नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नागरिक र वडाबीच दोहोरो अन्तरसंवाद गरी नागरिकहरूका रचनात्मक सुझावहरू संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको वडाध्यक्ष प्रमोद रिजालले बताए ।
कार्यक्रममा वडावासीहरूले वडा कार्यालय जवाफदेहिता र पारदर्शितामा अग्रणी रहेको भन्दै प्रशंसा गरेका छन् । स्थानीय सरकारको अभ्यास भएसँगै वडाले नियमित रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्दै आएको र त्यसको प्रभाव समुदायमा देखिएको बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रमपछि वडाले ७ बुँदे प्रतिबद्धता पनि गरेको छ । प्रतिबद्धताहरूमा वडाले युवा लक्षित कार्यक्रमहरूलाई प्राथामिकतामा राख्ने, बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतको विषयलाई बजेट तथा कार्यक्रममा समेट्ने, धम्बोझी विद्यालय पछाडी बाल उद्यान तथा पार्कमा देखिएका अनैतिक तथा असामाजिक गतिविधिहरूलाई रोक्न सम्बन्धित निकायसँग समन्वय गर्ने उल्लेख छ ।
यसैगरी वडाका विभिन्न टोलहरूमा बाटो तथा नाली निमार्णको आवश्यकता रहेको भन्ने माग आएकोले आगामी वर्षमा क्रमशः प्राथमिकरणको आधारमा निर्माण गर्दै जाने, विभिन्न सार्वजनिक स्थल, बाटो तथा बाल उद्यानहरूमा देखिएका लागूऔषध दुव्र्यसनी, मद्यपान तथा धुम्रपान सेवनलाई रोक्न वडा कार्यालयले विशेष कार्यक्रम तर्जुमा गर्ने पनि प्रतिबद्धता गरिएको छ ।
लक्षितवर्गको कार्यक्रमअन्तर्गत महिला, दलित, बञ्चितीकरणमा पेरको समुदायलाई प्राथमिकतामा राख्दै बजेट तथा कार्यक्रम तर्जुमा गर्ने, वडाको सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन डिजिटल सूचना प्रणालीमा जाने तथा सूचना प्रवाहमा सबैको पहुँच स्थापित गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ । कार्यक्रममा वडाअध्यक्ष रिजालले वडाको आर्थिक वर्ष २०८१–०८२ को प्रगति प्रतिवेदन पनि पेश गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्