‘पहिला केही वर्ष आइसक्रिमको ठेला चलाउने गर्थेँ, उमेरसँगै दिनभर घाममा बसेर चलाउन नसक्ने भएकाले ठेला छाडेँ,’ उनले भने, ‘त्यसयता अहिले समयअनुसार ‘चिया’ र ‘लस्सी’ बेचिरहेको छु, मेरो रोजिरोटी र बाँच्ने आधार भनेकै यही काम हो ।’ अरुको गुलाम गरेर खानुभन्दा दिनभर आफूले गरेको काम र त्यसबाट थोरै भएपनि आम्दानी भएको रकमले आत्मसन्तुष्टि मिल्ने गरेको उनी बताउँछन् ।
गणेश रावत । कोहलपुर ।
शिरमा चट्ट ढाका टोपी । चाउरी परेका गाला । फुल्दै गरेका केश । हँसिलो ‐फेस) अनुहार । जसलाई सबैले उनको नामभन्दा पनि उनले गर्ने कामले चिन्छन् । त्यसैले त सबैले उनलाई ‘लस्सी’ बाजे भनेर चिन्छन् । उनी हुन्, धापा रोकाया ।
दैलेख नौमुले गाउँपालिका–१० घर भई उनी विगत ४ वर्षदेखि कोहलपुरमा अस्थायी बसोबास गर्दै आएका छन् । अहिले केही समययता रोकाया सपरिवार कोहलपुरमा बस्ने गरेको उनी बताउँछन् । ‘कालापहाड धाउँदा धाउँदै आधि जोवन गयो,’ रोकायाले भने, ‘अहिले जीविकोपार्जन चलाउन ‘लस्सी’ बेचिरेको छु ।’
कोहलपुरमा ‘लस्सी’ बेच्न थालेको ४ वर्ष पुगेको रोकाया बताउँछन् । गर्मी समय रहेकाले ‘लस्सी’को बिक्री राम्रो हुने गरेको उनले बताए । ५१ वर्षीय रोकाया ‘लस्सी’ बेचेर परिवारको गुजारा चलाउने गरेको उनले मिसन टुडेलाई जानकारी दिए । एक कप ‘लस्सी’को ५० रूपैयाँमा बिक्री गर्ने गरेको उनी बताउँछन् । गर्मी समयमा पेय पदार्थको माग बढ्ने भएकाले पनि सबैले मन पराउने गरेको बताए । ‘लस्सी’ आफैँले घरमा बनाएर कोहलपुरका चोक र गल्लीमा घुमाएर बिक्री गर्ने गरेको उनको भनाइ छ । दैनिक ‘लस्सी’ बचेर दुई हजारसम्म आर्थिक आम्दानी हुने गरेको उनले बताए ।
दूध खरिद गरेर घरमा ल्याई त्यसलाई राम्रोसँग जमाएर अन्तिममा लस्सी बनाउने गरेको उनले मिसन टुडेलाई बताए । ‘लस्सी’का लागि आवश्यक पर्ने दूध र अन्य सामग्री किनेर केही खर्च भएपनि राम्रो बचत हुने गरेको उनी बताउँछन् । ‘मेरो नाम धापा रोकाया हो,’ उनले भने, ‘तर ‘लस्सी’ बेच्ने भएकाले होला सबैले मेरो नामभन्दा पनि ‘लस्सी’ बाजे भनेर चिन्ने गर्छन् ।’ आफूले गरेको कामले चिनिन पाउँदा खुसी लाग्छ ।’
गर्मी याममा ‘लस्सी’ र जाडो मौसममा ‘चिया’ बेच्ने गरेको उनले बताए । समयअनुकूल ‘लस्सी’ र चिया बेच्नु उनको व्यवसाय बनेको छ । युवा अवस्थामा हुँदा कालापहाड गएर मजदुरी काम गरेरै घरखर्च चलाएका रोकायाले विगत सम्झिए । त्यसपश्चात कालापहाड छाडेर कोहलपुरमा आइसक्रिमको ठेला चलाउने कामसमेत केही वर्ष गरेको उनी बताउँछन् ।
‘पहिला केही वर्ष आइसक्रिमको ठेला चलाउने गर्थेँ, उमेरसँगै दिनभर घाममा बसेर चलाउन नसक्ने भएकाले ठेला छाडेँ,’ उनले भने, ‘त्यसयता अहिले समयअनुसार ‘चिया’ र ‘लस्सी’ बेचिरहेको छु, मेरो रोजिरोटी र बाँच्ने आधार भनेकै यही काम हो ।’ अरुको गुलाम गरेर खानुभन्दा दिनभर आफूले गरेको काम र त्यसबाट थोरै भएपनि आम्दानी भएको रकमले आत्मसन्तुष्टि मिल्ने गरेको उनी बताउँछन् । स्वदेशमा लस्सी बेचेर घरपरिवारसँगै बसेर रमाउँदै जीवनयापन गर्न पाइरहेको उनको भनाइ छ ।
कोहलपुर नगरपालिकाले पनि आफूले बिक्री गर्दा हुने फोहोर प्लाष्टिकका गिलासहरू जथाभावी नफ्याँक्न र फोहोर व्यापार नगर्न सुझाव दिएको उनले बताए । कोहलपुर बजारभित्र मात्रै न्यूनतम दिनभर करिब ५ लिटरको दुईवटा थर्मस ‘लस्सी’ बिक्री हुने गरेको बताए । ‘लस्सी’ राम्रो मान्ने कतिपय व्यक्तिहरूले पसलमा सधैँ ल्याइदिन अडर गर्ने गरेको उनी बताउँछन् । ‘लस्सी’ अन्य पेय पदार्थभन्दा स्वास्थ्यका लागि फाइदा पु¥याउने भएकाले पनि सबैको रोजाइ बन्ने गरेको बताए । ५ जनाको परिवारको जीवनयापान ‘लस्सी’ बेचेर चलिरहेको उनको भनाइ छ ।
अत्यधिक गर्मी हुने ठाउँमध्ये कोहलपुर पनि एक पर्छ । उखरमाउलो गर्मीमा चिसो ‘लस्सी’ले शीतलता प्रदान गर्ने भएकाले पनि पेय पदार्थको व्यपार राम्रो हुने गर्छ । त्यसैले पनि कोहलपुरमा आइसक्रिम र ‘लस्सी’को व्यापार राम्रो हुने उनले मिसन टुडेलाई बताए । फुटपाथका चौतारीहरूमा शीतलता लिनेहरूको भिड हुने गरेकाले ‘लस्सी’ बिक्री गर्न धेरै घुम्नुपर्ने बाध्यता अन्त्य भएको उनी बताउँछन् । चौताराहरू सबैको थकान मेट्ने ठाउँ बनेकोले त्यही नै ‘लस्सी’ खपत हुने गरेको उनको भनाइ छ ।
चौताराहरू निर्माण हुनुभन्दा पहिला चोक र गल्लीगल्लीहरूमा घुम्नुपर्ने बाध्यता थियो । अहिले फुटपाथमा चौतारा निर्माण भएकाले सबै त्यहीँ जम्मा हुने हुँदा ‘लस्सी’ खतप हुने गरेकाले धेरै हिँड्डुल गर्नुनपर्ने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्