फुगाड खोलामा पुल नबन्दा यात्रुलाई सास्ती



कालीकोट ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको सिमानामा पर्ने फुगाड खोलामा पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । नेपाली सेनाले निर्माण गरेको फलामे बेलिब्रिज र पहिलेको झोलुङ्गे पुल २०७७ को असारमा आएको बाढीले बगाएपछि नयाँ पुल अझै बनेको छैन । सुक्खा सिजनमा खोलाबाट गाडी र पैदल यात्री आवतजावत गर्न कठिनाइ नभएपनि वर्षायाममा खोला तर्न कठिन हुने गरेको स्थानीय बताउँछन् ।

फुगाड खोला तर्न नसक्दा साना जिप र मोटरसाइकल मंगलबारदेखि वारिपारिनै रोकिएका छन् । मिनी टाटा जेसीबी र ट्याक्टरले तानेर खोला पार गर्ने गरिएको पचालझरना–४ राम्नाकोटकी सुमित्रा बमले बताइन् । उनका अनुसार पैदल यात्रीलाई निकै सास्ती हुने गरेको छ । खोला बढेका बेला तर्नै नसकिने स्थिति छ । पैदल यात्रुले खोला तर्नकै लागि ३ घण्टा उकालोओरालो गरेर फुकोट गाउँको झोलुङ्गे पुल हुँदै जानुपरेको उनको भनाइ छ ।

कर्णाली करिडोरको फुगाड खोलामा पुल नबन्दा गत वर्ष ३ मोटरसाइकल बगेको पलाता घर भएकी काँग्रेस नेतृ दिलु बमले जानकारी दिइन् । यही खोलाले बगाउँदा ३ वर्षमा ४ जना स्थानीयसमेत बेपत्ता छन् । गाडी र पैदल यात्री दुवैलाई सास्ती हुने गरेको छ । फुगाड खोला तर्न नसकेर आफू घर नगएर सदरमुकाम मान्म फर्किएको पचालझरना घर भएकी जिल्ला समन्वय समिति उपप्रमुख मीना रावत विकले बताइन् । उनका अनुसार वर्षाका बेला करिडोर नै बन्द हुन्छ ।

सरकारले हुम्ला गाडी पुग्यो भनेर प्रचार गरेपनि कालीकोटको फुगाड खोलामा सधैँ सडक अवरुद्ध हुने गरेको उनको भनाइ छ । कालीकोटको फुगाडसहित ९ वटा सडक पुलको २०७९ को असारमा ठेक्का भएपनि कामनै सुरु नभएको कर्णाली करिडोर सडक डिभिजन कार्यालय सिमिकोटका प्रमुख बेलबहादुर नेपालीले बताए । उनका अनुसार फुगाड खोलाको पुलको डिजाइननै सडक विभागबाट स्वीकृत भएको छैन । यसैबीच कर्णाली करिडोरको फुगाड खोलामा पुल नहुँदा नागरिकले सास्ती पाएको भन्दै कालीकोटका स्थानीयले बुधबार प्रजिअ नारायणप्रसाद भट्टराईको ध्यानाकर्षण गराएका छन् ।

फुगाड खोला तर्न तत्काल झोलुङ्गे पुल निर्माण गरिनुपर्ने माग छ । नागरिक अगुवा राजु बोगटीले खोलातर्न नसकेर ३÷४ घण्टाको घुमाउरो बाटो हिँड्नु परेको दुखेसो पोखे । फुगाड खोलामा तत्काल यात्रुलाई आवतजावत गर्ने व्यवस्था मिलाउन आफूले सडक डिभिजन कार्यालय हुम्ला र बाजुराको पीलुचौरका प्रमुखलाई जानकारी गराएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार