नेपाल कृषि प्रधान देश हो । त्यसैले पनि सरकारको पहिलो प्रथामिकतामा कृषक र कृषि पर्नुपर्ने हो । तर, विडम्बना नेपालमा कृषकहरु नै सरकारबाट उपेक्षित छन् । सरकारले कृषकलाई समयमै मल, बीउ र सिँचाइ लगायतको व्यवस्था गर्नुपर्ने हो । तर, कृषक प्रत्येक वर्ष मल, बीउ र सिँचाइको अभावमा सास्ती खेप्दै आइरहेका छन् । कृषकका लागि अहिलेको यो मौसम अर्थात् समय ‘मानो छरेर मुरी’ फलाउने समय हो । तर, पर्याप्त सिँचाइ सुविधा नहुँदा र वर्षात् नहुँदा कृषक मारमा पर्ने गरेका छन् । आफूले गरेको लगानी समेत उठाउन कृषकले सकेका छैनन् । धानबालीले हरियाली हुनपर्ने कतिपय खेतहरु सिँचाइ अभावले अहिले सुक्खाग्रस्त छन् । देशभरका अधिकांश कृषकहरुको समस्या यस्तै छ । समयमा पानी नपर्दा धान रोप्नु त परको कुरा हो । अहिले मधेश प्रदेशमा खानेपानीको समेत हाहाकार भइरहेको छ । तर, यसमा दीर्घकालीन सिँचाइ व्यवस्थापनभने हुन सकेको देखिँदैन् । सरकारले पनि त्यसमा खासै चासो देखाएको छैन् ।अझ भनौँ कृषकका समस्या समाधानतर्फ सरकार नै गैरजिम्मेवार भएर बसेको भान हुन्छ ।
मधेशमा मात्र नभई बाँकेका कतिपय स्थानमा पनि सिँचाइ र बीउ अभावले खेती नै परिवर्तन गर्नुपर्ने अवस्थामा रहेका छन् कृषक । जिल्लाका कैयौँ स्थानका जग्गामा सिँचाइको व्यवस्था नहुँदा कृषक समस्यामा छन् । केही वर्षअघिसम्म एउटा छरुवा जातको धान खेती गर्दै आएका किसानहरु पछिल्ला वर्षमा आकाशे वर्षा कम हुन थालेपछि धानको उत्पादन पनि घट्दै जान लागेका कारण उक्त जमिनमा खेती हुने स्थानीय जातको धानको बीउ पनि पाइन मुस्किल हुन थालेपछि धानखेतीको सट्टा मुमफली, तिल र मासखेती गर्न थालेका छन् । उनीहरुले मुमफली खेती गर्न थाल्नुका पछाडि धान खेतीका लागि पर्याप्त वर्षा नहुनु, सिँचाइको वैकल्पिक व्यवस्था नहुनु र कम पानी भएपनि फल्ने स्थानीय जातका बीउ लोप हुनु हो । नेपालका अधिकांश कृषकहरुको समस्या भने लगभग उस्तै छ । त्यसैले सरकारले उत्पादन बढाउन समयमै पर्याप्त मात्रामा मल, बीउ र सिँचाइको व्यवस्थापन गर्न जरुरी छ । प्रत्येक वर्ष प्रधानमन्त्रीदेखि मन्त्रीहरुले मल र बीउको अभाव हुँदैन भनेर घोक्रो फुट्नेगरी भाषण गर्ने तर कहिल्यै कृषकलाई मल पु¥याउन भने सकेका छैनन् ।
सबैकुरा भाषणमा मात्र सीमित बनेका छन् । कृषकका समस्या समधानमा अब ढिलो भइसकेको छ । तीनै तहको सरकाले स्थानीय बीउको संरक्षमा जुट्नुका साथै सिँचाइको व्यवस्थापनमा जोडदिन आवश्यक छ । होइन् भने भावी दिनहरुमा बीउको अभाव झनै बढ्दैजाने निश्चित देखिन्छ । सरकारले नारामात्र होइन् । कृषकका समस्या समधान हुने काम गर्न जरुरी छ । अनुदानदेखि सिँचाइसम्म आफ्ना कार्यकर्तालाई पोस्नाले वास्तविक कृषक मर्कामा परेका हुन् । त्यसैले सरकारले समयमै ध्यान पु¥याउन जरुरी छ । सिँचाइ, बीउ र मलको सुविधा नहुँदा कृषकहरुले उत्पादन कसरी गर्न सक्छन् ? के भोकमरी हुन सक्दैन् ? कति अरुको देशको भरपर्ने ? खाद्यान्नमा कहिले आत्मनिर्भर बन्न सक्छ देश ? त्यसैले कृषकलाई समयमै सम्मान गरौँ । अहिले पनि २५ प्रतिशत कृषियोग्य जमिन बाँझो रहेको छ । अनि कसरी आत्मनिर्भर हुनसक्छ ? त्यसैले बाँझो जमिन हरियाली बनाउन बीउ, सिँचाइ र मलको व्यवस्थानमा ध्यान दिउँ र कृषकलाई प्रोत्साहन गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्