‘उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण गर्न आवश्यक छ’



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् । वीरेन्द्रनगरको खानेपानीको संकट घटाउन जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने मुख्यमन्त्री कँडेलको भनाई छ ।

वीरेन्द्रनगरमा सोमबार आयोजित सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन गुरुयोजना निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सामुदायिक वनहरूमा अवस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता हो । वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ । यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोतहरू छन् त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन । ढलेका रूख र सडेका रूख बाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउन जरुरी छ ।’

जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको मुख्यमन्त्री कँडेलले जानकारी दिए । योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकार बीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा सहभागीहरूले जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण, भूक्षय न्यूनीकरण, पानीको पुनःभरण क्षमता अभिवृद्धि र वन सम्पदाको दिगो उपयोगका लागि गुरुयोजना महत्वपूर्ण हुने बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २४ गते मंगलबार