सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकता दिएको छ । प्रदेश लोकमार्ग तथा प्रदेश सडकहरूको गुरुयोजनाको प्राथमिकीकरण अनुसार सुरक्षित, गुणस्तरीय र भरपर्दो सडक पूर्वाधार विकासका लागि प्रदेश सरकारले आवश्यक रकमको समेत व्यवस्था गरेको छ ।
अन्तरप्रदेश जोड्ने सडकलाई प्राथमिकतामा राखी निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ । जसअन्तर्गत मुलपानी–रानीघाट–तेलपानी–भुरीगाउँ सडक, खुलालु–लालु–भेरीसाँगु–कुमालगाउँ–एअरपोर्ट हुँदै मेहल्मुडी–मुर्मा–रास्कोट–लैफु सडक निर्माण गरिने भएको छ ।
यस्तै गमगढी–सेरी–सुकाढिक सडक, हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुख–गमगढी–नाक्चेलाग्ना सडक, बाजुरा–कुवाडी–ताजाकोट–अदानचुली–सर्केगाड सडक र सल्यान खलङ्गा–कालिमाटी–घुईयावारी–काप्रेचौर–खर्कवार–कोहलपुर सडक निर्माण हुने भएको छ । तालीदेखि रूप पाटन हुँदै खार्वाङ पूर्वी रूकुम पोखरा जोड्ने सडक, छिनखेत–पूर्वी रूकुम सडक र कुइने–जामु–बाबियाचौर–भक्तरी–जंगलघाट लगायतका सडक निर्माण तथा स्तरोन्नति कार्यका लागि एकमुष्ट ४९ करोड २४ लाख विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेशभित्रका पर्यटन पूर्वाधार प्रवद्र्धनसँग सम्बन्धित रणनीतिक महत्व बोकेका त्रिपुरा बगर छल हुँदै मौरेलेक सडक, पातिहाल्ना–परिलह–आँखेखोला हुँदै शे–फोक्सुन्डो सडक, बालुवासंग्रही–कुपिण्डे सडक, ताल्चा–रारा सडक, हिल्सा–मानेपेमे–लिमीलाप्चा सडक र थलह–बाटुले–ब्याउलीढुङ्गा–जुम्ला सडक निर्माणका लागि २१ करोड २५ लाख विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाअन्तर्गत स्थानीय तहको केन्द्र जोड्ने प्रादेशिक सडक सञ्जालको स्तरोन्नति कार्यका लागि डुङ्गेश्वर–डाँडापराजुल सडक, गल्फागाड–थाडाँकाटे–अदानचुली सडक र महाबै गाउँपालिका कालीकोटको केन्द्र जोड्ने सडक निर्माण हुने भएका छन् ।
यस्तै छार्काताङ्सोङ गाउँपालिका डोल्पाको केन्द्र जोड्ने सडक, लालिघाट–कोटवाडा–कुमालगाउ सडक, तारापानी–सोरुकोट सडक, जुम्ला खलङ्गा–लासी सडक, सलीसल्ला–पिप्लाङ् सडक, वडावन–सानाखोला सडक, गङ्गटे–आरन्टुडा–ढाँडखेत सडक स्तरोन्नति र सुर्खेत रिङरोड स्तरोन्नतिका लागि एकमुष्ट ८० करोड ५० लाख रकम छुट्याइएउको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत निर्माणाधीन मोर्क–चङ्खिला–बडावन–सानाखोला सडक, दशरथपुर–डाँडागाउँ–जितेजुवा–ढाडखेत–मटेला–धरमपोखरा सडक, चौरजहारी–नार्जी–खोलागाँउ–चौथा–बैरागीठाँटी–मुसिकोट–सल्ले सडक र शितलपोखरी–झुल्खेत–चुनवाङ सडक कालोपत्रे गर्ने कार्यका लागि ८१ करोड विनियोजन गरिएको छ ।
प्रादेशिक लोकमार्ग, प्रादेशिक सडक तथा अन्य सडकहरू निर्माण, स्तरोन्नति तथा मर्मतसम्भार कार्यका लागि ४ अर्ब ३६ करोड विनियोजन गरिएको छ । यसबाट आव २०८२–८३ मा थप १२० किमि पक्की सडक निर्माण हुने प्रदेश सरकारले दावी गरेको छ ।
प्रादेशिक लोकमार्ग तथा प्रादेशिक सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने उद्देश्यले सडक पुल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । जसका लागि क्रमागत रूपमा रहेका र आव २०८२–८३ मा सुरू हुने आयोजनाहरूको लागि १ अर्ब १५ करोड विनियोजन भएको छ । यसबाट आव २०८२–८३ मा थप २५ वटा सडक पुलहरू सम्पन्न हुने प्रदेश सरकारले अपेक्षा गरेको छ ।
सार्वजनिक निजी साझेदारीमा निर्माण तथा सञ्चालन गर्नेगरी प्रदेशभित्रका सम्भाव्य स्थानहरूमा द्रुतमार्ग, सुरुङमार्ग, केबलकार, रोपवे, पोडवे, रज्जुमार्ग र जलयातायातको पूर्वसम्भाव्यता अध्ययनको लागि पनि बजेट छुट्याइएको छ ।









प्रतिक्रिया दिनुहोस्