थाइल्यान्ड ओपनमा एरिकालाई स्वर्ण



काठमाडौँ ।

नेपाली कराते खेलाडी एरिका गुरुङले थाइल्याण्ड ओपन करातेमा स्वर्ण पदक जितेकी छन् । शनिबार सम्पन्न खेलमा उनले सिनियर महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा थाइल्याण्डकी चनकन खियोखामलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । थाइल्यान्ड ओपन करातेमा नेपालले जितेको यो पहिलो स्वर्ण हो ।

एरिका नेपालका लागि गत वर्ष एसियन सिनियर करातेमा ऐतिहासिक रजत पदक तथा केही साताअघि भएको कराते १ प्रिमियर लिगमा पनि ऐतिहासिक कास्य पदक जितेकी थिइन् । थाइल्याण्ड ओपन करातेमा नेपालबाट सहभागिता जनाएका अन्य खेलाडीहरूले पनि राम्रो प्रदर्शन गरेका छन् । यू–१२ पुरुष कुमिते ३७ केजीमा सम्पन्न बस्नेतले रजत जिते ।

त्यस्तै सिनियर पुरुष कुमिते ७५ केजीमा राजिव पुडासैनीले तेस्रो स्थान हासिल गर्दा सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारी तेस्रो भइन् । सिनियर महिला कुमिते ५५ केजीमा सबिना श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । सिनियर महिला कुमिते ५० केजीमा वर्षा बुढामगर तेस्रो हुँदा यू–१४ महिला ५२ केजीमा दिया तामाङ तेस्रो स्थान हासिल गर्न सफल भइन् । पुरुष कुमिते ४५ केजीमा आशिष हरिजन तेस्रो भए । त्यस्तै यू–१४ पुरुष कुमिते ५० केजीमा प्रजल थापा तेस्रो भए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार