कञ्चनपुर ।
कञ्चनपुरमा बाघको खोजीका लागि निस्किएको हात्तीसहितको टोली बेलौरीबाट फिर्ता भएको छ । बुधबार साँझदेखि बाघको खोजीमा निस्किएको तीन हात्तीसहितको टोली शुक्रबार रित्तो हात फिर्ता भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जिल्लास्थित बेलौरी नगरपालिका – ९ आदर्श नगर र प्रगति टोलमा देखिएको बाघको खोजीका लागि तीन हात्तीसहितको टोली परिचालन गरेको थियो ।
खोजीका लागि ‘रुपकली’ नामक पोथी हात्ती र दुई वटा भाले हात्ती लवप्रसाद र सिद्धप्रसाद गरी तीन हात्तीसहितको टोली बेलौरी पठाइएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । हात्तीसहितको टोलीले प्रगति टोल र आदर्शनगर हुँदै नजिकको उखुबारीमा दुई दिनसम्म खोजी गरेको थियो ।
बाघको कुनै संकेतसमेत फेला नपरेपछि शुक्रबार उक्त क्षेत्रमा चितुवा हुनसक्ने भन्दै टोली फिर्ता बोलाइएको सूचना अधिकारी वाग्लेले बताए । बेलौरी नगरपालिका–९ का वडाअध्यक्ष किसनसिंह रानाले यस क्षेत्रमा देखिने चितुवा, बाघले स्थानीय त्रसित बनेका बताए । यसअघि गत असार पहिलो साता स्थानीय शङ्कर भट्टको गोठमै पसेर चितुवाले बाख्रा मारेको थियो । मंगलबार दिउँसो वडा नम्बर–९ स्थित आदर्शनगर र प्रगति टोलमा–२ डमरुसहित बाघ देखापरेको थियो । स्थानीयले बाघ देखेपछि शुक्लाफाँटा निकुञ्जको कार्यालयलाई खबर गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्