दलीय भागबन्डाले कान्तिमा कन्तबिजोग



श्यामलाल पोखरेल । बुटवल ।

पढाइमा अब्बल मानिने बुटवलको कान्ति माध्यमिक विद्यालय एक शैक्षिक सत्र बढीको समयसम्म विद्यालय व्यवस्थापन समितिविहीन बन्यो । जसले गर्दा विद्यालयको पढाइ नै प्रभावित भयो । राम्रै रिजल्ट दिँदै आएको विद्यालय केही दिनअघि सार्वजनिक भएको एसईईको रिजल्टमा कमजोर देखियो ।

राजनीतिक भागबन्डा नमिल्दा विद्यालयमा व्यवस्थापन समिति गठन हुन नसक्दा विद्यार्थीको पढाइसमेत प्रभावित भयो । तर यो विषयमा पदीय भागबन्डा खोज्दै आएका काँगे्रस, एमाले र माओवादीले विद्यार्थीको भविष्यमा ध्यान दिएनन् । काँगे्रस र एमालेका कारण कान्ति माविले एक शैक्षिक सत्र विद्यालय व्यवस्थापन समिति नपाउँदा विद्यार्थीको पढाइ प्रभावित बनेको सोही स्कुलमा पढाउने एक शिक्षकले बताए ।

२०८० वैशाख २ गते विद्यालय व्यवस्थापन समितिको समय सकिएको थियो । व्यवस्थापन समितिको समय सकिएपछि पटकपटक विद्यालय व्यवस्थापन समिति गठन गर्ने प्रयास गरिएको थियो । स्कुलमा व्यवस्थापन समिति नहुँदा शिक्षहरू नियुक्त गर्न समस्या भएपछि विद्यार्थीलाई एक शैक्षिक सत्र आलटाल गरेर दिन बिताइयो । सबै शिक्षकहरू नहुँदा भनेजस्तो पढाइ नभएको कक्षा १० मा पढ्दै गरेका विद्यार्थी प्रविन पोखरेलले बताए ।

पुरानो विद्यालय व्यवस्थापन समितिको समय सकिएपछि नयाँ समिति गठन गर्ने बेला काँगे्रस र एमालेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दाबी गरेपछि विद्यालय व्यवस्थापन समितिविहीन बनेको हो । विद्यालय व्यवस्थापन समिति नहुँदा विद्यालयलाई आवश्यक पर्ने २५ जना शिक्षकको दरबन्दी खाली रहँदा पठनपाठनमा एक वर्ष समस्या आएको प्रधानाध्यपक गोविन्द ज्ञवालीले बताए । ज्ञवालीका अनुसार शिक्षकहरू दरबन्दी गर्न नसकिएपछि १२ जना शिक्षकलाई मासिक ज्यालादारीमा राखियो ।

शिक्षकहरूलाई धेरै पिरेड पढाउन लगाएर जनतन विद्यालय चलाइयो । २०८० चैतमा ६ जना शिक्षकका लागि विज्ञापन गरिएपनि व्यवस्थापन समिति नहुँदा विद्यालयले जाँच लिन सकेको थिएन । पुरानो शैक्षिक सत्र सकिनै लाग्दा र नयाँ शैक्षिक सत्र सुरु हुने बेला २०८१ चैत ३ गते राजनीतिक दलका स्थानीय नेताहरू विद्यालय व्यवस्थापन समिति गठनका लागि बैठक बसेका थिए । तर भागबन्डा नमिल्दा बैठक निष्र्कषविहीन भएको थियो ।

त्यसपछि पटक पटक पहल गर्दा पनि काँगे्रस र एमालेबीच भागबन्डा नमिलेपछि कान्ति मावि विद्यालय व्यवस्थापन समितिविहीन बनेको स्थानीय नारायण नागीलाले बताए । अध्यक्षका लागि एमाले र काँगे्रसले दाबी गरेपछि कान्तिले व्यवस्थापन समिति पाउन नसक्दा कान्तिको कन्तबिजोग भएको हो । यसअघि विद्यालय व्यवस्थापन समिति गठनका लागि ३२ जनाले मनोनयन दर्तासमेत गरेका थिए । निर्वाचनको मिति नतोकी मनोनयन गरिएपनि निर्वाचन हुन सकेको थिएन । पछिल्लो समय चौतर्फी विरोध भएपछि यही असार २१ गते विद्यालय व्यवस्थापन समितिका लागि निर्वाचन हुँदैछ ।

१ गते हुने निर्वाचनका लागि सत्ता साझेदारी दल काँगे्रस र एमाले एक ठाउँ देखिएका छैनन् । काँगे्रस, रास्वपा र विप्लव नेतृत्व नेकपाको एउटा गठबन्धन बनेको छ । त्यस्तै एमाले एक्लै निर्वाचनमा जाने तयारी गरेको छ । त्यस्तै माओवादी केन्द्रले बिहीबार यो समाचार तयार पार्दासम्म कतै खुलैको छैन । माओवादी केन्द्र कता पद पाइन्छ भन्दै हेर र पर्खको अवस्थामा रहेको बताइएको छ ।

एउटा विद्यालयमा विद्यालय व्यवस्थापन समिति बनाउन भित्रभित्रै संसदीय चुनावजस्तै गरिएको छ । भित्रभित्रै आआफ्नो पक्षमा मत पार्न ठुलै चलखेल भैरहेको कान्ति माविका एक अभिभावकले मिसन टुडेलाई बताए । कान्ति माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति नबन्नुमा दलीय शिक्षकहरूको ठूलो हात रहेको एक कर्मचारीले बताए । राजनीतिक दलहरूको आडमा काँगे्रस र एमाले निकट शिक्षकहरू नजिकैका पार्टी कार्यालयहरूमा धेरै देखिन्छन् ।

नेताहरूसँग नजिक हुने र आफ्नो स्वार्थअनुकूल काम गर्नमा एमाले निकट शिक्षक तारा गौतम, राजेन्द्र पौडेल र भ्वाइस प्रिन्सिपल केदारनाथ ज्ञवाली स्कुलको समयमा पनि पार्टी कार्यालयमा समय बिताउने गरेको आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक शैक्षिक व्यक्तिले बताए ।
त्यस्तै काँगे्रस निकट शिक्षकहरू विश्वनाथ न्यौपाने, खुमराज पौडेल र लिलाधर पाण्डे स्कुलको समयमा पनि काँगे्रस पार्टी कार्यालयमा गएर साँठगाँठ गर्ने गरेको आरोप छ ।

त्यस्तै माओवादी केन्द्र निकट मानिने दिपक बस्याल र विष्णु ज्ञवालीले पनि स्कुललाई भन्दा पार्टी कार्यालयलाई बढी समय दिने गरेको आरोप छ। विद्यार्थीलाई पढाउन भन्दा बढी पार्टीको राजनीति गरेका शिक्षकका कारण पनि कान्तिले शान्ति पाउन नसकेको र भनेजस्तो रिजल्ट दिन नसकेको एक अभिभवाकले बताए ।

तिनै दलका शिक्षकहरूले आआफ्नो पार्टीलाई खुसी पारेर आफ्नो जागीर सधैभर कान्ति माविमा थमौती गराउने चलखेलकै कारण उक्त विद्यालय झनपछि झन कमजोर हुँदै गएको छ । शिक्षकहरू दलीय स्वार्थमा बढी केन्द्रित भएपछि विद्यालयका प्रधानाध्यापक ज्ञवाली समस्यामा परेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार