वीरेन्द्रनगर ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ लाई सुर्खेतकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरिएको छ । शनिबार आयोजित कार्यक्रमकाबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगर प्रमुख मोहनमाया ढकालले वडालाई वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा गरेका हुन् । स्थानीय शासन नगर बालमैत्री सम्पर्क व्यक्ति माधुरी न्यौपानेले घोषणासम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
उनका अनुसार बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अन्तर्गत यस वडाले ५१ वटा सूचक तथा मापदण्ड पूरा गरेपछि यो उपलब्धि हासिल भएको हो । ‘बालमैत्री स्थानीय शासनका लागि नेपाल सरकारले तोकेको ५१ सूचक र २८ खुड्किला अन्तर्गतका ५ चरणहरूको सफलता प्राप्त गर्नुपर्ने व्यवस्था छ,’ उनले भनिन्, ‘वडाले ती सबै मापदण्डहरू पूरा गरेको छ । बाल संरक्षणका क्षेत्रमा १४ सूचक, बालविकासमा ६, बाल सहभागितामा ६ तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा १५ सूचकहरू पूरा गरिएको छ ।’
उनका अनु्सार वडा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, खानेपानी तथा सरसफाइ संस्था, विद्यालय र आमा समूहहरूको विशेष योगदान रहेको छ । वडाले खुला दिशामुक्त क्षेत्र घोषणा, पूर्णखोप वडा घोषणा, पोषणमैत्री तथा किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषणा गरेको छ भने सुत्केरी आमा र बालबालिकालाई पोषण सामग्री तथा अतिरिक्त पोषण भत्ता वितरण, ‘हजार दिन’ अभियानअन्तर्गत मातृ तथा शिशु स्वास्थ्य सचेतना र परामर्श कार्यक्रम सञ्चालन भएका छन् ।
वडाध्यक्ष टिकाराम शर्माका अनुसार ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि वितरण, नियमित वृद्धि अनुगमन र साबुनपानी प्रयोगको अभ्यास तथा शुद्ध पिउने पानीबारे सचेतना लगायतका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् । वडाका ८२ प्रतिशत घरपरिवारमा पानी पुगेको उनले बताए । ‘बाँकी १८ प्रतिशत परिवारले निजी इनार, बोरिङ तथा पाइपमार्फत पानी उपयोग गर्दै आएका छन्’ उनले भने, ‘विद्यालयस्तरका किशोरकिशोरी तथा आमा समूहलाई स्वच्छता, साबुनपानी प्रयोग, शुद्ध पानी र पोषणसम्बन्धी नियमित प्रशिक्षण तथा सचेतना कार्यक्रमहरू दिँदै आएका छौँ ।’
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले हाल यो अभियान पालिकाका सबै वडामा सञ्चालन भइरहेको भन्दै वीरेनद्रनगरलाई वातावरणमैत्री तथा बालमैत्री बनाउने तयारी रहेको जानकारी दिइन् । बालबालिकाको संरक्षण, विकास र सहभागिताका लागि स्थानीय, प्रदेश र संघीय सरकारले जिम्मेवारी बोधका साथ ध्यान दिनुपर्ने उनको भनाइ छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बालबालिका हाम्रो भविष्य भएकाले उनीहरूलाई केन्द्रमा राखेर नीति, योजना र कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
बालबालिकालाई सुरक्षित, सशक्त र सम्मानजनक वातावरण दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘समुन्नत समाज निर्माण गर्न वातावरण संरक्षण र बाल अधिकार प्रवद्र्धनमा जोड दिनुपर्छ । कर्णाली सरकारले बालमैत्री समाज निर्माणका लागि आवश्यक नीति, बजेट र कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ । बालबालिकाको स्वास्थ्य, शिक्षा, अभिव्यक्ति तथा सुरक्षीत हुने अधिकार सुनिश्चित गर्दै बालमैत्री संरचना विकासमा ध्यान दिइरहेका छौँ ।’









प्रतिक्रिया दिनुहोस्