हिमालाई महिनावारी विभेदमुक्त पालिका बनाइँदै



जुम्ला ।

जिल्लाको हिमा गाउँपालिकालाई महिनावारी विभेदमुक्त पालिका बनाउन मर्यादित महिनावारी व्यवस्थापनमा जोड दिइएको छ । जसका लागि ‘सुनौँ महिनावारी कुरा’ अभियानअन्तर्गत पहिलो शृंखला कार्यक्रम सम्पन्न भएको छ ।
महिनावारी विभेदबाट महिलाले भोग्नु परेका समस्या र त्यसबाट शिक्षा, स्वास्थ्य, पोषण लगाएतमा पर्ने शारीरिक तथा मानसिक असरलाई मध्यनजर गर्दै यो अभियान सुरु गरिएको हो ।

यो अभियानले हिमालाई महिनावारी विभेदमुक्त पालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ । जुम्लामा मर्यादित महिनावारी व्यवस्थापनका लागि ‘सुनौँ महिनावारी कुरा’ नामक बहस अभियान सुरु गर्ने हिमा पहिलो गाउँपालिका पनि हो । हिमाको आयोजना तथा सुस्वा परियोजनाको प्राविधिक सहयोगमा मर्यादित महिनावारी व्यवस्थापनको अभियान हिमाा–३ स्थित राहदेव मावि मोफ्लाबाट सुरु भएको छ । अभियानअन्तर्गत महिनावारी विभेदको अवस्था, न्यूनीकरणका प्रयास र चुनौतीबारे बहस गरिएको थियो ।

बहसमा बोल्दै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सामाजिक विकास र महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा राखेर काम गरिरहेको बताए । महिनावारी विभेद न्यूनीकरण गर्न नीति बनाउनेदेखि पालिकास्तरमा धामीझाँक्री सम्मेलनसम्मका कार्यक्रम सम्पन्न गरेको उनको भनाइ छ । ‘अब गाउँ गाउँ पुगेर महिलालाई महिनावारी विभेदविरुद्ध सशक्त बनाउने अभियान थालेका छौँ,’ उनले भने, ‘यो अभियानलाई सफल पार्नु भनेकै सबै मर्यादित महिनावारी व्यवस्थापनको पहुँचमा पुग्नु हो । त्यसैले सबै गाउँवासी तथा घरपरिवारले साथ दिन अनुरोध छ ।’

महिला अभियन्ता लक्ष्मीकन्या बुढाले अझै पनि गाउँघरमा विभिन्न कारणले महिनावारी विभेद कायम रहेको बताइन् । हिमा गाउँपालिकाले थालेको सामाजिक कुरीतिविरुद्धको अभियानलाई सफल बनाउन सबैले हातेमाले गर्नुपर्नेमा उनको जोड छ । गाउँ गाउँ पुगेर गरिने ‘सुनौँ महिनावारीका कुरा’ नामक बहसले चेतना विस्तारसँगै विभेद न्यूनीकरणमा टेवा पु¥याउने उनले विश्वास व्यक्त गरिन् ।

रादेउ देवताका मूल धामी देउमले सार्कीले महिनावारी हुँदा घरमा बसे, जग छोए, फलफूल छोए देवता रिसाउँछन् भन्ने गलत भ्रम छरिएको बताए । महिनावारी एक नियमित प्रक्रिया रहेको भन्दै महिनावारीसँग देवताको कुनै सम्बन्ध नहुने उनको भनाइ छ । ‘मैले महिनावारी भएका महिलाले ल्याएको पानी खाएको छु । मलाई केही त भएको छैन,’ उनले भने, ‘महिनावारी भएका महिलाले दही दुध खाए गाई बिग्रन्छन्, फलफूल खाए बिरुवा कुहिन्छ भन्ने गलत मान्यता छ । यस्ता भ्रम कसैले पाल्न हुँदैन ।’

डा. प्रेम ओलीले महिनावारी एक प्रक्रिया भएको र महिनावारी हुनु एक किशोरी प्रजनन रूपमा सक्षम बन्दै गएको कुरा बुझ्नुपर्ने बताए । हिमा गाउँपालिका वास संयोजक सुस्मिता शाहीले मर्यादित महिनावारीको अभियान हिमाबाट सुरु भएको जानकारी दिँदै यो अभियानले सार्थकता पाउने बताइन् । उनका अनुसार कुप्रथाका रूपमा रहेको महिनावारी विभेद न्यूनीकरण गर्न सुस्वा परियोजनाले थुप्रै काम गरिरहेको छ । हिमाको ‘सुनौँ महिनावारीका कुरा’ अभियानमा पनि निरन्तर सहकार्य गरेर महिला सशक्तीकरणमा जोड दिइने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार