वीरेन्द्रनगर डेंगीको उच्च जोखिममा



नन्दराम जैशी । सुर्खेत ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगी रोग संक्रमणको उच्च जोखिममा छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको तथ्यांकअनुसार सुर्खेतका अन्य पालिकाको तुलनामा वीरेन्द्रनगर डेंगी संक्रमणको उच्च जोखिममा रहेको पाइएको हो । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–०८२ मा मात्रै वीरेन्द्रनगरमा १ हजार ४१६ जना डेंगी संक्रमित भेटिएका छन् । डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा कार्यक्रमका अवसरमा सुर्खेतका सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्दै कार्यालयले यस्तो तथ्यांक प्रस्तुत गरेको हो ।

तथ्यांकअनुसार सुर्खेतमा आर्थिक वर्ष २०७७–०७८ मा ६३९ जना डेंगी संक्रमित भेटिएका थिए । त्यसपछि हरेक वर्ष डेंगी संक्रमित बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८–०७९ मा ५ हजार ३३० जनाको डेंगी परीक्षण गर्दा १ हजार ३२२ जना संक्रमित भेटिएका थिए । यस्तै आर्थिक वर्ष २०७९–०८० मा ८ हजार ४१६ जनाको परीक्षण गर्दा १ हजार ४८४ जना र आर्थिक वर्ष २०८०–०८१ मा ८ हजार ९५० जनाको परीक्षण गर्दा ५७१ जना डेंगी संक्रमित फेला परेका थिए ।

कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक उदय विसीका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा १४ हजार ३७ जनाको परीक्षण गर्दा १ हजार ८३७ जना डेंगी संक्रमित भेटिएका हुन् । जसमा सबैभन्दा धेरै संक्रमित वीरेन्द्रनगर नगरपालिकामा १ हजार ४१६ जना रहेका छन् । भने त्यसपछि गुर्भाकोट नगरपालिकामा १४३ जना, पञ्चपुरी नगरपालिकामा १३५ र लेकवेशी नगरपालिकामा ३८ जना संक्रमित फेला परेका हुन् ।

त्यस्तै भेरीगंगा नगरपालिकामा २९ जना, सिम्ता गाउँपालिकामा ६ जना, चिंगाडमा ९ जना, बराहतालमा १७ र चौकुने गाउँपालिकामा ११ जना संक्रमित फेला परेका हुन् । तथ्यांकअनुसार सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेंगी संक्रमण भएको थियो । जसमा ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगी संक्रमित फेला पर्दा १५ जनाको मृत्यु भएको उल्लेख छ । सन् २०२५ को गत मे महिनासम्मको तथ्यांकअनुसार विश्वभर ३३ हजार बढी संक्रमित भेटिँदा १ हजार ७०० जनाको ज्यान गइसकेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले डेंगी रोगविरुद्ध खोप पनि नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु र यसको लार्भा नष्ट गर्नु रहेको बताए । डेंगी बिरामीलाई अत्यधिक ज्वरो आउने भएकोले सिटामोलबाहेक अन्य औषधि प्रयोग गर्न नहुने सुझाव दिँदै उनले दिउँसो मात्र टोक्ने लामखुट्टेलाई नष्ट गर्नु नै उत्तम विकल्प हुने जानकारी दिए । वीरेन्द्रनगरमा डेंगी रोगको जोखिम बढ्न थालेपछि नगरपालिकाले यसको न्यूनीकरणका लागि सचेतना फैलाइरहेको उनको भनाइ छ ।

उनले भने, ‘नगरपालिकालाई सरसफाइमा जोड दिन, यसबाट बच्ने उपायहरू घरघरमा पु¥याउन सुझाव दिएका छौँ । यस कार्यमा नगरभित्रका सबै टोल विकास समिति, आमा समूह, विद्यालय, निजी क्षेत्रलगायत सरोकारवाला सबैलाई सचेतना फैलाउने गरी आआफ्नो भूमिकामा रहेर काम गर्न परिपत्र भइसकेको छ ।’लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने, पानी जम्न नदिने, सातामा दुई पटक ट्यांकीलगायतमा जमेको पानी फाल्ने, पूरा बाहुला भएको कपडा लाउने र सुत्दा झुल प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको उनले बताए ।

नागरिकलाई सचेत रहन आग्रह

डेंगी रोगको खोप पनि नभएको र खास उपचार पनि नभएको हुँदा यसबाट बच्न हरेक नागरिकलाई सचेत रहन जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतको आग्रह छ । संघीय स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमण नियन्त्रण गर्न डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गरेपछि सोही अनुसार सुर्खेतमा पनि यो अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा र अण्डा खोज र नष्ट गर अभियान जारी छ ।

यो अभियान सफल पार्न हरेक नागरिक सचेत हुनुका साथै आफ्नो जोखिम आफै घटाउनतर्फ लाग्नुपर्ने कार्यालय प्रमुख करुणा भट्टराईले बताइन् । डेंगी परीक्षण कार्यलाई पनि निरन्तरता दिइएको उल्लेख गर्दै नीजि अस्पतालमा डेंगी परीक्षण महंगो हुनेहुँदा सरकारी अस्पतालबाट सेवा लिन उनको सुझाव छ । उनले भनिन्, ‘डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगी सचेतना महिनाका रुपमा अभियान सञ्चालन गरेका छौँ ।

श्रावण महिनाबाट डेंगी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सुरु गरिएको हो । तर अन्य महिनामा पनि जोखिम हुँदैन भन्ने होइन, सधैँ सजह रहनुपर्छ, विशेषगरी डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहन्छ ।’ डेंगी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पूरा गर्न डेंगी सचेतनाबाहेक अरु कुनै बिकल्प नरहेको उनको भनाइ छ । लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अबको ४ महिना सबै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने स्वास्थ्य सेवा निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले बताए ।

डेंगी सचेतना अभियान कार्यान्वयनको बिषय सरकारको मात्रै नभई समाजको पनि भएकाले सवै एक भएर डेंगीमा केन्द्रीत हुनुपर्नेमा उनको जोड छ । ‘साधारणतय डेंगी भाइरस ग्रसित पोँथी लामखुट्टेको टोकाइले आउने ज्वरो र भाइरल संक्रमण नै डेंगी हो,’ उनले भने, ‘वर्षाको अन्त्यतिर विभिन्न ठाउँमा जमेको पानीमा यस्तो लामखुट्टे देखिन्छ । त्यसैले यस्ता ठाँउबाट पानी हटाउनुपर्छ । डेंगी सार्ने लामखुट्टे धेरै मात्रामा बिहान र दिउँसो सक्रिय हुन्छन् । तर यसले हिजोआज राति पनि टोक्न सक्छ ।’

सुरूमा डेंगी भाइरस तराईमा देखिएको बताउँदै पछिल्लो समय हिमालतिर पनि देखिन थालेको उनले बताए । डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । एक पटक डेंगी भएकाले अझै होसियारी अपनाउनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार