झापा ।
कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए ।
उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रूपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २० करोड छ । उत्पादित कफीको आधाभन्दा बढी परिमाण विदेश निर्यात हुने गरेको छ ।
नेपालमा ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकामा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ । कोशी प्रदेशमा सबैभन्दा बढी कफी उत्पादन इलाममा हुने गरेको छ । इलामका दुई हजार बढी किसानले ९०० हेक्टरमा कफीखेती गर्दै आएका छन् । यहाँबाट ५० मेट्रिक टनको हाराहारीमा कफीको दाना उत्पादन हुने गरेको छ । धनकुटा, मोरङ, पाँचथरलगायतका जिल्लामा उल्लेख्य क्षेत्रफलमा कफीखेती विस्तार गरिएको छ ।
बोर्डको तथ्यांकअनुसार धनकुटामा ७५०, मोरङमा ५०० र पाँचथर जिल्लामा ३५० हेक्टरमा विस्तार गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ५० रोपनी जग्गामा कफीखेती गर्न इच्छुक किसान तथा सहकारीलाई रु सात लाख ५० हजार र नर्सरीमा बिरुवा उत्पादन गर्नेलाई रु तीन लाख ५० हजार अनुदान दिँदै आएको छ । बोर्डका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा कोशी प्रदेशका २४ वटा स्थानीय तहमा ११० हेक्टरमा कफीखेती विस्तार गरिएको र त्यसका लागि बोर्डले रु दुई करोड ३७ लाख बजेट खर्च गरेको छ ।
त्यसैगरी चालू आवका लागि २३ स्थानीय तहमा खेती विस्तार गर्न बोर्डले रु दुई करोड ८३ लाख ५० हजार बजेट विनियोजन गरेको छ । ‘कोशी प्रदेश कफीखेतीका लागि उर्बर क्षेत्र हो,’ बोर्डका सूचना अधिकारी ढुङ्गानाले भने, ‘उत्पादित कफी बिक्रीका लागि बजारको समस्या छैन । तथापि प्रशोधन, गुणस्तर, प्याकेजिङ, टे«डमार्कलगायतका विषयमा अनभिज्ञ भएकाले किसानहरूले सिधै अन्तर्राष्ट्रिय बजारमा लैजान सक्ने अवस्था छैन ।’
चिया निर्यात ३२ प्रतिशतले बढ्यो
मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१–८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । आव २०८०–८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उनले बताए ।
कार्यालयको तथ्यांकानुसार आव २०८१–८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार बराबरको अलैँची निर्यात भएको छ । अघिल्लो आव २०८०–८१ को सोही अवधिमा रु सात अर्ब ९३ करोड नौ लाख ९० हजार बराबरको अलैँची निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।
कार्यालयको तथ्यांकनुसार निर्यात हुने मुख्य बस्तुमा भेनियर सिट ७२ दशमलव ३० प्रतिशत, फलामे पाता एक दशमलव आठ प्रतिशत, प्लाइउड सात दशमलव ६० प्रतिशत र मोलासिसको निर्यातमा दुई सय ४७ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सिमेन्ट क्लिङ्कर १३ प्रतिशत, अदुवा ६० दशमलव ७० प्रतिशत, अम्रिसो १४ दशमदव ९० प्रतिशत र छुर्पी निर्यातमा एक दशमलव पाँच प्रतिशतले कमी आएको छ । मेची भन्साबाट गत आव २०८१–८२ मा रु २५ अर्ब १३ करोड ९७ लाख ५० हजारको मालवस्तु निर्यात भएको छ ।









प्रतिक्रिया दिनुहोस्