वीरेन्द्रनगर ।
कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक र व्यावसायिक कृषिमा फड्को मार्न आह्वान गरेका छन् । कर्णाली प्रदेशको आर्थिक भविष्य कृषिमै निर्भर रहेको भन्दै उनले आधुनिक व्यावसायिक कृषिमा लाग्नुपर्ने बताए ।
‘कृषि अब गुजारा चलाउने माध्यम मात्र नभई, आम्दानी र रोजगारीको स्थायी स्रोत बन्नुपर्छ,’ उनले भने, ‘कर्णालीको माटोमा सुन फलाउन सकिन्छ, तर त्यसका लागि हाम्रो सोच र काम गर्ने तरिका बदल्नुपर्छ ।’ मुख्यमन्त्री कँडेल अखिल नेपाल महिला संघ सुर्खेतद्वारा आयोजित राष्ट्रिय धान दिवसमा सहभागी हँुदै सरकार र किसान मिलेर कृषि क्षेत्रको विकासमा लाग्नुपर्ने बताए ।
उनले भने, ‘कर्णालीको विशिष्ट भौगोलिक अवस्थाले यहाँ विशेष बालीनालीको प्रचुर सम्भावना छ । यसको वैज्ञानिक व्यवस्थापन गर्न सके कृषि क्षेत्रबाटै कर्णालीको मुहार फेरिने सम्भावना पनि छ ।’ प्रदेश सरकारले किसानलाई प्रोत्साहित गर्न कृषक पञ्जीकरण, सहुलियत ऋण, गुणस्तरीय बीउबिजन, मल खादको सहज उपलब्धता र सिँचाइ पूर्वाधारमा लगानी बढाएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्