बैजनाथका बजार क्षेत्रमा सीसीटिभी क्यामरा जडान



कोहलपुर (बाँके) ।

बाँकेको बैजनाथ गाउँपालिकाले विभिन्न स्थानमा सीसीटिभी क्यामरा जडान गरेको छ । नागरिकहरूको सुरक्षालाई मध्यनजर गर्दै गाउँपालिकाले सीसीटिभी क्यामरा जडान गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिका भित्रका व्यस्त सडक, बजार क्षेत्र र प्रहरी बिटमा क्यामरा जडान गरिएको बताए ।

अध्यक्ष शाहीका अनुसार पहिलो चरणमा गाउँपालिकाअन्तर्गत तीन वटा वडाका विभिन्न स्थानमा सीसीटिभी क्यामरा जडान गरिएको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रमअन्तर्गत तीन स्थानमा सीसीटिभी क्यामरा जडान गरिएको उनले बताए । पहिलो चरणमा बैजनाथ–६ सम्झना चोक र गडरहीस्थित गाउँपालिकाको प्रवेशद्वारमा जडान गरिएको अध्यक्ष शाहीको भनाइ छ ।

यस्तै, बैजनाथ–५ जीगाउँ बजार, वडा नम्बर ४ को बानियाभार बजार र वडा नम्बर १ स्थित चिसापानी बजारमा क्यामरा जडान गरिएको छ ।
‘स्थानीयहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले जडान गरेको हो । नागरिकको सुरक्षा, चोरी डकैती नियन्त्रण र अपराधिक गतिविमा नियन्त्रण गर्ने उद्देश्य रहेको छ ।

आगामी वर्षमा पनि अन्य स्थानमा सीसीटिभी क्यामरा जडान गरिनेछ,’ अध्यक्ष शाहीले भने । बैजनाथ गाउँपालिका योजना तथा अगुगमन शाखाका अधिकृत डोटी नेपालीका अनुसार गाउँपालिकाको आफ्नै कूल ५ लाख बजेटमा सीसीटिभी क्यामरा खरिद गरेर जडान गरिएको हो ।
चालू आर्थिक वर्षमा विनियोजित बजेटमा पहिलोपटक क्यामरा जडान गरिएको र आगामी आर्थिक वर्षमा समेत गाउँपालिकाले अन्य स्थानमा क्यामरा जडान गर्ने योजना बनाएको अधिकृत नेपालीले बताए ।

गाउँपालिकाले सीसीटिभी क्यामरा जडान गरेपछि स्थानीयबासीले खुसी व्यक्त गरेका छन् । सुरक्षालाई मध्यनजर गर्दै गाउँपालिकाले सीसीटिभी क्यामरा जडान गरेको भन्दै उनीहरूले खुसी व्यक्त गरेका हुन् । बैजनाथ उद्योग वाणिज्य संघका महासचिव कुमार गिरीले गाउँपालिकाले नमुना काम गरेको बताए । सीसीटिभी क्यामरा जडानले बैजनाथ क्षेत्रमा बसेर व्यवसाय गर्नेहरूलाई राहत मिलेको उनको भनाइ थियो ।

आगामी दिनमा अन्य स्थानमा समेत क्यामरा जडान गर्न महासचिव गिरीले माग गरे । उनले भने, ‘स्थानीय सरकारले हाम्रा माग सम्बोधन गरेको छ । अहिले सीमित ठाउँमा जडान गरिएको छ । आगामी दिनमा गाउँपालिकाका अन्य क्षेत्रमा समेत जडान गरिनुपर्छ । संघको तर्फबाट गर्न सकिने सहयोगका लागि हामी तयार छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार