लागूऔषध नियन्त्रणमा सक्रियता



काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै नयाँ चार चुनौती औँल्याएका थिए । जसमध्ये लागूऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु पहिलो थियो । लागूऔषधसँगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइमजस्ता चुनौती थपिएको निष्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो वर्षको कार्यकालमा लागूऔषधविरुद्ध मुलुकभर नियन्त्रणका लागि महाभियान सञ्चालन गरे ।

काठमाडौँ उपत्यकामा लागूऔषधविरुद्धको प्रहरीमार्फत महाभियान सञ्चालन भइरहेका छन् । गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरीका साथै आमनागरिक, अभिभावकलगायत सरोकार भएका निकायले महाभियानमा साथ दिनुपर्नेमा जोड दिए । मुलुकभर विभिन्न कार्यक्रममार्फत लागूऔषधसम्बन्धी सचेतनासँगै कारबाहीलाई पनि दु्रतगतिमा अघि बढाएका मन्त्री लेखकले गति दिएअनुसारको सफलता प्राप्त हुँदै गएको छ ।

मन्त्री लेखकले नेतृत्व सम्हालेयता बितेको एक वर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा सात हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा एक हजार २०१ बढी हो । अघिल्लो आव २०८०–८१ मा छ हजार ७४२ जना पक्राउ परेका थिए । गत आव २०८१–८२ मा पक्राउ पर्नेमा सात हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेका प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार सो अवधिमा लागूऔषधका पाँच हजार ११० मुद्दा दर्ता भएका छन् ।

यो अवधिमा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ । त्यसैगरी एक वर्षको अवधिमा एम्पुल २२०,४१०, नाइट्राजेपाम ९३,४२४, कोडिन सिरप (कोरेक्स) ८९४० लगायत ठूलोे मात्रामा अन्य लागूऔषध प्रहरीले बरामद गरेको छ । अघिल्लो आवभन्दा मन्त्री लेखकको कार्यकालको पहिलो वर्षमा कोकिन मात्रै सात किलोग्राम विगतभन्दा बढी बरामद भएको ब्युरोको तथ्यांकबाट देखिन्छ ।

ब्युरोको तथ्यांकअनुसार आव २०७९–८० मा लागूऔषधसम्बन्धी चार हजार १०० मुद्दा दर्ता भई छ हजार १८६ जना पक्राउ परेका थिए भने आव २०८०–८१ मा चार हजार ४२४ मुद्दा दर्ता भई छ हजार ७४२ जना पक्राउ गरिएको थियो । मन्त्री लेखकले लागूऔषध नियन्त्रण तथा अवैध ओसारपसारलाई नियन्त्रण उच्च प्राथमिकतामा राखेकाले सफलता हासिल हँुदै गएको छ । सवारी दुर्घटना बढ्नुका साथै आत्महत्या, साइबरक्राइमलगायत आपराधिक घटनाका पछाडि पनि लागूऔषध प्रयोग एउटा कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ ।

खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोललगायतका अन्य औषधि मुलुकभित्र प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ । प्रहरीले देशभरका जिल्ला प्रहरी कार्यालयमा अभियुक्तविरुद्ध मुद्दा चलाउँदै आएको छ भने लागूऔषध नियन्त्रण ब्युरो र ब्युरो मातहतका दश वडा कार्यालय यसको नियन्त्रणमा सक्रिय छन् ।

ब्युरोको विवरणअनुसार पनि गत आवमा मात्रै एक हजार ६७५ जनालाई मुद्दा चलाइएको छ । अघिल्लो आवमा ब्युरोले एक हजार १९३ जनाविरुद्ध मुद्दा चलाएको थियो भने आव २०७९–८० मा ब्युरोले ९३७ जनाविरुद्ध मुद्दा चलाएको थियो । विवरणअनुसार ब्युरोको सक्रियता बढेकै कारण अभियुक्तहरू पक्राउ पर्ने क्रम बढेको छ । त्यसैगरी सशस्त्र प्रहरी बलले लागूऔषध नियन्त्रणका लागि सक्रियता बढाएको छ ।

बितेको एक वर्षमा सशस्त्र प्रहरी बलले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलले ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागूऔषध नियन्त्रणमा जुटेको छ । सशस्त्र प्रहरी बलले यो अवधिमा ठूलोे मात्रामा लागूऔषधसमेत सीमा नाका क्षेत्रबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार