बाँके ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ । पुल कालोपत्रे गरिएसँगै आज बिहीबारबाट पुलबाट यातायात सूचारु गर्न लागिएको छ । नारायणगढ–बुटवल सडक आयोजना पूर्वीखण्डका सुचना अधिकारी शिव खनालले २४५ मिटर लामो पुल बिहीबार बिहान ११ बजेदेखि सञ्चालन गरिने बताए ।
७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रूपमा सवारी साधनहरू वारपार गर्दै आएका थिए । पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो । डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती भएको थियो ।
गत पुस २६ गते एक भारतीय ट्रकले पुरानो फलामे पुल भाँचिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । घण्टौँसम्म कयौँ किलोमिटर लामो सवारी जाम हुँदै आएको थियो ।
डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरूले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने सूचना अधिकारी खनालले दाबी गरे । दाउन्ने क्षेत्रमासमेत सडक विस्तारको लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भैरहेको आयोजनाले दाबी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्