नेपालकै पहिलो फ्रेन्च फ्राइज उद्योग रुपन्देहीमा



सुमन अधिकारी । बुटवल (रुपन्देही) ।

गुल्मीको मदाने गाउँपालिका–६ घर भई हाल बुटवल बस्दै आएका मासु व्यवसायी कृष्णप्रसाद पौडेलले नेपालमै फ्रेन्च फ्राइज उत्पादन गर्ने पहिलो उद्योग सञ्चालनमा ल्याएका छन् । उद्योगले आलुका परिकारको उत्पादन र बजारीकरण सुरु गरेको छ । उद्योगले उत्पादन पहिलेदेखि नै सुरु गरेको भएपनि औपचारिक रूपमा उत्पादन र बिक्रीका लागि केही दिनअघि मात्र औपचारिक रूपमा सार्वजनिक गरिएको हो ।

लामो समय भारतमा बसेर व्यवसाय गरेका पौडेलले करिब दुई दशक अगाडी बुटवल आएपछि क्वालिटी मासुका नाममा आधुनिक तथा स्वस्थ मासु बिक्रीको व्यवसाय थालेका थिए । उनैको पहलमा बुटवलमा मासु बिक्री स्थलको सुधारसँगै फ्रिजिङको बिक्रीको पबन्ध थालिएको थियो । उनैले मासु प्रशोधन उद्योग पनि सञ्चालन गर्दै आएका छन् । मासुको व्यवसाय गर्दै गर्दा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा करिब २ अर्ब रूपैयाँ लगानीमा पौडेलले फस्र्ट च्वाइस फुड्स प्रालि नामक उद्योगमार्फत फ्रेन्च फ्राइज उत्पादन थालेका हुन ।

गत फागुनदेखि व्यावसायिक उत्पादन सुरू गरेको उद्योगले बिहीबार काठमाडौँमा किसान, वितरक, नीति निर्माता र सरोकारवालाहरूका बीचमा आफ्ना दुई उत्पादन हिमालयन क्रिस्प र हाम्रो फ्राइज सार्वजनिक गरेको थियो । उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलिज र ह्यास ब्राउन उत्पादन गर्दै आएको छ । यो स्तरमा स्वदेशी आलुको प्रयोग गरी उत्पादन गर्ने नेपालको पहिलो उद्योग भएको पौडेलको दाबी छ ।

फुड्सका कार्यकारी अध्यक्षसमेत रहेका पौडेलका अनुसार फ्रेन्च फ्राइको सम्पूर्ण आपूर्ति आयातबाट हुने अवस्था कम गर्ने र आयात प्रतिस्थापन गर्ने योजनासहित उत्पादन सुरु गरिएको हो । ‘हामी फ्रेन्च फ्राइज मात्र बेचिरहेका छैनौँ । हाम्रो लक्ष्य ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइज’लाई विश्वमाझ पु¥याउनु हो,’ उद्योगका सञ्चालक एवम् कार्यकारी अध्यक्ष पौडेलले भने । उनका अनुसार कम्पनीले पहिले नै भारतको उत्तराखण्डमा मासिक चारदेखि पाँच कन्टेनरसम्म फ्रेन्च फ्राइ निर्यात गरिरहेको छ भने उत्तर प्रदेशलगायत अन्य भारतीय बजारमा पनि विस्तारको तयारी भइरहेको छ ।

उद्योगले भारतको उत्तराखण्डस्थित पाल फ्रोजन ग्रुपमार्फत फ्रेन्च फ्राइज निर्यात गर्छ । साउदी अरबिया, मलेसिया, अमेरिका र दुबईमा निर्यातको तयारी भइरहेको पौडेलले जानकारी दिए । नेपालमा काठमाडौँ, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगन्जमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० भन्दा बढी सप्लायर, ४०० रेस्टुरेन्ट र १७१ आधुनिक मार्टमार्फत बजार विस्तार गरिएको छ ।

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको ६० हजार वर्गफिट क्षमताको आधुनिक प्रशोधन उद्योगमा एक घण्टामा दुई टन फ्रेन्च फ्राइ उत्पादन गर्न सक्ने युरोपियन प्रविधियुक्त संयन्त्र जडान गरिएको कम्पनीले जनाएको छ । हाल दैनिक ३० देखि ४० हजार किलो फ्रेन्च फ्राइज उत्पादन भइरहेको छ ।

उद्योगले नेपालमै पहिलोपटक ब्रान्ड रेपुटेसन कम्प्लायन्स ग्लोबल स्ट्यान्डर्ड (बिआरसिजिएस) प्रमाणपत्र पाएको छ । यो खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानक हो । सस्तो र गुणस्तरहीन आयात, नीतिगत अस्पष्टता र अवैध आयातले चुनौती थपिएको पौडेलको गुनासो छ । तर आफूले यसमा सम्झौता नगर्ने उनले बताए । ‘हामी गुणस्तर र ‘मेड इन नेपाल’को सपनामा सम्झौता गर्दैनौँ,’ उनले भने ।

उद्योगले देशका विभिन्न १९ जिल्लाका किसान प्रत्यक्ष जोडिएर काम गरिररहेको छ । कम्पनीले किसानहरूलाई बीउ, मल, तालिम लगायतका सहयोग उपलब्ध गराउँदै आएको छ । उत्पादन भएको आलु खेतबाटै उद्योगले खरिद गर्छ । चालू वर्षमा मात्र कम्पनीले २ हजार मेट्रिक टनभन्दा बढी आलु किसानबाट किनेको अध्यक्ष पौडेलले जानकारी दिए । ‘कृषिको व्यवसायीकरण, आत्मनिर्भरता र नेपाली उत्पादन हाम्रो उद्देश्य हो, त्यसैले हामी किसानसँग जोडिएको छौँ र अझै विस्तार गर्ने हाम्रो तयारी छ ।’ पौडेलले भने ।

उद्योगले आलुबालीमा अनुसन्धान तथा विकास गर्ने, बीउ उत्पादन गर्ने स्वीकृति पाइसकेको छ र यसका लागि करोडौँ रूपैयाँ खर्चसमेत गरिसकेको छ । उद्योगमा आलुबाली विज्ञ, विशेष खाद्य वैज्ञानिक र आलुबाली रोग विशेषज्ञहरूको टिम पनि छ । ‘कम्पनीले कैलाली, सिन्धुपाल्चोक, अर्घाखाँची, प्युठान, गुल्मी, दाङ, बर्दिया, कपिलवस्तु, मकवानपुर, नवलपुर, सिन्धुली, काभ्रेपालाञ्चोकलगायत जिल्लामा आलु उत्पादनमा वैज्ञानिक अनुसन्धान र प्रविधि विस्तारका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ,’ अध्यक्ष पौडेलले भने ।

उद्योगले नेपालमै टिस्स्यु कल्चर प्रविधिबाट बीउ उत्पादन गर्छ । हाल तीन जिल्लामा व्यावसायिक किसानसँग बीउ उत्पादनमा सहकार्य छ । उद्योगले किसानलाई प्रतिकिलो २० रूपैयाँ आधार मूल्य ग्यारेन्टी गरेको उद्योगका सञ्चालक समिति सदस्य एवम् आलु विशेषज्ञ श्यामप्रसाद ढकालले बताए । ‘कृषकले प्रतिहेक्टर २० टन उत्पादन गरे २ लाख ३६ हजार रूपैयाँ र ४० टन उत्पादन गरे ६ लाख ७९ हजार नाफा हुन्छ, जुन प्रतिरोपनी ३४ हजार हो ।’ ढकालले भने ।

उद्योगले सहकारीमार्फत नवलपुर र कैलालीमा बीउ र आलु भण्डारण केन्द्र स्थापना गरेको छ । बीउ उत्पादक किसानका लागि क्लाइमेट स्मार्ट बीमा कार्यक्रम ल्याइएको छ । उद्योगले बीउ उत्पादन, शीत भण्डारण, निर्यात प्रवद्र्धन, यान्त्रीकरण र बजार विस्तारमा सरकारी सहयोगको अपेक्षा गरेको छ । ‘हाम्रो आवश्यकता हो, नीतिगत समर्थन, विश्वास र, आत्मनिर्भरताप्रति साझा प्रतिबद्धता ।’ फस्र्ट च्वाईसका कार्यकारी अध्यक्ष पौडेलले भने ।

फ्रोजन पोटेटो प्रशोधन प्रविधिमा दक्ष जनशक्ति विकासमा लगानी सुरु गरिएको र यसले दीर्घकालमा नेपाललाई कृषि तथा खाद्य प्रशोधन क्षेत्रमा आत्मनिर्भर बनाउन टेवा पु¥याउने कम्पनीको विश्वास छ । ‘किसान र युवा हाम्रो प्राथमिकता हुन, हामी किसानलाई व्यवसायिक बनाएर युवालाई कृषि र रोजगारीमा जोड्न चाहान्छौँ ।’ उद्योगका शेयर सदस्य लक्ष्मी पौडेलले भन्छिन्, ‘गुणस्तर, प्रविधि र नवीनताको संयोजनबाट हामी विश्वस्तरीय उत्पादन गर्न सक्छौँ र सफल हुन्छौँ भन्ने हाम्रो विश्वास छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार