वीरेन्द्रनगर ।
सुर्खेत जिल्लामा एक वर्षको अवधिमा चार सय २३ सवारी दुर्घटना हुँदा ३८ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१–०८२ मा जिल्लाभर चार सय २३ सवारी दुर्घटना भएका हुन् । उक्त सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् भने ९३६ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा २९ जना पुरूष, ६ जना महिला, तीन बालिका र एक बालक रहेका छन् । जसमा १२ जना सवारी चालकको ज्यान गएको छ ।
तर आर्थिक वर्ष २०८०–०८१ को तुलनामा गत आर्थिक वर्ष २०८१–०८२ भने सवारी दुर्घटनामा कमी आएको छ । २०८०–०८१ मा जिल्लाभर ६७३ वटा सवारी दुर्घटना भएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वकिल सुनारका अनुसार २०८०–०८१ मा भएका सवारी दुर्घटनामा २८ जनाको मृत्यु र एक हजार १८४ जना घाइते भएका थिए ।
सवारी दुर्घटना न्यूनीकरणमा कडाइ गरिएपछि केही हदसम्म दुर्घटना कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सडक दुर्घटना न्यूनीकरणमा प्रहरी एक्लैले मात्रै नसक्ने भएकाले सबै पक्षले सहयोग गरेमा अझै दुर्घटना न्यूनीकरण गर्न सकिने कार्यालयले जनाएको छ । गत वर्ष कार्यालयले दुई हजार पाँच सय ३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो ।
यसबाट एक लाख १३ हजार १०२ सवारी चालक, सहचालक र पैदल यात्रीहरू लाभान्वित भएका छन् । दुर्घटना न्यूनीकरण गर्नका लागि क्याम्पस, विद्यालय, पैदल यात्री, चालक, सहचालक, सवारीधनी लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रम गर्ने गरिएको छ भने लागूपदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँचमा कडाइ गर्नुका साथै तीव्र गति न्यूनीकरण गर्न राडर गनको प्रयोग गर्ने गरिएको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने १५ हजार ८४२ सवारीसाधनहरूलाई कारबाही गर्दा एक करोड १५ लाख ९९ हजार ५०० रूपैयाँँ राजस्व संकलन भएको थियो भने गत आर्थिक वर्ष २०८१–०८२ मा १७ हजार १५१ सवारीसाधनहरूलाई कारबाही गर्दा एक करोड ४५ लाख १५ हजार रूपैयाँँ राजस्व संकलन भएको छ । यो विगतको वर्षको तुलनामा २९ लाख १५ हजार पाँच रूपैयाँँ बढी राजस्व हो ।
कारबाहीमा परेका सवारीसाधनमध्ये ६ हजार ७५० मोटरसाइकल, जिप, कार, भ्यान, तीन हजार ७२ ट्रक–टिपर, दुई हजार ८६१ वटा अटो टेम्पो, दुई हजार २५ वटा बस, एक हजार ६१४ वटा मिनी बस र आठ सय २९ ट्याक्टर रहेका छन् । तथ्यांकअनुसार मोटरसाइकलबाट ५४ लाख २६ हजार, जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार पाँच, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच, बस तथा मिनी बसबाट १४ लाख ४४ हजार ५०० र ट्याक्टरबाट ६ लाख १३ हजार ५०० रूपैयाँँ राजस्व संकलन गरिएको छ ।
विभिन्न निकायहरूसँग समन्वयमा गरी आठ सय ८६ वटा रोड फर्निचरहरू राखिएको छ । ओभर लोड नियन्त्रण गर्न २०६ वटा अतिरिक्त सिट निकालेको र मोडिफाइ गरी चर्को आवाजमा चलाउने ८४ वटा सवारीसाधन नियन्त्रण गरी कारबाहीको दायरामा ल्याउन सफल भएकाको ट्राफिक कार्यालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्