तीन वर्षयता नेपालगन्जबाट आन्तरिक राजस्व लक्ष्यभन्दा कम



नेपालगन्ज ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जबाट विगत तीन वर्षयता लक्षित राजस्व संकलन हुन सकिरहेको छैन । आर्थिक वर्ष ०७८–७९ मा लक्ष्यको १०४ दशमलव ८८ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले त्यसयता लक्ष्य पूरा गर्न सकेको छैन । कार्यालयले गत आर्थिक वर्ष ०८१–८२ मा पनि लक्ष्यको ८६ दशमलव ६५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । गत वर्ष आठ अर्ब २९ करोड ८६ लाख १८ हजार रूपैयाँँ राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा सात अर्ब १९ करोड तीन लाख ६३ हजार रूपैयाँँमात्रै संकलन गर्न सफल भएको छ ।

उक्त रकम अघिल्लो आर्थिक वर्ष ०८०–८१ को लक्ष्य सात अर्ब ६९ करोडभन्दा पनि कम हो भने अघिल्लो वर्ष संकलित राजस्वभन्दा ७४ करोड बढी हो । अघिल्लो आर्थिक वर्ष ०८०–८१ नेपालगन्जलाई विभागले ७ अर्ब ६९ करोड ६२ लाख रूपैयाँँको लक्ष्य दिएकोमा लक्ष्यको ८३.७१ प्रतिशत अर्थात् ६ अर्ब ४४ करोड रूपैयाँँमात्रै राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७९–८० मा सात अर्ब ९६ करोड लक्ष्य रहेकोमा कार्यालयले उक्त वर्ष झनै कम ७४.३८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको थियो ।

कार्यालयले लक्ष्य प्राप्त गरेको वर्ष ०७८–७९ मा भने पाँच अर्ब २२ करोड लक्ष्य पाएकोमा त्यसलाई पूरा गर्दै पाँच अर्ब ४७ करोड राजस्व असुली गरेको थियो । गत आर्थिक वर्ष ०८१–८२ मा सबैभन्दा बढी अन्तःशूल्क कर चार अर्ब २४ करोड, १९ लाख ६७ हजार संकलन भएको छ भने आयकर एक अर्ब ६४ करोड २१ लाख, मूल्य अभिवृद्धि कर एक अर्ब आठ करोड ५४ लाख संकलन गरेको छ । यसका साथै स्वास्थ्य सेवाबाट १३ करोड ९३ लाख ७४ हजार, भाडा आम्दानीबाट चार करोड पाँच लाख १४ हजार रूपैयाँँ संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सबै किसिमका करको संकलनमा भने वृद्धि भएको तथ्यांकले देखाउँछ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जका कर अधिकृत किरण डाँगीले मूल्य अभिवृद्धि कर नै लक्ष्यभन्दा कम उठ्नुले बजारमा अझै आर्थिक शिथिलता रहेको संकेत गरेको बताए । यसका साथै सबैभन्दा कर संकलन हुने अन्तःशूल्क कर पनि कम उठेकाले लक्ष्य पूरा हुन नसकेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार