बन्यो वर्षौदेखि अलपत्र पितिबाङ खोलाको पुल



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

राप्ती लोकमार्ग अन्तर्गत रूकुम पश्चिमको मुसिकोट नगरपालिका– ११ र १२ मा पर्ने पितिबाङ खोला भन्ने बित्तिकै ‘खोलामा वर्षौदेखि अलपत्र परेको पुल, वर्षायाममा खोलामा बढेको बाढी, अवरुद्ध यातायात, अलपत्र यात्रु, मोटरसाइकल बोकेर पैसा तिरेर वारपार गराएको’ लगायतका पीडाका क्षण सम्झनु पर्ने हुन्छ ।

अब भने पितिबाङमा मोटरेबल पुल तयार भएको छ । राप्ती राजमार्ग अन्तर्गत पर्ने यो खोलामा पुल बनेपछि पैदल यात्री र यातायातका साधन आवतजावतमा सहज भएको हो । हाल भारी वर्षाले खोलामा बाढी आएपछि अनौपचारिक रूपमा पुल सञ्चालन गरिएको छ । मंगलबारदेखि नै यातायातका साधनहरू सहजै आवतजावत गर्न थालेका हुन् । अघिल्लो वर्षहरूमा मोटरसाइकल तारेको ५ सयदेखि १ हजार रूपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको थियो ।

पुल बनाउन सडक डिभिजन कार्यालय चौरजहारीसँग चितवनको ठेकेदार कम्पनी संरक्षण निर्माण सेवाले २०७६ साल असार ८ गते सम्झौता गरेको थियो । तर ठेकेदारले काम नगर्दा पुल समयमै बन्न सकेन । जिल्लाका जनप्रतिनिधिहरू, जिल्ला प्रशासन कार्यालय लगायतले ठेकेदार कम्पनीसँग पुल निर्माणको लागि गरेको समन्वयपछि मुख्य ठेकेदार कम्पनीले पुल निर्माणको जिम्मा यति विल्डर्सलाई दिएको थियो ।

गत मंसीरमा कामको जिम्मा लिएको यति विल्डर्सले समयमै पुल तयार गरेको हो । मुख्य ठेकेदारले अलपत्र पारेको पुल यति विल्डर्सले व्यवहारिक रूपमा जिम्मा लिएर तयार गरेको थियोे । ‘अब त पितिबाङ खोलाले दिदै आएको सास्ती हटेको छ,’ स्थानीय भागिराम डाँगीले भने, ‘अब त पुलबाटै आवतजावत सुरु भएको छ, यातायातका साधनहरू पनि पुलबाटै आउजाउ गरिरहेका छन् ।’ पुल नबन्दा स्थानीयका साथै सवारी चालकहरूले समेत खोलामा बाढी आएको बेला सास्ती भोग्दै आएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २१ गते शनिबार