कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी सरकारमा पुनः सहभागी हुनेमा आफू पूर्णविश्वस्त रहेको बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीको कार्यशैलीप्रति असन्तुष्ट मुख्यमन्त्री शाहले यही असार १९ गते मन्त्री पदबाट बर्खास्त गरेका थिए । अहिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी मुख्यमन्त्री शाह आफैँले सम्हालेका छन ।
मन्त्रीबाट चौधरीलाई बर्खास्त गरेपछि असन्तुष्ट बनेको नागरिक उन्मुक्ति पार्टीले प्रदेश र संघीय सरकार दुवैबाट बाहिरिने निर्णय गरेसँगै प्रदेश राजनीतिमा तरंग ल्याएको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीलाई यसअघि दिइएको मन्त्रालयमा त्यसै पार्टीका सांसदलाई मन्त्री नियुक्त गर्न खोजेकोले उपयुक्त सांसदको नाम पठाउन आग्रह गरिएको स्पष्ट पारेका छन् ।
उनले पार्टीका संरक्षक रेशम चौधरी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटवार्ताको प्रसंग जोड्दै प्रदेश सरकार अझै नागरिक उन्मुक्तिकै प्रतीक्षामा रहेको उल्लेख गरे । ‘सरकार गठबन्धनमा काँग्रेस र एमाले छन्, नागरिक उन्मुक्ति बाहिरिँदा पनि सरकार ढल्ने अवस्था होइन । तर यसअघि सरकारलाई समर्थन गरेको र सरकारमै सहभागी पनि भएको हुनाले नागरिक उन्मुक्तिलाई मन्त्रीको लागि नाम पठाउन बारम्बार अनुरोध गरिएको छ,’ उनले भने । बाँकी प्रक्रिया कानुनी बाटोबाट अगाडि बढ्ने उनको भनाइ छ ।
यसैबीच मुख्यमन्त्री शाहसहित मन्त्री तथा सांसदहरूको टोलीले कञ्चनपुरको पुनर्वास र बेलौरीका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गरेको छ । टोलीले पुनर्वास नगरपालिकास्थित दिव्य धाम, कोटेश्वर महादेव मन्दिर, प्यारा ताल, कोटीहोम, रानाथारु सङ्ग्रहालय तथा बेलौरीका बन्धाताल र कालिका मन्दिरको भ्रमण गरेको हो । भ्रमणका क्रममा पुनर्वास नगरपालिकाले प्रदेश सरकारको स्वागत तथा सम्मान गरेको थियो ।
सो अवसरमा नगर प्रमुख तोयप्रसाद शर्मा, उपप्रमुख भुलियाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत तिलकप्रसाद रिजाल र वडाध्यक्षहरूले पुनर्वासको समग्र विकासका लागि प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको धारणा राखे । मुख्यमन्त्री शाहसँगै भ्रमणमा सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, राज्यमन्त्री प्रकाश बम, पूर्वमन्त्री शिवराज भट्ट, विधायन समितिका सभापति दिवानसिंह बिष्ट, नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीलगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्