करको दायरामा छैनन् फोटोग्राफर



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको धनगढी वडा नम्बर ७ स्थित देवहरिया वनस्पति उद्यानमा दैनिकजसो हातमा क्यामरा बोकेर बस्छन् नितेश चौधरी । त्यहाँ प्रवेश गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूले आफनो तस्बिर लिन चाहेमा शूल्क लिई तस्बिर खिच्छन् र उपलब्ध गराउँछन् । नितेशको न आफ्नै स्टुडियो छ न त कुनै व्यवसायनै दर्ता गरेका छन् । उनले दैनिक एक हजार बढी रकम आम्दानी हुने गरेको बताए । देवहरिया वनस्पति उद्यानले सो क्षेत्रमा प्रवेश शूल्कसहित चलचित्र र म्युजिक भिडिओ सुटिङका लागि वन नियमावली २०७९ अनुसार शूल्क निर्धारण गरेको छ ।

तर, नितेशजस्ता त्यहाँ क्यामरा लिएर तस्बिर खिच्ने व्यक्तिहरूबाट कुनै राजस्व लिने गरेको छैन । देवहरिया वनस्पति उद्यानमा चलचित्र सुटिङ गरेवापत प्रतिदिन पाँच हजार र म्युजिक भिडिओ सुटिङ गरेवापत दुई हजार शूल्क कायम गरेको छ भने प्रवेश शूल्क दश वर्षमुनिका १० रूपैयाँँ, १० वर्षमाथिकालाई २० र ज्येष्ठ नागरिकलाई पाँच रूपैयाँँ कायम गरेको छ । सोहीअनुसार सो उद्यानमा दैनिकजसो ३५ देखि ५० बढी व्यक्तिहरू क्यामरा बोकेर फोटो खिच्ने गरेका छन् । उनीहरू उद्यानभित्र प्रवेश गरेको शूल्क तिर्छन् तर, त्यहाँबाट आम्दानी गरेको रकमको राजस्व भने तिर्दैनन् ।

नितेश भन्छन्, ‘एक वर्षदेखि देवहरियामा फोटो खिच्ने काम गरिरहेको छु । मौसमको समयमा धेरै कमाइ हुन्छ । कहिलेकाहीँ एक रूपैयाँँ पनि आम्दानी हुँदैन । तर, यसले अहिले घरखर्च धान्न सहज भएको छ ।’ उनी त्यहाँमात्र नभई विवाहको ठेक्का पाए त्यहाँ पनि जाने गरेको बताउँछन्। धनगढीमा स्टुडियो राखेर बसेका छन् मानबहादुर चौधरी । तर, विगत एक वर्षयता उनको पसल सुनसानजस्तै हुन्छ । उनले व्यापार व्यवसाय हरेक मानिसले गर्न पाउने तर, करको दायरामा सबै आउनुपर्ने बताए । उनले बढी भिड हुने पर्यटकीय क्षेत्रमा क्यामरा बोकेर तस्बिर खिच्ने व्यक्तिहरूले राजस्व छली गरिरहेको बताए ।

उनले भने, ‘व्यापार सञ्चालन अनुमति लिएर काम गर्दा राम्रो हुन्छ । तर, अहिले केही व्यक्तिहरू क्यामरा बोकेरमात्र फोटो खिचेर पैसा कमाइरहेका छन् । उनीहरू राज्यको करको दायरामा पनि छैनन् । आम्दानी गरिरहेका व्यक्तिहरू हामी जसरीनै व्यवसाय दर्ता गरेर काममा लाग्नुपर्छ ।’ उनले स्टुडियो सञ्चालकहरूले राज्यलाई हरेक कर तिर्नुपर्ने तर, क्यामरा बोकेर फोटो खिच्नेहरू कुनै पनि करको दायरामा नभएकोमा दुःखी थिए ।

देवहरियामा पर्यटकहरूबाट रकम लिने गरेको भएपनि उद्यानले स्पष्ट व्यवस्था नभएकाले क्यामराम्यानहरूलाई करको दायरामा ल्याउन नसकेको भन्दै पन्छिएको छ । उद्यानभित्र कुनै पनि व्यवसाय वा कुनै पनि त्यस्तो पैसा कमाउने व्यवस्था नभए तापनि फोटो व्यवसायीको चहलपहलले उद्यान संरक्षणमै समस्या आएको उद्यानका कर्मचारी कृष्ण बुढाथोकीले बताए ।

प्रावधान बनाउँदै गर्दा उद्यानमा आउने, फोटो खिच्ने यस्तो कुनैखाले चहलपहल नभएकाले पनि व्यवसाय गर्ने मनसायले आएका क्यामेराम्यानलाई व्यवस्थापन गर्न समस्या आएको उनले बताए । देवहरिया वनस्पति उद्यान केन्द्र मातहतमा भएको र विशेषगरी बोटबिरुवा, जडीबुटीलगायत वनस्पति सम्बन्धीकै लागि स्थापना भएकाले यो समस्यालाई समाधान गर्न पनि सहज नभएको बुढाकथाकी बताउँछन् ।

उद्यानको फोटोग्राफीलाई व्यवस्थित गर्न सरकारले नै तत्काल कुनै नीति बनाउनु पर्छ । करबिनाको अवैधानिक व्यवसायले केही व्यक्तीलाई फाइदा गरे तापनि समग्रमा राज्यलाई र वास्तविक फोटो व्यवसायीलाई भने नोक्सानी नै पु¥याइरहेको बुढाथोकीको भनाइ छ । धनगढीमा देवहरियामात्र नभई भाटभटेनी, शिवपुरी धाम, बेहडाबाबा मन्दिर लगायतका स्थानमा जथाभावी शूल्क लिएर तस्बिर खिच्ने सेवा उनीहरूले दिइरहेका छन् । तर, उनीहरूले आम्दानीको कुनै पनि कर तिर्दैनन् । उनीहरूका कारण कतिपय क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ भने पर्यटकीय क्षेत्रमा बनेका संरचनाहरूमा पनि क्षति पुग्ने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार