सुर्खेत पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा



सुर्खेत ।

सुर्खेत जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममार्फत सुर्खेतलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । सो अवसरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले घोषणा कार्यान्वयनलाई जोड दिन सुझाव दिए ।

बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढेपनि यसका सूचकमा सुधार आउन नसकेको उनले बताए । पछिल्लो समय बढ्दो बसाइँसराइका कारण वीरेन्द्रनगरजस्ता स्थानीय तहमा चुनौती पनि थपिएको उनको भनाइ छ । उनले भने, ‘यसमा स्वास्थ्यकर्मीको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले सहज भएको छ । घोषणा गरेर मात्रै सबै समाधान हुँदैन, तर आगामी दिनमा यसको निरन्तरता दिन जरुरी छ ।’

प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए । कर्णालीका ७ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा भइसकेकाले यो अभियानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न मन्त्रालयको ध्यान केन्द्रित भएको उनले जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गङ्गाराम सुनारले भौगोलिक विकटताको कारण खोप कार्यक्रम अझै चुनौतीपूर्ण रहेको बताए । विसं २०३५ सालदेखि खोप कार्यक्रम सुर्खेतमा सुरू भएपनि पूर्णखोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार