हुम्ला ।
जिल्लाको अदानचुली गाउँपालिकाका विद्यालयमा स्थानीय पाठ्यक्रम ‘उज्यालो अदानचुली’ लागु गरिएको छ । पाठ्यक्रम छापेर गाउँपालिकामा आइपुगेको र सो पाठ्यक्रमको पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएपछि बुधबारबाट पढाइ सुरु भएको हो । गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टीका उपाध्यायका अनुसार पुस्तकहरू मंगलबार सबै विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।
यो गाउँपालिकामा २० वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा पाठ्यक्रमको पुस्तक पुगिसकेका कारण पठनपाठन सुरु भएको उपाध्यायको भनाइ छ । पाठ्यक्रमअनुसार कक्षा १ देखि ८ सम्म यसको पठनपाठन सुरु भएको हो । यस वर्ष पाठ्यक्रमका आधारमा पठनपाठन हुने र आगामी वर्ष पाठ्यपुस्तक छपाएर त्यसबाट पठनपाठन गरिने उलेख छ । पाठ्यक्रमका पुस्तकहरू गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह र उपाध्यक्ष कर्ण रोकायाले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई हस्तान्तरण गरेका हुन् ।
‘उज्यालो अदानचुली’मा गाउँपालिकाभित्र बसोबास गर्ने सबै जाति तथा धमावलम्बीका रहनसहन, चालचलन, धर्म संस्कृति, रीतिरिवाजलाई समेटिएको छ । यो पाठ्यक्रमका बारेमा शाखाले कक्षामा अध्यापन गराउने शिक्षकलाई अभिमुखीकरणसमेत गरेको थियो । हालसम्म हुम्ला जिल्लामा ६ वटा गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयमा पठनपाठन सुरु गरेका छन् । जसमा सिमकोट, ताँजाकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड र अदानचुली रहेका छन् भने चंखेली गाउँपालिका पाठ्यक्रम निर्माण गर्ने तरखरमा छ ।









प्रतिक्रिया दिनुहोस्