कर्णाली ब्युरो ।
कर्णाली प्रदेशमा खाद्यान्न बाली उत्पादनको तुलनामा तरकारी र फलफूल बाली उत्पादन बढेको छ । खाद्यान्न बाली उत्पादनमा ह्रास आएपनि तरकारी र फलफूल उत्पादनमा भने वृद्धि भएको तथ्यांक छ । नेपाल राष्ट्र बैंकले गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन (२०८१–८२) अर्धवार्षिक प्रतिवेदनले खाद्यान्न बाली उत्पादनमा ह्रास र तरकारी र फलफूल खेतीमा वृद्धि भएको देखिएको छ । कर्णाली प्रदेशको समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.११ प्रतिशतले घटेको उल्लेख छ ।
प्रमुख खाद्य बालीमध्ये धान ५.११ प्रतिशत, मकै ४.१६ प्रतिशत, गहुँ ४.८६ प्रतिशत, कोदो ११.५२ प्रतिशत र जौले ढाकेको क्षेत्रफल १.३९ प्रतिशतले ह्रास आएको छ । तर तरकारी र फलफूल बालीले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । प्रतिवेदनमा तरकारी ३३.८८ प्रतिशत र फलफूल ८.१७ प्रतिशत बढेको उल्लेख छ । कर्णाली प्रदेशमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०६ प्रतिशतले बढेको हो भने खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ४.८३ प्रतिशतले घटेको पाइएको छ ।
आर्थिक वर्ष २०८१–८२ को प्रथम अर्धवार्षिक अवधिमा तरकारी उत्पादन र फलफूल खेतीको उत्पादन क्रमशः २२.७४ प्रतिशत र ४४.७३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कूल कर्जाको ८.७१ प्रतिशत हिस्सा ओगटेको छ । आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफलमा ०.११ प्रतिशतले कमी आई ३ लाख ७३ हजार ४१६.२५ हेक्टर कायम भएको उल्लेख छ ।
गत वर्ष यो अवधिमा यस्तो क्षेत्रफल ०.०१ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंक सुर्खेतका प्रमुख तथा उपनिर्देशक राजनप्रसाद रेग्मीका अनुसार कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.४१ प्रतिशतले कमी आएको छ । यो गत आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्मको मात्रै तथ्यांक हो । जसमा धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको उनले बताए । त्यसैगरी गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ ।
कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरुमध्ये खाद्य तथा अन्य बालीले ढाकेको कूल क्षेत्रफलमा जुम्ला जिल्लाले सबैभन्दा धेरै १९.१७ प्रतिशत र डोल्पा जिल्लाले सबैभन्दा कम २.३१ प्रतिशत हिस्सा ओगटेको छ । खाद्य तथा अन्य बालीले समग्रमा ८१.२० प्रतिशत हिस्सा ओगटेको छ ।
यता बागवानी र तरकारी बालीले ढाकेको क्षेत्रफल क्रमश ः १.५७ प्रतिशत र ४६.३२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्म तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल समग्रमा ३३.८८ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
कर्णालीका १० जिल्लामध्ये तरकारी र बागवानी क्षेत्रमा सल्यान जिल्लाले सबैभन्दा धेरै २९.१३ प्रतिशत र मुगु जिल्लाले सबैभन्दा कम १.२६ प्रतिशत हिस्सा ओगटेका छन् । तरकारी तथा बागवानी बालीले समष्टिगत कृषि बालीले ढाकेको कूल क्षेत्रफलको ७.५४ प्रतिशत हिस्सा ओगटेको उपनिर्देशक रेग्मीले बताए । उनका अनुसार आर्थिक वर्ष २०८१–८२ को पुस मसान्तसम्म कर्णाली प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल ८.१७ प्रतिशतले वृद्धि भई ३६ हजार २७४ हेक्टर पुगेको छ । कूल फलफूल बालीले ढाकेको क्षेत्रफलमध्ये सबैभन्दा बढी जुम्ला जिल्लाले ५८.३९ प्रतिशत क्षेत्रफल ओगटेको छ भने सबैभन्दा कम रुकुमपश्चिमले ०.७१ प्रतिशत भू–भाग ओगटेको छ ।
कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादनमा ४.८३ प्रतिशतले ह्रास आएको छ । प्रमुख कृषि बालीमध्ये मकै बालीको उत्पादन ४.२४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गत अवधिमा १२.०४ प्रतिशतले वृद्धि भएको धान उत्पादन समीक्षा अवधिमा १०.२५ प्रतिशतले घटेको छ ।
कर्णाली प्रदेशमा तरकारी तथा बागवानी उत्पादन २२.७४ प्रतिशतले वृद्धि भई दुई लाख ३१ हजार चार सय २८ मेट्रिक टन पुगेको छ । त्यसैगरी आँप, केरा र स्याउ उत्पादन क्रमशः १२.७४ प्रतिशत, ४१.०७ प्रतिशत र २.८० प्रतिशतले वृद्धि भएको उल्लेख छ ।
प्रदेशको कूल तरकारी तथा बागवानी उत्पादनको सबैभन्दा बढी हिस्सा सल्यान जिल्लाको ३५.० प्रतिशत रहेको छ भने मुगु जिल्लाको सबैभन्दा न्यून ०.९० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै फलफूल मात्रै उत्पादनमा सबैभन्दा बढी हिस्सा ३०.९४ प्रतिशत सुर्खेत जिल्लाको रहेको छ भने सबैभन्दा कम जाजरकोट जिल्लाको २.६९ प्रतिशत रहेको छ ।
मासु र दूध उत्पादन घट्यो
कर्णालीमा पशुपन्छी तथा माछा उत्पादन समीक्षा अवधिमा दूध उत्पादनमा ९.०८ प्रतिशतले ह्रास आई ४३ हजार ६०२.१३ हजार लिटर कायम भएको छ । गत अवधिमा यो उत्पादन ८.४३ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै मासु उत्पादनमा १.०८ प्रतिशतले ह्रास आएको छ । गत वर्ष यो अवधिमा १७.३१ प्रतिशतले कमी आएको थियो ।
तर कर्णालीमा अण्डा उत्पादनमा भने १३.३२ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यो अवधिमा उत्पादनमा २.०५ प्रतिशतले ह्रास आएको थियो । यता माछा उत्पादन १.१३ प्रतिशतले वृद्धि भई २०९.४६ मेट्रिक टन पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा भेडा, च्याङ्ग्रा र चौरीपालन व्यवसाय प्रवद्र्धन गर्न सकिने उच्च सम्भावना रहेको छ ।
यस्ता क्षेत्रमा पशुपालन व्यवसाय प्रवद्र्धन भएमा ऊन, दूध, छुर्पी र मासुको उत्पादन समेत वृद्धि हुने देखिन्छ । अन्य पहाडी जिल्लाहरुमा व्यावसायिक बाख्रापालन, गाई÷भैँसीपालनको सम्भावना रहेको छ । तर कर्णाली प्रदेशको जुम्ला लगायतका हिमाली जिल्लामा व्यावसायिक स्याउ, ओखर खेती तथा अन्य पहाडी जिल्लाहरु दैलेख, सुर्खेत, कालिकोट, सल्यानमा व्यावसायिक सुन्तला, केरा, आँप खेतीको उच्च सम्भावना रहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्