रूकुम पश्चिमका पाँच पालिका पूर्णखोप सुनिश्चित



प्रचण्ड खत्री । रूकुम पश्चिम ।

रूकुम पश्चिमका ५ वटा पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । आइतबार चौरजहारी नगरपालिका र सोमबार बाँफिकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेसँगै जिल्लामा पाँचवटा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएका हुन् ।

जिल्लाको त्रिवेणी गाउँपालिकालाई गत जेठ २६ गते, मुसिकोट नगरपालिका असार १ गते र आठबिसकोट नगरपालिकालाई असार ३ गते पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो । पाँचवटै पालिकाका १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप पाएपछि पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका नि.कार्यालय प्रमुख डा.महेश चौलागाईले जानकारी दिए ।

उनले राष्ट्रिय पूर्णखोप निर्देशिका, २०७१ को तेस्रो संस्करण २०७७ बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरेर पूर्णखोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको बताए । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ पालिकालाई पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा गरिएको हो ।

सानीभेरी गाउँपालिकालाई पनि पूर्णखोप घोषणाको लागि तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर निरीक्षक कृष्ण खड्काले जानकारी दिए । निरीक्षक खड्काका अनुसार जिल्लाका छ वटै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएपछि यसै आर्थिक वर्षभित्र जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकाका १६ महिनादेखि ५९ महिनासम्मका एक हजार २२० जना, मुसिकोट नगरपालिकाका एक हजार ७३२ जना र आठबिसकोटका दुई हजार १२५ जना बालबालिकाले पूर्णखोप पाएका छन् । चौरजहारी नगरपालिकामा १६ देखि ५९ महिनासम्मका १ हजार ७ सय ७४ जना वालवालिका पूर्णखोप सेवा लिएको चौरजहारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर सुनारले बताए ।

बाँफिकोट गाउँपालिकामा ११ सय ५३ जना बालबालिकाले पूर्णखोप लिएको बताइएको छ । सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ चौकी प्रमुखलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियोे । अब जिल्लाको सानिभेरी गाउँपालिकामात्र घोषणा हुन बाँकी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार