तयार भयो ‘खसिया आखर’ बृहत् जुम्ली शब्दकोश



नन्दराम जैशी । सुर्खेत ।

बुढेसकालको उमेर । कमजोर आँखा । हिँडडुल गर्न पनि उनको शरीरले लट्ठीको साहारा जोज्दै थियो । तर उनी रोकिएनन् । जिम्मेवारी पूरा गर्न हरेक दिन काम गरिरहे । उनी हुन् ७९ वर्षीय संस्कृतविद् रमानन्द आचार्य । ‘खसिया आखर’ तथा बहृत् जुम्ली शब्दकोश प्रकाशन गर्नेे लक्ष्य र हुटहुटीले रातदिन काम गर्दागर्दै उनले आफ्नो बुढेसकालको १७ वर्ष यसैमा बिताएका छन् । आज उनको मात्रै सपना पूरा भएको छैन् ।

नेपाली भाषाको जननी जुम्ली खस भाषा, सभ्यताले जीवित पहिचान बनाउन न्याय पाएको छ भने नेपालले गर्बिलो इतिहास बोकेको अर्को एक शब्दकोष पाएको छ । निकै लामो समयपछि अन्ततः ‘खसिया आखर’ तथा जुम्ली शब्दकोश तयार भएको हो । नेपाली इतिहासमा १७ वर्ष लगाएर लेखिएको शब्दकोष भनेर अर्को रेकर्ड कायम भएको छ । उनै आचार्यले यो शब्दकोशलाई अन्तिम रुप दिएका हुन् । आचार्यका अनुसार शब्दकोष लेखन कार्य सकिएसँगै प्रकाशनका लागि काठमाडौँस्थित एक छापाखानामा पठाइएको छ ।

अबको दुई महिनाभित्र शब्दकोष बजारमा आउने उनले बताए। यो शब्दकोष एक हजार ४०० पृष्ठको हुनेछ । हाल छापाखानामा अन्तिम डिजाइनको काम चलिरहेको छ, फाइनल पुष्टि हेरिसकेको उनले बताए । शब्दकोषमा ३० हजार बढी खस शब्दहरु राखिएका छन् । जुम्ली खस भाषाका उपज शब्दहरु मात्रै समेटिएका छन् भने पछि प्रतिवादन भएका आधुनिक शब्दहरु राखिएका छैनन् ।

‘संकलित पाण्डुलिपिले अन्तिम रुप पाएको छ, दराजमै थन्किएर म नै अस्ताउँछु कि भन्ने पिर थियो,’ उनले थपे, ‘मर्नुअघि नै शब्दकोश प्रकाशन गर्ने धोको पूरा भएको छ । खस भाषा र सभ्यतालाई जीवित राख्ने प्रण पूरा भयो । भावी पुस्ताको लागि पनि दस्ताबेज बन्यो ।’ यसअघि केही व्यक्ति र निकायहरु शब्दकोश प्रकाशनबाट आर्थिक लाभ प्राप्त नहुने देखेपछि सहयोगको जिम्मेवारीबाट पन्छिएका थिए । आज उनै व्यक्ति र निकायलाई आचार्यले शब्दकोष प्रकाशन गरेरै देखाएका छन् ।

‘यो काममा धेरैले सहयोग पनि गर्नुभएको छ । उहाँहरु सबैलाई हृदयदेखि नमन छ,’ आचार्यले भने, ‘यसअघि ‘मनि’, ‘म्यान’ र ‘मेथड’ नमिल्दा प्रकाशनको काम रोकिएको थियो । जिविस हुँदासम्म आर्थिक सहयोग भयो । जिविस नभएपछि बन्द भयो । अरूले खस शब्द संरक्षण गर्न चासो दिएका थिएनन्, तर भोलि उनीहरु नै आफै जसलिनेछन् ।’ कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक हजार प्रति शब्दकोष प्रकाशनका लागि रकम दिने आश्वासन दिएको छ भने जुम्लाका स्थानीय तहहरुले पनि सहयोग गर्ने आश्वासन दिएका छन् । प्रति शब्दकोष छपाइका लागि १५ सय रुपैयाँ लाग्ने भएको छ ।

चार उपभाषिकामा विभाजन

बजेट अभावकै कारण लामो समयसम्म तयार हुन नसकेको शब्दकोषले पूर्णता पाउनुमा मुख्य श्रेय आचार्यलाई नै जान्छ । साविक जिल्ला विकास समिति जुम्लाको जिल्ला परिषद्ले २०६५ वैशाख ११ गते खस भाषाको संरक्षणका लागि शब्दकोश प्रकाशन गर्ने निर्णय गरेपछि चन्दननाथ–२ स्थायी घर भएका आचार्यलाई शब्द संकलन र सम्पादनको जिम्मा दिइएको थियो ।

खस भाषामा दख्खल राख्ने आचार्यले निकै दुःख गरेर खस शब्द संकलन गरेका हुन् । शब्द संकलन र अर्थ लगाउने काम आचार्यले गरेपनि शब्द कम्प्युटर टाइपिङको काममा भने निकै कष्ट भएको थियो । उनका अनुसार कतिपय खस शब्दहरु कम्प्युटरको माइक्रोवर्डमा पनि नभेटिने समस्या छ । आचार्यले सम्पादन गरेको ‘खसिया आखर’ साविक जिविस बन्द भएपछि अलपत्र परेको थियो । जिविसले पहिलो वर्ष दुई लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त बजेटबाट खस शब्द संकलन गर्न आचार्य हुम्ला, मुगु, डोल्पा र कालिकोटसम्म पुगेका थिए । नेपाली भाषाको उत्पत्ति भाषा मानिएको खस भाषा बोलिने क्षेत्रहरूमा कथ्य भाषाका रूपमा मात्रै रहेकाले यसलाई संरक्षण र लिपिबद्ध गर्न जुम्ली शब्दकोश निर्माण गरिएको हो । शब्दकोशलाई चार उपभाषिकामा विभाजन गरिएको छ । पहिलो ८० दराली भाषिकामा ८० दरा, ५ सय दरा र सिञ्जा दराका शब्दहरू राखिएको छ ।  दोस्रो त्रिविकोटी भाषिकामा चौधबीस दरा र डोल्पामा बोलिने शब्दहरू, तेस्रो रासकोटी भाषिकामा कालीकोटमा बोलिने शब्द र चौथो मुहु भाषिकामा मुगु र हुम्लामा बोलिने शब्द समावेश गरिएको छ ।

खस भाषालाई जीवन दिने काम

कथ्य रूपमा मात्र जीवित खस भाषालाई शब्दकोशमा सँगालेर जीवन दिने काम गरिएको हो । आफूमाथि केही भइहालेमा शब्दकोष नै प्रकाशन नहुने स्थिति आएपछि ४० हजारभन्दा बढी शब्द संकलन गर्ने लक्ष्य भने अधुरै रहेको आचार्य बताउँछन् । ‘सुरुमा थुप्रैले सघाउने आश्वासन दिएका थिए । शब्द संकलन तथा लेखनका लागि पाँच सदस्यीय समिति नै गठन गरिएको थियो,’ आचार्यले सुनाए, ‘पछि न समिति सक्रिय भयो, न त आर्थिक सहयोग नै जुट्यो ।

सरोकारवालाको सहयोग नहुँदा यसलाई पूर्णता दिने जिम्मा मेरै थाप्लोमा आइपरेको थियो ।’ सदस्यहरू गणेश चौलागाईं, हरिशरण आचार्य, प्रकाशचन्द्र खत्री र हरिबाबु चौलागाईं केही समय खटिएका थिए । पछि उनीहरुले खटिन छोडेपछि आचार्य दैनिक आधा घण्टा हिँडेर बजार पुग्थे । र कार्यालय रहेको तत्कालीन जिविस भवनमा बसेर बिनासेवासुविधा दिनभर एक्लै काममा व्यस्त रहन्थे । शब्द संकलन गर्न गाउँगाउँ जानुपर्ने त्यसैमा बजेट अभावको समस्या थियो । तर आचार्य एक्लैले शब्द खोज्दै वर्णानुक्रम अथ्र्याउने लगायतका काम आफैँ गरे ।

जुम्लाको सिंजा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ तथा नेपाली भाषा संरक्षण गर्न र १८४६ पूर्वको खस राज्यको पहिचान विलय हुन नदिई यहाँको सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व जीवन्त राख्न शब्दकोशले सघाउने उनको विश्वास छ । विदेशी भाषाको नक्कलले मातृभाषा हराउँदै गएको अवस्थामा शब्दकोषले यसलाई संरक्षण र लिपिबद्ध गर्न सहयोग पुगेको उनको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार