कोहलपुर ।
केही समयदेखि आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीको आन्दोलनलाई कोहलपुर उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएको छ । संघको आयोजनामा नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सुनचाँदी तथा बहुमूल्य पत्थरमा लगाएको विलासिता शुल्क र अव्यवहारिक मूल्य अभिवृद्ध करका विरुद्ध बुधबार कोहलपुरका सम्पूर्ण व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।
कोहलपुरका सम्पूर्ण व्यवसायीहरूले आधा दिन पसलहरू बन्द गरेर सुनचाँदीमा लगाएको विलासिता कर खारेजीको माग गर्दै बुधबार विरोधमा उत्रिएका थिए । ‘व्यवसायी, व्यवसायी एक हौँ’, ‘विलासिता कर खारेज गर’, ‘व्यवसायी मार्न पाइँदैन’, ‘उपभोक्ता अधिकार संरक्षण गर’ लगायतका नारा लगाएर विरोध ¥याली निकालेका थिए । न्यूरोड चोकदेखि पिपल चौतारासम्म विरोध ¥याली निकालेर पुनः न्यूरोड चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई सम्बोधन गर्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले देशभरका सुनचाँदी व्यवसायी एक महिनादेखि सटर बन्द गरेर आन्दोलनरत रहेकाले उनीहरूका जायज माग गूरा गर्न माग गरे । सुनचाँदी व्यवसायीहरू आफ्नो भन्दापनि उपभोक्ताको पक्षमा उभिएर आन्दोलरत रहेको उनको भनाइ थियो । सरकारले सुनमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य तत्काल खारेज गर्न समेत उनले आग्रह गरे । अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी मात्र नभई अब देशभरका व्यवसायीहरू एक हुनुपर्ने अवस्था आएको उनले बताए ।
व्यवसायीहरूले आफ्नो पसलको चाबी खल्तीमा राखेर आन्दोलनमा उत्रिनुपर्ने दुर्भाग्य अवस्था सिर्जना गरेको भन्दै उनले खेद प्रकट गरे । व्यवसायीहरूको छाता संगठन कोहलपुर उद्योग वाणिज्य संघले तीनै तहका महासंघलाई ऐक्यबद्धता जनाउन ध्यानाकर्षण गराएको समेत जानकारी दिए । उनले राज्य कहिले पनि व्यवसायीको पक्षमा नभएको समेत आरोप लगाए । ‘वडादेखि संघ सरकार व्यवसायीको पक्षमा कहिल्यै हुन सकेको छैन्,’ उनले भने, ‘कसैको एउटा निजी स्वार्थका लागि र सीमित स्वार्थ समूहलाई खुसी पार्न यस्ता अव्यवहारिक कर नीति ल्याउने गरेको छ ।
जसको कारण व्यवसायी सधैँ मारमा पर्दै आएका छन् । यो सरकारले सुनचाँदी व्यवसायीसँग सहमति गरेर तत्काल फिर्ता लिनु पर्छ ।’ उनले सरकारले सुनचाँदीमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य खारेज नभएसम्म संघ पनि विरोधमा ऐक्यबद्धता जनाउने प्रतिबद्धता व्यक्त गरे । ‘व्यवसायी एकता हाम्रो प्रतिबद्धता’लाई कोहलपुर उद्योग वाणिज्य संघले शिरोधार्य गरेर व्यवसायीको हकहितको लागि सधैँ तयार रहेको उनले बताए ।
उद्योग वाणिज्य संघले व्यवसायीको हकहितको लागि जनाएको ऐक्यबद्धताले थप ऊर्जा मिलेको नेपाल सुनचाँदी रत्न तथा आभूषण संघका लुम्बिनी प्रदेश अध्यक्ष देवीलाल सुनाले बताए । सबै व्यवसायी एउटै रहेकाले सुनचाँदी व्यवसायीलाई मात्र नभई उपभोक्तालाई परिरहेको असरमा उद्योग वाणिज्य संघ कोहलपुरले जनाएको ऐक्यबद्धता स्वागतयोग्य रहेको उनको भनाइ थियो । काठमाडौँ केन्द्रित २६ र २७ गते हुने बृहत् आन्दोलनको लागि बाँकेबाट पनि बुधबार थुप्रै व्यवसायी काठमाडौँ ओर्लने उनले बताए ।
आफ्नो नेतृत्वमा बाँकेबाट सुनचाँदी व्यवसायीहरू काठमाडौँ प्रस्थान गरेको मिसन टुडेलाई जानकारी दिए । देशभर सुनचाँदी व्यवसायीहरूको काठमाडौँ केन्द्रित आन्दोलनले सरकारलाई घुडा टेक्न बाध्य बनाउने उनको भनाइ छ । सरकारले सुनचाँदीमा लगाएको दुई प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य वृद्धिले व्यवसायी मात्र नभई उपभोक्ता पनि मारमा परेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मणराज पौडेलले बताए । लिमिटेसन राखेर कतिसम्मको लागि विलासिता मान्ने र कतिसम्मलाई आवश्यकता मान्ने त्यस कुरालाई सरकारले ध्यान दिन सुझाब दिए ।
‘सुन परम्परादेखि धार्मिक कामदेखि मृत्यु हुँदासम्म प्रयोगमा आउने गर्छ,’ उनले भने, ‘हिन्दु धर्मावलम्बीहरूले न्वारन गर्दादेखि मृत्युहुँदासम्म सुनचाँदी प्रयोग गर्ने प्रचलन छ । यो चाहीँ आवश्यकता हो । सरकारले यसलाई बुझ्न जरुरी छ । यो विलासित होइन् ।’ व्यक्तिले किन्न सक्ने गरेर सरकारले छुट दिनुको साटो उल्टै विलासिता कर लाउनु जायज नभएको उनी बताउँछन् ।
अवैध बाटोबाट किलो देखि क्विन्टलसम्म सुन भित्रिँदा सरकार मौन हुने ? तर, कर तिरेर व्यवसाय गर्छाँै भन्दा सरकारले रोक्ने ? भन्दै उनले प्रश्न गरे । सुनचाँदी व्यवासायी मात्र नभई एकपछि अर्को व्यवसायीलाई सरकारले मारमा पार्न खोजेको उनको भनाइ छ । सरकार व्यवसायीमैत्री हुनुको साटो व्यवसायीसँग दुश्मनी लिइरहेको उनले बताए । राज्यले व्यवसायीमैत्री हुनुपर्नेमा व्यवसायी मार्ने तरिकाले जानु दुःखद पक्ष रहेको बताए । उनले मौद्रिक नीति पनि आउने समय रहेकाले राष्ट्र बैंक सचेत भइदिन आग्रह गरे ।
आज र भोलि काठमाडौँ केन्द्रित आन्दोलन
सुनचाँदी व्यवसायीहरूले आज र भोलि काठमाडौँ केन्द्रित आन्दोलन घोषण गरेका छन् । देशभरका सुनचाँदी व्यवसायीहरू काठमाडौँ उतारेर बृहत् आन्दोलन गर्ने सुनचाँदी व्यवसायीहरू बताउँछन् । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–२०८३ को बजेटमार्फत सुनचाँदी तथा महुमूल्य पत्थरमा लगाएको विलासिता शुल्क र अव्यवहारिक मूल्य अभिवृद्धि कर बढाएपछि व्यवसायी आन्दोलनमा उत्रेका हुन् ।
सुनचाँदी पसलहरू बन्द गरेर देशभरका व्यवसायीहरू आन्दोलनरत छन् । सरकारले कुनै वास्ता नगरेपछि देशभरका सुनचाँदी व्यवसायीहरू अब काठमाडौँ केन्द्रित आन्दोलनमा होमिएका हुन् । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमार्फत सुनचाँदी तथा महुमूल्य पत्थरमा लगाएको विलासिता शुल्क र अव्यवहारिक मूल्य अभिवृद्धि कर खारेज नगरुन्जेलसम्म आन्दोलन जारी रहने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्