने हुने छैन । सेवाग्राही आएमा हामी सहजरुपमा सेवा दिनेछौँ ।
‘धार्मिक यात्रा हो’
वीरेन्द्रकुमार शाह
कार्यवाहक नगर प्रमुख
नगरपालिकाबाट प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र एकजना वडाध्यक्ष भारत भ्रमणमा जानु भएको छ । उहाँहरु व्यक्तिगत काममा जानु भएको हो । नगरपालिकाको तर्फबाट कुनै पनि प्रकारको प्रतिनिधित्व त्यहाँ उहाँहरुले गर्नु हुँदैन ।
उहाँहरु १४ गतेसम्म त्यहाँ रहनु हुनेछ । राजस्तान हो, उहाँहरु गएको । उक्त टोलीमा आरती पौडेल, देवराज भारलगायत हुनुहुन्छ । व्यक्तिगत र धार्मिक यात्रा हो । संस्थागत होइन । ११ जनाको टोली रहेको मैले जानकारी प्राप्त गरेको छुँ ।
प्रतिक्रिया दिनुहोस्