एचआइभी संक्रमित नै यौन व्यवसायमा



सुर्खेत ।

सुर्खेतमा एचआइभी संक्रमित नै यौन व्यवसायमा लागेको पाइएको छ । हाल २ संक्रमितसहित २९ जना यौनकर्मी पक्राउपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीर राज शाहीका अनुसार होटेलहरूमा यौन धन्दा भइरहेको सूचना पाएपछि शङ्कास्पद स्थानमा छापा मारेर कारबाही तीव्र बनाइएको छ ।

वीरेन्द्रनगर क्षेत्रबाट पक्राउ परेका २९ जना यौनकर्मी मध्ये अनुसन्धानका क्रममा १ जना महिला र १ जना होटेल सञ्चालक एचआइभी संक्रमित रहेको पत्ता लागेको उनले जानकारी दिए । एचआइभी संक्रमित महिला र होटेल सञ्चालक नै यौन व्यवसायमा संलग्न भएको पुष्टिपछि घटनाले गम्भीर मोड लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । संक्रमितहरूकै प्रत्यक्ष संलग्नताले अन्य यौनकर्मी र सेवाग्राहीहरूमा समेत संक्रमणको जोखिम बढेको एसपी शाहीले बताए ।

उनका अनुसार वीरेन्द्रनगरको बसपार्क, बुद्धपथ र हटिया लाइन लगायत क्षेत्रहरूमा यस्ता गतिविधि बढी हुने गरेका छन् । हाल वीरेन्द्रनगरमा अनुमानित ३८ वर्षसम्मका ६० भन्दा बढी यौनकर्मीहरू क्रियाशील रहेको पाइएको छ । पक्राउ परेका अधिकांशले घरायसी तथा आर्थिक अभावका कारण यौन व्यवसायमा लागेको बताउने गरेको सुर्खेत प्रहरीले जनाएको छ । स्थानीय स्तरमा सामाजिक चेतना अभाव, बेरोजगारी, गरिबी र कमजोर नियमन प्रणालीका कारण यस्तो धन्दा मौलाउँदै गएको प्रहरीको ठम्याइ छ ।

प्रहरीको अनुसार केही होटेल सञ्चालकले नियोजित रूपमा महिलाहरूलाई प्रलोभनमा पारेर यौन व्यवसायमा लगाउने गरेका छन् । सुरक्षा निकायले यस्ता क्रियाकलापमाथि नियन्त्रण गर्न अभियान तीव्र बनाएको छ । स्थायी समाधानका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समाजको पनि समन्वय आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । होटेल सञ्चालकहरू भने पैसाको लाभमा यौनकर्मीहरूलाई होटेलमा राख्ने गरेको पत्ता लागेको हो ।

प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाएको छ । गत असारमा सुर्खेत प्रहरीले एकै दिन यौनजन्य गतिविधिमा संलग्न २५ जनालाई पक्राउ गरेको थियो । वीरेन्द्रनगरका विभिन्न होटेल तथा रेस्टुरेन्टमा यौनजन्य (वेश्यावृत्ति) कारोबार गर्दै गरिरहेका होटेल सञ्चालक, युवायुवती गरी २५ जनालाई पक्राउ गरेको थियो । जसमा ११ महिला र १४ पुरुष थिए । उनीहरू वीरेन्द्रनगरको हार्दिक होटेल, दँगाली, विकास होटेलबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको सक्रियतामा पछिल्लो डेढ महिनाको अवधिमा यौन धन्दामा संलग्न आरोपमा २९ जना पक्राउ परेका हुन् । जसमा १२ पुरुष, १२ महिला र ३ जना होटेल सञ्चालक छन् । यस्तै १ जना नाबालिका समेत रहेको खुलेको छ ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा व्यावसायिक रूपमा सञ्चालित अवैध यौनजन्य गतिविधिले विस्तारै जरा गाड्दै गएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । तर यस्ता आपराधिक क्रियाकलाप सतहमा आउने प्रहरीको दावी छ । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्यावसायिक रूपमा अवैध यौनजन्य गतिविधि सञ्चालन भइरहेको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २८ गते शनिबार