वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ का ६५ वर्षीय लियाकत खाँको डेढ बिघा र उनका भाइहरुको गरी बिर्ता गाउँमा करिब १० बिघा जग्गामा सिँचाइको व्यवस्था छैन । उक्त जमिनमा खाँको परिवारले करिब पाँच वर्षअघिसम्म एउटा छरुवा जातको धान खेती गर्दै आएका थिए । पछिल्ला वर्षमा आकाशे वर्षा कम हुन थालेपछि धानको उत्पादन पनि घट्दै जान थाल्यो । यसका साथै उक्त जमिनमा खेती हुने स्थानीय जातको धानको बीउ पनि पाइन मुस्किल हुन थाल्यो ।
त्यसपछि खाँको परिवारले उक्त जग्गामा धानखेतीको सट्टा मुमफली, तिल र मासखेती गर्न थाले । बाँकेकै डुडुवा गाउँपालिका वडा नम्बर ३ हलवलडोलीका बिलाल साहको परिवारले पनि करिब १५ बिघा जमिनमा मुमफली खेती गर्दै आएको छ । उनीहरुले मुमफली खेती गर्न थाल्नुका पछाडि पनि उस्तै कारण छ, धान खेतीका लागि पर्याप्त वर्षा नहुनु, सिँचाइको वैकल्पिक व्यवस्था नहुनु र कम पानी भएपनि फल्ने स्थानीय जातका बीउ लोप हुनु ।
लियाकत र बिलालको जस्तै धेरै किसानहरुले नेपालगन्ज २१ बिर्तामा पहिले धान खेती हुने जमिनमा मुमफली, तिल र मासखेती गरिरहेका छन् । यसरी धानको सट्टामा वैकल्पिक खेती गरिएको जमिन नेपालगन्ज २१ मा मात्रै दुई सय बिघाभन्दा बढी रहेको लियाकतले बताए ।
लियाकत कुनैबेला नेपालगन्जमा पर्याप्त वर्षा हुने गरेको स्मरण गर्छन् । उनले भने, ‘वर्षाको बेला चार जोर कपडा चाहिन्छ भनिन्थ्यो, किनकी पानीले भिजाउँथ्यो । भिजाएपछि बदल्नका लागि धेरै जोर कपडाको जोहो गर्नुपथ्र्याे । अहिले त वर्षामा पानीले एकैजोर कपडा पनि राम्ररी भिजाउँदैन । अनि कसरी धान फलोस् ।’
वर्षा पनि कम हुने र सिँचाइको वैकल्पिक व्यवस्था पनि नभएपछि एकपछि अर्काे गर्दै किसानहरु वैकल्पिक खेतीतर्फ लागेका उनले बताए । तर, यसरी वैकल्पिक खेतीको रुपमा मुमफली, तिल र मासखेती गरिएपनि त्यो निर्वाहमुखी मात्रै रहेको लियाकत बताउँछन् । किनकी खेती गरिएको जमिन धेरै भएपनि धेरै जनाको साना–साना कित्तामा बाँडिएको छ । ‘धेरै किसानले थोरै–थोरै खेती गर्दा परिवारमै खानकै लागि पुग्दैन। मासको दाल त घरकै लागि ठिक्क हुन्छ ।
तिल र मुमफली अलिअलि बेचिन्छ र त्यसैबाट सकेको चामलको व्यवस्था गरिन्छ,’ उनले भने । अर्कोतिर धानको तुलनामा वैकल्पिक बालीको उत्पादन पनि कम हुने गरेको उनले बताए । उनले सामान्य हिसाब गर्दै भने, ‘धान खेती ग¥यो भने एक बिघा कच्चामा चार क्विन्टल जति धान उत्पादन हुन्छ । तर मुमफली एक क्विन्टल जती उत्पादन हुन्छ होला । त्यही पनि आधाजति त घरमै भुटेर खाएर सकिन्छ ।’
बिलाल धान खेती छाडेर अरु खेती गर्नु बाध्यता भएको बताउँछन् । उनले भने, ‘वर्षाको बालीमा धान खेतीमै धेरै फाइदा छ । तर के गर्ने सिँचाइकै व्यवस्था छैन । यहाँ पानी तान्ने मोटर राख्नका बिजुलीको व्यवस्था गरिदिन कतिपटक धायौँ । भनसुन गर्दागर्दा आधासम्म पोल गाडेर छोडिदिए । सिँचाइको व्यवस्था हुनेबित्तिकै फेरि धान खेती नै गर्छौँ ।’









प्रतिक्रिया दिनुहोस्