अर्गानिक स्वाद पस्किरहेका ‘राधेश’



राधेश विगत दुई वर्षदेखि जुम्ला बजारमा ‘रायपूर्व अर्गानिक खाजा घर’ सञ्चालन गरिहेका छन् । अहिले उनी खाजा घरतिर रमाइरहेका छन् । आफू जन्मको ठाउँ र गाउँमा उत्पादनहुने अर्गानिक खाद्यबस्तु बजारीकरण सँगसँगै उनले अर्गानिक स्वाद ग्राहकलाई चखाइरहेका हुन् । गाउँमा उत्पादन हुने कोदोको मम, फापरको रोटी, चिनोको भात, मार्सी चामलको भात लगायतका अर्गानिक स्वाद उनी आन्तरिक तथा बाह्य पर्यटकलाई केही वर्षदेखि पस्किरहेका छन् ।

गणेश रावत । कोहलपुर ।

स्वदेशमा भविष्य नदेखेर युवाहरु विदेसिने क्रम दिनप्रतिदिन बढ्दो छ । अहिले पनि दैनिक सयौँ युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेसिने गरेका छन् । तर, जुम्ला तिला गाउँपालिका–६ घोडेका राधेश रोकाया भने स्वदेशमा भविष्य देखिरहेका छन् । लक्का जोवन विदेशमा नभइ स्वदेशमा खर्चिने उनी बताउँछन् । उमेरले राधेश भर्खर २५ वर्ष मात्रै पुगे । राधेश अहिले स्वदेशमा केही गर्ने आशा र विश्वासका साथ खाजाघर सञ्चान गरेका छन् ।

विगत दुई वर्षदेखि उनी जुम्ला बजारमा ‘रायपूर्व अर्गानिक खाजाघर’ सञ्चालन गरिहेका छन् । राधेश खाजा घरतिर रमाइरहेका छन् । आफू जन्मको ठाउँ र गाउँमा उत्पादनहुने अर्गानिक खाद्यबस्तु बजारीकरण सँगसँगै उनले अर्गानिक स्वाद चखाइरहेका हुन् । गाउँमा उत्पादन हुने कोदोको मम, फापरको रोटी, चिनोको भात, मार्सी चामलको भात लगायतका अर्गानिक स्वाद उनी आन्तरिक तथा बाह्य पर्यटकलाई पस्किरहेका छन् ।

खाजा घरको नाम जस्तै अर्गानिक खाजाको स्वादले ग्राहकहरुको राम्रो प्रतिक्रिया र सबैको रोजाइमा पर्न सफल भएको उनी बताउँछन् । ‘सुरुवाती दिनहरुमा ग्राहक पाउन गाह्रो थियो,’ उनले भने, ‘अहिले अर्गानिक स्वादले ग्राहकको रोजाइमा परेको छ ।’ अर्गानिक खाजा पारखीकोहरुको मायाले व्यवसाय राम्रो नै चलिरहेको उनी बताउँछन् । खाजा घरबाट अहिल मासिक न्यूनतम ३० हजार कमाइ हुने गरेको उनले मिसन टुडेलाई जानकारी दिए । हातमा सीप र क्षमता भए स्वदेशमा केही गरेर खान सकिने उनको भनाइ छ ।

उनी स्वमय् एक उदाहरण पनि हुन् । अहिले आफ्नै देश र ठाउँमा आफूले सिकेको काम गरेर सहज जीवनयापन चलाइरहेको उनले जानकारी दिए । विदेशमा बगाउने पसिना आफ्नै स्वदेशमा बगाए पनि जीवन चलाउन सकिने उनी बताउँछन् । अर्काको देशमा भाषा र काम सोचेअनुसार नहुने भएकाले सकेसम्म स्वेदशमा केही गर्न उनको सुझाव छ । विगतका केही समय उनी दैनिकी चलाउन कालापहाड धाए । केही वर्ष उतै बिताए ।

‘सधैँ अरुको गुलाम गरेर खानभन्दा आफैँ केही गर्ने सोच आयो, उनले भने, ‘अहिले आफ्नै खाजा घर सञ्चालन गरेर सहज छ ।’ परिवार सँगसँगै स्वारेजगार हुँदा दिनचर्या सहजरुपमा बितिरहेको उनी बताउँछन् । गाउँमा बजार नपाएका फापर, कोदो, मकै लागयतका खाद्यान्न बस्तुहरु खरिद गरेर अर्गानिक खाजा बनाइ बिक्री गर्ने गरेको उनको भनाइ छ । एकातर्फ गाउँको खाद्यान्नले पनि बजार पाउने र अर्काेतर्फ अर्गानिक खाजा बाह्य पर्यटकलाई पस्किन पाउँदा प्रचार हुने उनले बताए ।

अहिले जुम्ला बजारमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुले समेत अर्गानिक खाजा खान पुग्ने गरेको उनी बताउँछन् । सरकारी कार्यालयका प्रमुखदेखि सामान्य व्यक्तिहरु समेत अर्गानिक खाजा खान आउने गरेका छन् । ‘खाजा घरहरु बजारमा धेरै छन्,’ उनले भने, ‘तर अर्गानिक खाजा रायपूर्व खाजा घरमा पाइने भएकाले सबैको रोजाइमा पर्ने गरेको छ । यसले जुम्लाको अर्गानिक खाद्यान्न बस्तुहरुको प्रचारप्रसार र बजारीकरणमा जोड पु¥याएको महसुस गरेको छु ।’

‘रायपूर्व अर्गानिक खाजा घर’ सुरुवात गर्दा ३ लाखको लगानीमा गरेको उनी बताउँछन् । पहिलो चोटी व्यवासतर्फ हात हाल्दा कस्तो हुने हो ? डुब्ने हो कि ? ग्राहक पाउन सकस हुन्छ कि ? लगातका अनेकन प्रश्नहरुले सुरुवाती दिनमा निदाउन नसकेको उनले विगत सम्झिए ।
खाजा घर सञ्चालन गरेको केही दिनमा ग्राहकहरुको राम्रो साथले केही हुन्छ भन्ने आशा पलाएको उनले बताए । बिस्तारै समय बित्तै जाँदा राम्रो हुँदा आत्मबल बढ्दै गएको र घरपरिवाको साथले नै सबैकुरा सम्भव भएको उनी बताउँछन् ।

अहिले उनको कामले परिवारसमेत सुखी छन् । राधेश आफ्नो परिवारसहित अहिले बजारमा बस्ने गरेका छन् । व्यवसाय राम्रो हुँदै गएपछि श्रीमती र उनी मिलेर खाजा घर सञ्चालन गरिहेका छन् । एक्लै खाजा घरमा आउने ग्राकहरुलाई सेवा दिन कठिनाइ भएकाले श्रीमतीले सघाउने गरेको उनले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार